निर्वाचित जनप्रतिनिधिलाई सम्मान जारी



 

मोतीराम तिमल्सिना, काभ्रे
स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने र जनप्रतिनिधिहरूले मतदातालाई धन्यवाद दिने क्रम अझै जारी छ। काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानीय तहमा जनप्रतिनिधिहरूलाई सम्मान गर्ने क्रम रहेको छ। धुलिखेल नगरपालिकाको वडा नम्बर ९ मा नेकपा एमालेले निर्वाचित धुलिखेलका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, सदस्यहरू र नगर कार्यपालिकाका सदस्यहरूलाई सम्मान गरेको छ। साथै सोही अवसरमा मतदाताहरूलाई सम्मान गरेको छ।

कार्यक्रममा एमाले केन्द्रीय स्कुल विभाग सदस्य गोकुल बास्कोटाले जनप्रतिनिधिहरूलाई बधाई दिँदै मतदाताहरूलाई प्रदेश र केन्द्रको निर्वाचनमा पनि राष्ट्रियता र जनताको जनजीविकासँग जोडिएका सवालमा जनपक्षीय निर्णय लिने एमालेको पक्षमा मतदान गर्न अनुरोध गरे। आफ्नो गाउँ बनाउँ जस्ता लोकप्रिय कार्यक्रम मार्फत् गाउँ–गाउँमा सडक सञ्जाल, सहकारीको स्थापना भई आर्थिक सम्वृद्धि भएको बताए। नेपालमा नाकाबन्दी भइरहेका बेला चट्टानी अडान लिएर राष्ट्रका पक्षमा उभिएको एमालेविरुद्ध घेराबन्दी भए पनी जनताले चिर्ने बताउँदै एमाले नेता बास्कोटाले जनताले अब बुझिसकेको बताए। कार्यक्रममा प्रमुख अशोक व्याञ्जुले नगरका सबै वडाहरूलाई सम्वृद्ध बनाउन कार्यक्रमहरू तय भइसकेको बताए। उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष वसन्त रानाभाट, एमाले नेताहरू रामकृष्ण हुमागार्इं, टीकाबल्धव सापकोटालगायतले एमालेले गर्ने विकास जनताको पक्षमा हुने बताए। कार्यक्रममा नगरका सम्पूर्ण जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ७ बाट निर्वाचित वडा अध्यक्ष वर्ण शाक्यले वडाका मतदाताहरूलाई धन्यवाद दिँदै वनभोज कार्यक्रमको आयोजना गरेका छन्। निर्वाचनमा विभिन्न कोणबाट सहयोग गर्ने वडाका सम्पूर्ण व्यक्तिहरू, विभिन्न क्षेत्रका व्यक्तिहरूलाई शाक्यसहितको निर्वाचित टिमले वनभोज कार्यक्रम आयोजना गरेका हुन्। एमालेबाट निर्वाचित शाक्य वडा अध्यक्ष हुन् भने सदस्यहरूमा अनिल भैल, साजन मुस्याजु निर्वाचित भएका थिए।

बनेपाका प्रमुख लक्ष्मीनरसिं वादे र उपप्रमुख रेखा सापकोटा दाहाल, पनौतीका प्रमुख भीमप्रसाद न्यौपाने र गीता बन्जारा, पाँचखालका प्रमुख महेश खरेल र लक्ष्मी दनुवार, नमोबुद्धका प्रमुख टीपी शर्मा तिमल्सिना र रामदेवी तामाङ, मण्डन देउपुरका प्रमुख टोकबहादुर वाइबा र निर्मला शाहीलगायतलाई प्रत्येक वडाबाट सम्मान र मतदाताहरूलाई धन्यवाद दिने क्रम जारी छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई पनि शुभचिन्तकहरूले धन्यवाद दिने क्रम अझै जारी छ।

प्रतिक्रिया दिनुहोस्