नेपाल–चीन संयुक्त संयन्त्रको बैठक सम्पन्न



 

काठमाडौं, (नेस)
नेपाल–चीनबीच विगतमा भएका सहमति⁄सम्झौता कार्यान्वयन गर्न जोड दिँदै दुवै मुलुकबीचको संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौंमा सम्पन्न भएको छ।

आर्थिक सम्बन्धलाई अझ दुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको बैठकले द्विपक्षीय उच्च भ्रमण र भेटघाटलाई विस्तार गर्न जोड दिएको छ। यद्यपि दुवै मुलुकका उच्च अधिकारीहरूको भ्रमण कहिले हुने भन्ने टुङ्गो भने नलागेको बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘उच्च अधिकारीहरूको भ्रमणको गृहकार्यमा जुट्न दुवै मुलुकका पराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीबीच नियमित सहकार्य र सम्पर्कमा रहने बारेमा छलफल भएको छ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने।

मंगलबार दुवै मुलुकका परराष्ट्र सचिवस्तरीय संयन्त्रको ११औं बैठक परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको हो। बैठकमा सहभागी हुन चिनियाँ सहायक विदेश मन्त्री कोङ सोन्युसहित चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी सोमबार काठमाडौं आएका थिए।

मंगलबारको बैठकमा द्विपक्षीय व्यापार, पर्यटन प्रवद्र्धन, लगानी, पूर्वाधार विकास जस्ता विषयमा छलफल भएको थियो।

चिनियाँ पक्षले विगतमा दुबै मुलुकबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिदै सम्झौता कार्यान्वयनमा आएका र आउन सक्ने सम्भावित गतिरोध पहिचान गर्नुपर्ने बताएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले नेपाली भू–भागतर्फ सडक र रेलमार्गसहितको पूर्वाधार विकासमा सघाउने बारेमा सम्झौता भएको थियो।

त्यसबेला वाणिज्य, पारवहन, इन्धन आयात र इन्धन भण्डारण, उत्खनन्जस्ता विषयमा सहयोग गर्नेबारेमा सम्झौता भए पनि कार्यान्वयन हुन सकेको छैन। दुवै मुलुकबीच २ दशकअघि सहयोग आदान–प्रदान गर्न गठित संयन्त्रको बैठक नियमित हुन नसक्दा द्धिपक्षिय सहमति⁄सम्झौता परिणामुखी बन्न सकेका छैनन्।
तर गत महिना चीनले अघि सारेको ‘वान वेल्ट वान रोड (ओविओआर)’ मा नेपालले हस्ताक्षर गरेपछि भने विगतका सम्झौता कार्यान्वयन गर्ने गतिलो वातावरण बनेको परराष्ट्रका अधिकारीहरू बताउँछन्। ११ औं बैठकमा नेपालले ओविओआरसम्बन्धी चिनियाँ प्रस्तावको प्रशंसा गर्दै सो प्रस्तावलाई कार्यान्वयन चरणमा लानु नेपालको सँधै साथ र सहयोग रहने प्रतिवद्धता दोहोर्याएको बताइएको छ।

भूकम्पपछि सुचारु हुन नसकेको तातोपानी नाका खुलाउने बारेमा नेपालले चिनियाँ पक्षको ध्यानकषर्ण गराएको र सो मार्ग खुलाउन चीन सकारात्मक रहेको परराष्ट्र स्रोतले जनाएको छ। त्यसै गरी सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा भएको सन्दर्भमा नेपालको पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकका सरोकारवाला निकायबीच संयुक्त कार्यक्रम गर्नेबारेमा छलफल भएको बताइएको छ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदाश बैगारीले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ सहायक विदेश मन्त्री कोङले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्