लागूऔषधका दुव्र्यसनी बढे



 

नेपाल समाचारपत्र
हेटौंडा,
नेपालमा वर्षेनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको पाइएको छ। लागूऔषध ओसारपसार गर्ने कामसँगै यसका प्रयोगकर्ता पनि बढ्न थालेका हुन्।

नेपालमा हाल करिब १ लाख लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ। गृह मन्त्रालयको लागूऔषध नियन्त्रण कार्यक्रम एकाईंको आयोजनामा हेटौंडामा हालै भएको अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। नेपालमा लागूऔषध प्रयोगका दृष्टिकोणले मकवानपुर देशमा १०औं स्थानमा रहेको बताउँदै गृह मन्त्रालयका औषध नियन्त्रण अधिकारी सहसचिव केदार न्यौपानेले लागूऔषध प्रयोगकर्ताका दृष्टिले मकवानपुर देशको १०औं नम्बरमा पर्ने बताए।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय नागरिकलाई वैकल्पिक पेसा गर्न राज्यले सहयोग नगर्दा बाध्य भएर लागूऔषध ओसारपसार गर्ने र जेलमा पर्ने क्रम बढेको दुःखेसो पोखे। मकवानपुरको विकट गाउँपालिकाका रूपमा रहेको राक्सिराङ गाउँपालिकामा लागूऔषध खेती निरुत्साहित गर्न त्यस क्षेत्रका किसानलाई सरकारले सहयोग गर्नुपर्ने उनले बताए।
लागूऔषध प्रयोगकर्ता वर्षेनि ११ दशमलव ३ प्रतिशतका दरले वृद्धि भइरहेको छ। लागूऔषध प्रयोगकर्तामध्ये ५७ प्रतिशत २० देखि २४ वर्ष उमेर समूहका रहेको सहसचिव न्यौपानेले बताए। कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भु कोइरालाले लागूऔषध ओसारपसार र प्रयोग गर्ने क्रम न्यूनीकरण गर्ने अभियानमा सरकार लागेको बताए। लागूऔषध उत्पादन र ओसारपसार हुने क्षेत्रको निगरानी प्रशासनले गरिरहेको उनले बताए। मकवानपुरका प्रहरी उपरीक्षक वसन्तकुमार लामाले मकवानपुरमा ६ सय १० जना लागूऔषध सेवनकर्ता पक्राउ गरिएको बताए। पक्राउ परेकामध्ये १ सय ५ जनालाई कारबाही गरिएको, २७ जनालाई परामर्शसहित पुनःस्थापनका लागि पठाइएको र ४ सय ७८ जनालाई परामर्शसहित अभिभावकको जिम्मा लगाइएको बताए।

लागूऔषध प्रयोग र उत्पादन नियन्त्रणका लागि प्रहरीको पहुँचको व्यवस्था गरिनुपर्ने, कृषिबजार व्यवस्था हुनुपर्ने, चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिनुपर्ने, ग्रामीण भेगमा यातायात सुविधा हुनुपर्ने, राजनीतिक प्रतिवद्धता हुनुपर्ने, प्रहरीको नियमित उपस्थिति एवं कारबाही र आय–आर्जनका अन्य विकल्प व्यवस्था गरिनुपर्ने सुझाव दिइएको थियो। कार्यक्रमा सहभागीले मकवानपुरका गाँजा उत्पादन हुने क्षेत्रमा वैकल्पिक खेतीका लागि प्रोत्साहन गर्न पूर्वाधार व्यवस्था गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्