कल वाईपास सञ्चालक पक्राउ



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरी जिल्लाको पर्सापतैलीबाट प्रहरीले कल वाईपास (भिओआईपी) गर्ने एक सञ्चालकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने पर्सापतैली वडा नं. ९ हाल जलेश्वर नगरपालिका वडानं. ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहमद अजमत कवारी रहेका छन् ।

 

क्षेत्रिय प्रहरी कार्यालय हेटौडाको क्षेत्रिय अनुसन्धान टोली, नेपाल टेलिकम, एनसेल प्रालि र महोत्तरी प्रहरीको संयुक्त सहयोगमा कल वाईपास गर्ने सञ्चालकलाई गोप्य सुचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले बताए ।

 

गैरकानूनी रुपमा अन्तराष्ट्रिय आगमन कल वाईपास (भिओआईपी) सञ्चालन गर्ने कवारी सोही ठाउँ बस्ने मोहमद अब्दुल्लाहको घर भाडामा लिई सरकारको बिना अनुमतिको आधारमा सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

 

प्रहरीले खानतलासी गर्दा कवारीसंग स्पीकर, दुईवटा ठुलो व्याट्री, इलेक्ट्रिक केवल २० मिटर, राउटर चार्जरसहित, माइक्रो वेभ एन्टिना, ल्यापटप, १६ पोटको भिओआईपी डिभाइस र सोमा जोडिएको तारसहितको एनटेना १६ वटा वरामद गरेको प्रहरीले बताए ।

 

पक्राउ परेका कवारीलाई प्रहरी हिरासतमा राखी दुरसंचार ऐन अन्तर्गत कल वाईपास गैरकानुनी रुपमा सञ्चालन गरी दुरसंचार कम्पनीलाई हानी नोक्सानी पु¥याएको शिर्षकमा मुद्दा दर्ता गरिएको वताउनुहुदै प्रहरी उपरिक्षक लम्सालले यो मुद्दामा हानीनोक्सानी गरिएको रकमको साथ साथै पाँचवर्ष कैद र पाँच लाखसम्म जरिवाना रहेको स्पष्ट गरे ।

 

यो घटनामा अन्य व्यक्तिहरुको पनि संलग्नताबारे अनुसन्धान भइरहेको बताउदै अहिले अनुसन्धानको क्रममा रहेकोले थप बताउन नसकिने भने ।

प्रतिक्रिया दिनुहोस्