प्लान इन्टरनेसनलद्वारा सार्कसँग साझेदारी



 

नेपाल समाचारपत्र
काठमाडौं
बालअधिकारका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी प्लान इन्टरनेसनलले दक्षिण एसियामा बालबालिकाको अधिकार र किशोरीहरूको समानता अभिवृद्धि गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ‘सार्क ल’ सँग नयाँ साझेदारी गरेको छ।

‘सार्क ल’ सार्क राष्ट्रका कानून व्यवसायी, न्यायाधीश, प्राज्ञलगायत आवद्ध साझा संस्था हो। दुवै निकायबीचको साझेदारीले बालबालिकाको अधिकार कार्यान्वयन, प्रवद्र्धन र संरक्षणका लागि क्षेत्रीय कानुन, राष्ट्रिय कानुन, नीतिहरू र नियामक संरचनाहरूको सुधार गर्न सघाउ पुर्याउने बताइएको छ।

साथै बालबालिकाको जीवनलाई प्रभावित गरिरहेका बालविवाह र दबाबमा गरिने पैरवीका लागि सहयोग गर्नेछ।

यस्तो साझेदारीले कानुन र नीतिमार्फत् महिला र बालबालिकाको अधिकार अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज र कानुनी समुदायबीचको सम्वन्धलाई बलियो बनाउने ‘सार्क ल’ का उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बताउनुभयो। दुवै निकायबीचको साझेदारीले बालअधिकारका सबै पक्षलाई सम्वोधन गर्ने र बालविवाहसम्वन्धी राष्ट्रिय कानुन कार्यान्वयनमा पहिलो प्राथमिकता दिइने उहाँको भनाइ छ।

नेपालस्थित प्लान इन्टरनेसनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स् भन्नुहुन्छ– ‘लाखौं बालबालिकाको मानव अधिकार विपरितको विभेद र गरिबीका वास्तविक कारणहरूको सामना गर्न हामी दरिलो साझेदारीको महत्वमा विश्वास गर्छौं, ‘सार्क ल’ सँग काम गर्दै हामी दक्षिण एसियामा बालबालिकाको जीवनलाई समानता, न्याय र आत्मसम्मानसहित अघि बढाउने सुनिश्चित गर्न कानुनी र नीतिगत परिवर्तनका लागि संयुक्त रूपमा प्रयत्नलाई बढावा दिनेछौं।’

‘सार्क ल’ का उपाध्यक्ष पूर्णमान शाक्य भन्नुहुन्छ– ‘महिला र बालबालिकाको अधिकार मानवअधिकार हुन् भनेर मौलिक अधिकारको रूपमा दक्षिण एसियाली मुलुकहरूका संविधान तथा उनीहरूले अंगीकार गरेको बालअधिकारसम्बन्धी महासन्धि र महिलाविरुद्धका सबै खाले विभेद उन्मुलनसम्बन्धी महासन्धिलगायत अन्तर्राष्ट्रिय कानुनहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।’

‘सार्क क्षेत्रका प्रधानन्यायाधीशहरूलेसमेत मानवअधिकारप्रति आफ्नो प्रतिवद्धतामा जोड दिनुभएको छ। प्लान इन्टरनेसनलसँगको साझेदारीले कानुन र नीतिहरूमार्फत् महिला र बालबालिकाको अधिकार अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्थाहरू, नागरिक समाज र कानुनी समुदायबीचको सम्बन्धलाई बलियो बनाउनेछ।’–शाक्यले भन्नुभयो।

दक्षिण एसिया विश्वमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्रमा पर्दछ, जहाँ १८ वर्षको उमेरअघि दुई किशोरीमध्ये झण्डै एक जनाले विवाह गर्ने गरेका छन्।
प्लान इन्टरनेसनल र ‘सार्क ल’ बीचको साझेदारीपश्चात बालअधिकारका सबै पक्षलाई सम्वोधन गर्ने र बालविवाहसम्बन्धी राष्ट्रिय कानुन कार्यान्वयनमा पहिलो प्राथमिकता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्