सरकार किन रुन बाध्य बनाउँछौ ?



 

नमस्कार, नेपाल सरकार। म एक आमनेपाली हुँ। मलाई कुनै राजनीतिक दलप्रति आस्था पनि छैन र दुश्मनी पनि छैन। मैले एक नेपाली नागरिकको हैसियतले देशको स्थितिका बारेमा सामान्य जानकारी राख्ने गरेको छु। भर्खरै प्राप्त समाचारअनुसार सरकारले टीकापुर हत्याकाण्ड (२०७२⁄०५⁄०८) को मुख्य योजनाकार मानिएका व्यक्ति रेशम चौधरीलाई १ करोड ७४ लाख दिँदै छ रे, आखिर किन ? के सरकारमा पुगेपछि दिनभर ४५ डिग्रीको घाममा गिटी कुट्ने दाइ, विद्यालय नगएर भारी बोकेकी बहिनीले सरकारले हाम्रो विकास गर्छ भनेर तिरेको करलाई आफ्नै घरको ढुकुटी सम्झेर हत्यारालाई बाँड्ने हो सरकार ? जो रातदिन नभनेर आफ्नो देशको सुरक्षामा खटिने प्रहरी, जसले देशको सुरक्षाको लागि भनेर घरमा बाबा भन्न नसक्ने छोराछोरी, राम्रोसँग बाहिर–भित्र गर्न नसक्ने बाबुआमालाई छोडेर देशको लागि प्राण दिन तयार छन्, त्यस्ता देशभक्तलाई शहीद बनाउनेलाई पुरस्कार किन सरकार ?

मसँगै समाचार सुनिरहेको दर्जी दाइको छोराले ‘सरकारले त्यत्रो किन दिएको दाइ ? हामीले पनि पैसा कमाउन के गर्नुपर्छ दाइ ?’ भनेर सोध्छ। त्यसको उत्तर के दिऊँ सरकार ? के तिमीले दुधेबालकलाई मृत्युका मुखमा पुर्याउनुपर्छ भन्नु हो सरकार ? आखिर किन रुन बाध्य पार्छौ सरकार ? त्यति पैसा बढी नै भएमा बाँड्ने रहर नै छ भने धुर्मुस–सुन्तलीलाई सहयोग गरन। किन राम्रो काम गर्नेलाई खुट्टा मात्र तान्नुपर्छ हो सरकार ? कि आन्तरिकरूपमा धुर्मुस–सुन्तली, दिनेशजस्ता अन्य व्यक्तिलाई आतंककारी घोषणा गर्ने योजना त छैन सरकार ? धरहरा ढलेको छ बनाउन त नसक्ने भयौ सरकार, के देशलाई बनाउने भाषण दिन्छौ सरकार ?

२ नम्बर प्रदेशमा चुनाव किन असोज २ मा ? राजपालाई चुनावमा ल्याउन असोजमा चुनाव सार्ने निर्णय स्वागतयोग्य थियो। किनकि प्रत्येक दललाई चुनावमा लैजानु सरकारको दायित्व हो। तर असोज २ मा चुनाव सारेर राजपा चुनावमा जाँदैन भने यसको औचित्य के हो सरकार ? गृह मन्त्रालयले यदि राजपाले चुनाव बिथोल्न खोजेमा त्यसलाई दबाएर लैजान सक्छ भन्ने समाचार केही सामाजिक सञ्जालमा देखिएको थियो, किन यस्तो भएन ? एक स्वतन्त्र नेपाली भएर हेर्दा अहिलेको अवस्थामा प्रदेश २ को चुनाव सार्नुपर्ने सहमति किन भयो ? देखाउने दाँतमा राजपा देखाए पनि भित्री उसले प्रस्टरुपमा हामीले प्रदेश नं. २ को चुनाव सार्ने माग गरेकै थिएनौं भन्छ। के यो सत्तारूढ दलको माग होइन र ? आखिर किन २ नं. प्रदेशमा चुनाव सारियो ? प्रस्ट जवाफ दिन मिल्छ सरकार ? कसको चाहना हो चुनाव सार्ने ?

सुन्छु– लोकसेवा बन्द हुँदै छ रे, वार्षिक लाखौं युवाहरू लोकसेवाको आश गरेर देशमा बसेका छन्। आखिर सिंहदरबारभित्र बसेर गाउँ घुमिदैन त सरकार, अहिले देशमा भएका युवा जनशक्तिका २ वटा विकल्प छन्– कि त विदेश, कि लोकसेवा। अब लोकसेवा बन्द गरेर के सबैलाई विदेश पठाउन खोजेको हो सरकार ?

एकजना दाइ जो ३३ वर्ष उमेरमा हुनुहुन्छ र उहाँले रातदिन नभनी अधिकृत तयारी गरिरहनुभएको छ। उहाँको एउटै मात्र विकल्प छ– कि १ वर्षभित्र जसरी पनि नाम निकाल्नु छ, नत्र जीवन जिउन सकिन्न। यस्ता हजारौं दाजु–दिदी हुनुहुन्छ, जसले लोकसेवा अथवा सरकारी जागिर प्रवेशको ढोका खोल्न अन्तिम प्रयास गर्दै हुनुहुन्छ। के उहाँहरुलाई आफ्नो भविष्य बनाउने अधिकार छैन ? के नयाँ कर्मचारी सरकारले धान्न नसक्ने नै हो त ? हुन पनि कति धान्न सक्नु सरकार ? चूडामणि शर्माजस्ता कतिलाई संरक्षण गर्नु परेको होला ? हो, निजामतीमा नयाँ आउन दिनुहुँदैन, अब निजामतीमा जसले राजनीतिकर्मीको गुलामी गर्दछ तिनीहरु पो हुनुपर्छ त। यही मान्यता हो त ?

स्थानीयस्तरमा सयौं कर्मचारी आवश्यकता छ अहिले। प्रसंगवश पहिलो चरणको चुनावमा भोट माग्न आउने एक बीएड पढ्दै गरेको साथीलाई सोधेको थिएँ– किन तपाईं यसरी राजनीतिमा लाग्नुभएको ? उहाँले भन्नुभयो– हजुर अहिले भोट माग्न हिँडेमा पछि जागिर लाइदिन्छु भन्नुभएको छ। के यस्तै आफ्ना आसेपासे, तलुवा चाट्नेहरुलाई रोजगारी दिन लोकसेवा भर्ना रोक्न लागेको हो सरकार ? यदि लोकसेवा बन्द भएमा देशमा ठूलो विकराल अवस्था आउँछ सरकार। देशका सम्पूर्ण युवाहरूलाई विदेश जान बाध्य नपारिदिनुहोला। एकपटक देशको बारेमा सोचिदिनुस्। गाउँमा एकछाक नखाई बस्ने बुबालाई सोध्नुपर्छ– किन भोकै बस्नुभएको ? बुबा भन्नुहुन्छ– बाबु, शहरमा छोरा लोकसेवा पढ्दै छ, अब नाम निकालेपछि मेरो सुखको दिन आउँछ। अहिले उसैको लागि जोहो गर्दै छु बाबु। के सरकार तिमीलाई आफ्नो भोट दिएर जिताउने यिनै बुबा होइनन् र ? किन अब स्थानीय निकायदेखि सरकारी जागिर खान राजनीतिज्ञको नै गुलामी गर्नुपर्ने हो ? किन सरकार जे मुखमा आयो त्यही गर्ने गर्दछौ ? कहिलेकाहीँ सोचेर पनि गर्ने गर न। किन आफ्नो बारेमा मात्र सोच्ने गर्छौ ? के जनता सरकारको सौतेनी छोरा भैसकेका हुन् ?
– रविन पौडेल प्रयास
मन्थली–१, भगुरे, रामेछाप

लोकसेवाको विज्ञापन नरोकियोस्
देशमा बेरोजगारीको समस्या र त्यसमा पनि शैक्षिक बेरोजगारहरुको संख्या बढ्दो अवस्थामा छ। यस्तो स्थितिमा निजामती सेवाप्रति चौतर्फीरुपमा आकर्षण देखिन्छ। लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीमाझ अहिले जिज्ञासा बढेको छ– यस वर्ष लोकसेवा आयोगले नयाँ विज्ञापन गर्छ कि गर्दैन ? यसका साथै परीक्षा १ वर्ष र अझ २ वर्ष नै खुल्दैन रे भन्ने हल्ला बजारमा चलिरहेको छ। नेपालमा भनसुनविना आफ्नै मिहिनेतको बलमा जागिर खान पाउने एकमात्र माध्यम लोकसेवा आयोगको परीक्षा हो। तर, पछिल्लो समय लोकसेवाले केही वर्ष विज्ञापन नखुलाउने कुरा आइरहँदा कुनै पहुँच र चिनजानका मान्छे नभएका हामी जस्ता युवाले अब आफ्नै देशमा जागिर खान नपाउने त ? विदेशी भूमिमै पसिना पोख्न जानुपर्ने हो ?

नेपालबाट बर्सेनि करिब ५ लाख युवा बाहिर श्रमबजारमा प्रवेश गरिरहेका छन्। सरकारले ८३ हजार कर्मचारीलाई समायोजन र व्यवस्थापन गर्न सक्छ भने एक वर्षमा भर्ना हुने लभगग ६ हजार कर्मचारीलाई समायोजन गर्न सक्दैन ? यदि सक्दैन भने अहिले सञ्चालन भइरहेका लोकसेवाका परीक्षाहरु उत्तीर्ण गरेर आउनेलाई कहाँ पठाउने ? १०–१२ वर्षसम्म लगातार लोकसेवा आयोगको परीक्षा दिँदै बसेका साथीहरु धेरै हुनुहुन्छ। लोकसेवा आयोगको परीक्षा दिँदादिँदै ३३–३४ वर्ष पुगेका पुरुषहरु र ३८–३९ वर्ष उमेर पुगेका महिला विद्यार्थी साथीहरु पनि उत्तिकै हुनुहुन्छ। अब १ वर्ष अथवा २ वर्ष लोकसेवाको विज्ञापन भएन भने उनीहरुको भविष्य के हुन्छ ? दशौं वर्ष लाखौं पैसा खर्च गरेर परीक्षाको तयारी गर्नेहरुको अवस्था के हुन्छ ? सरकारले जवाफ दिन सक्नुपर्छ। त्यसैले अब परीक्षा बन्द गर्ने कुरा गर्न हुँदैन।
– विमलराज कार्की, खोटाङ

प्रतिक्रिया दिनुहोस्