गाउँपालिकाको प्रमुखमा २१ वर्षे युवती उम्मेदवार



 

नेपाल समाचारपत्र
गुल्मी
दोस्रो चरण असार १४ गते हुने स्थानीय निर्वाचनमा गुल्मीमा गाउँपालिकाको प्रमुखमा २१ वर्षे युवती उम्मेदवार बनेकी छन्। जिल्लाको चन्द्रको गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट गाउँपालिका प्रमुखमा २१ वर्षीया खिमा विकले उम्मेदवारी दिएकी छन्। उनी सम्भवतः गुल्मीका गाउँपालिका प्रमुखको हकमा कान्छी उम्मेदवार हुन्।

जिल्लामा दलित र महिलाहरूले प्रमुख पदमा उम्मेदवारी नपाए पनि नयाँ शक्तिले भने दुवै क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको उक्त पार्टीका जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए। गाउँपालिका प्रमुख उम्मेदवार खिमा विकले समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य, विकास गर्ने नयाँ शैली, महिला हिंसामुक्त समाज बनाउने चुनावी एजेन्डा राखेकी छन्।

उनले सामाजिक विभेदमुक्त समाज, सामाजिक विकृतिमुक्त समाज, स्वरोजगारयुक्त सुन्दर, शान्त समृद्ध गाउँपालिका निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताइन्। महिला, दलित र युवाहरू प्रतिनित्व गर्दै उम्मेदवार बनेकी विकले आफूले जिते बढ्दो बेरोजगारी अत्य गर्नका लागि विशेष खालका योजनाहरू ल्याउने बताइन्।

महिलाहरूलाई प्रमुख पदमा अजै पनि पुरुष समुदायबाट विश्वास कम गर्छन् उनले भनिन्– ‘त्यसको अत्य गर्न र महिलाले पनि पुरुषसरह केही गर्न सक्छन् भन्ने उदाहरणीय पत्र बन्ने गरी काम गर्ने अवसर चाहिएको छ।’ महिला र दलितप्रति अजै पनि नीतिमा परिर्वतन भए पनि व्यावहारमा परिर्वतन नआएकाले त्यसको अत्य गर्न आफ्नो विशेष भूमिका राख्ने बताइन्।

गाउँपालिकाको प्रमुखका ठूला तीन दलमध्ये माओवादी केन्द्रले मात्र १ गाउँपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ भने अरू २ दलले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन्। जिल्लामा रहेका १२ वटा स्थानीय तहमा नगर र गाउँपालिकाको पमुखमा पनि प्रमुख पदमा दलित उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार कम मात्रमा बनाएका छन्। ठूला दलमध्ये एमाले केही वडामा र माओवादीले नगर प्रमुख र केही वडा अध्यक्षमा उम्मेदवार बनाए छन्।

प्रतिक्रिया दिनुहोस्