कमलमणि लखपति माग्ने



 

नेपालकै प्रथम महिला छायाँकार सवनम मुखिया अब फिल्म निर्देशकका रूपमा पनि देखिने भएकी छिन्। केही सर्ट फिल्म निर्देशन गर्दै आएकी उनले निर्देशन गर्ने फिल्म लखपति माग्ने निर्माणको सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच घोषणा गरिएको छ।

सवनमले भदौको पहिलो साताबाट फिल्म सुटिङका लागि फ्लोरमा जाने बताइन्। ‘फिल्म पूर्णतया कमेडी जनारामा आधारित हुनेछ। सर्ट फिल्मको अनुभवलाई पहिलोपटक ठूलो पर्दामा प्रस्तुत गर्नेछु –उनले भनिन्। फिल्मको शीर्ष भूमिकामा नाट्यकर्मी तथा कलाकार कमलमणि नेपाललाई देखिनेछ। फिल्मका लागि हालसम्म कमलमणि र हास्य अभिनेतृ निरू खड्कालाई मात्र पक्का गरिएको छ। कमलमणि सानो पर्दाका हास्य शृंखलाका साथमा फिल्ममा प्रायः स–साना भूमिकामा नै देखिँदै आएका छन्। कबड्डी, लज्जा, लोफर, धन्दा जस्ता फिल्ममा साना भूमिकामा देखिएका कमलमणि लखपति माग्नेमा आफूले गर्न लागेको शीर्ष भूमिकालाई लिएर उत्साहित छन्। ‘मैले अहिलेसम्म फिल्ममा छोटो भूमिकामा मात्र अभिनय गरें। ती फिल्ममा कतै–कतै मात्र मलाई दर्शकले हेर्न पाउँथे’, कमलमणिले भने– ‘अब बन्न लागेको लखपति माग्नेमा चाहिँ मलाई फिल्मभरि देखिनेछ। फिल्ममा म नै लखपति मगन्ते हुन्छु।’ त्यसै गरी हास्य अभिनेतृ निरू खड्काले फिल्ममा आफू कमलमणिको बहिनीको भूमिकामा देखिन लागेको बताइन्। ‘बहिनीको चरित्रमा देखिए पनि मेरो भूमिका सशक्त छ’ –उनले भनिन्।

हेटौंडा मुभी मेकर्स र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा नरेन्द्र महर्जन र प्रकाश महर्जनको लगानी रहनेछ भने सन्तोष श्रेष्ठको संगीत र शान्तिप्रियको गीत रचना रहनेछ।

सो अवसरमा सवनमले निर्देशन गरेको सर्ट फिल्म जुभेलाइन (निर्दोष मनहरू) को दुई गीत सार्वजनिकसमेत गरियो। दुव्र्यसनविरुद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्ममा कुमार गजुरेल, सम्झना तिमिल्सिना, विष्णु कोइराला, मोहन चाम्लिङ र निशा थापालगायतले अभिनय गरेका छन्। सोही अवसरमा सवनमले बुबा श्याम र आमा सुनीताको नाममा वर्षका उत्कृष्ट दुई फिल्ममेकरलाई श्याम–सुनीता चलचित्र पुरस्कार प्रदान गर्ने घोषणा गरिन्।

प्रतिक्रिया दिनुहोस्