निगमले भुटानको जहाज भाडामा लिने



 

काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले भुटान एयरलाइन्सको विमान भाडामा लिएर चलाउने भएको छ। निगमले २ दुई महिनाको लागि जहाज भाडामा लिन लागेको हो। निगमले पटक–पटक ग्लोबल टेन्डरमार्फत् जहाज भाडाको लागि सूचना निकालेको थियो। सो अनुरूप यसपटक भुटान एयरलाइन्स र युक्रेनको स्टार एभिएसन कम्पनीले जहाज भाडामा दिनको लागि इच्छा देखाएका थिए। त्यसमा सस्तोमा उपलब्ध गराउने भुटान एयरको प्रस्ताव आएपछि सम्झौताको लागि सो एयरलाइन्सलाई आशयपत्र पठाइएको छ।

‘काठमाडौं–दिल्ली उडान भरिरहेको भुटान एयरलाइन्सलाई निगमले सम्झौता गर्ने इच्छा देखाएर मसौदा पठाएका छौं।’ निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो–‘ भुटान एयरलाइन्सले उक्त आशयको मस्यौदा पत्र निगमले पाएपछि निर्णय गर्ने जनाएको छ।

निगमसँग रहेको ७५७ को जहाज मर्मत गर्न केही महिना लाग्ने भएपछि सो समयमा नियमित उडान भर्नको लागि जहाज भाडामा लिन लागिएको निगमले जनाएको छ। नजिकैको छिमेकी देश भएको र काठमाडौंबाट पनि नियमत उडान भरिरहेको भएर भुटान एयरलाइन्सलाई पहिलो प्राथमिकता दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । भुटानसँग सम्झौता भएन भने निगमले युक्रेनको स्टार एभिएसन कम्पनीलाई विकल्प राखेको छ। निगमले भाडामा लिन लागेको भुटानको जहाज १ सय २२ सिट क्षमताको रहेको छ।

प्रतिक्रिया दिनुहोस्