नेपाल जुनियर टेनिस शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिप मंगलबारबाट शुरू भएको छ। नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिपले आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा अन्डर–९, १० र १२ वर्ष उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। सातदोबाटोस्थित लन टेनिस कोर्टमा खेलिएको महिला यू–९ उमेर समूहमा आध्या लोहा पौड्याल र नला जे मास्के फाइनलमा पुगे। सेमिफाइनल खेलमा आध्याले तिसा श्रेष्ठलाई र नलाले नाभिका श्रेष्ठलाई पराजित गरेका थिए। सोही उमेर समूहको पहिलो चरणअन्तर्गत पुरुषतर्फ ह्ध्भिक कार्कीले आयुष्मान घलेलाई हराए।

यस्तै अन्डर–१० उमेर समूहको पहिलो चरणमा आरभ हाडा, सक्षम शाह, नुबाश रावत, आयुष्मान घले, सरोज लामा, प्रसिद्ध बस्नेत, राजवीर प्रधान र प्रणव मानन्धरले जित हासिल गरे। यसैगरी अन्डर–१२ को पहिलो चरणअन्तर्गत महिला एकलतर्फ भएको एक मात्र खेलमा तासी चोमा गुरुङले रोजा श्रेष्ठलाई हराइन्।
यसअघि प्रतियोगिताको उद्घाटन अल नेपाल लन टेनिस एसोसिएसनका महासचिव मनोहर दास मूल तथा नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिपका अध्यक्ष अजय विष्टले गरेका थिए। असार ६ गतेदेखि १० गतेसम्म चल्ने प्रतियोगितामा ८ देखि १८ वर्ष उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्