एसियाली पूर्वाधार लगानी बैंकद्वारा सवा खर्ब लगानीको प्रतिबद्धता



 

नेपाल समाचारपत्र
काठमाडौं
एसियाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासका लागि १ खर्ब १४ अर्ब रुपियाँबराबर लगानीको लागि प्रतिबद्धता जनाएको छ। दक्षिण कोरियाको जेजुमा जुन १६ देखि १८ तारिखसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभनर्सको दोस्रो वार्षिक बैठकमा सहभागी भएर फर्किनु भएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नु हुँदै नेपालमा लगानीका लागि बैंक इच्छुक रहेको बताउनु भएको हो।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, काठमाडौ–नुवाकोट सुरुङमार्ग निर्माण, पोखरा–बेनी–जोमसोम सडक स्तरोन्नती, तराईका विभिन्न जिल्लामा व्यवस्थित शहर निर्माण तथा ९३ मेगावाटको शारदा–बबई जलविद्युत् आयोजना र ८७ मेगावाटको तामाकोशी पाँचौ जलविद्युत् आयोजना गरी छ वटा परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको मन्त्री कार्कीले बताउनुभयो।

उपत्यकाको विद्युत् वितरण र प्रसारणलाइन व्यवस्थापनका लागि १० अर्ब रुपियाँ, काठमाडौं–नुवाकोट सुरुङमार्ग निर्माणका लागि १६ अर्ब रुपियाँ, पहिलो चरणमा तराईका ७ जिल्लामा व्यवस्थित शहर निर्माणका लागि २८ अर्ब रुपियाँ, काठमाडौं–नुवाकोट सुरुङमार्ग निर्माणका लागि २६ अर्ब रुपियाँ, शारदा–बबई जलविद्युत् आयोजनाका लागि २० अर्ब रुपियाँ र तामाकोसी पाँचौंका लागि बैंकले १८ अर्ब रुपियाँ लगानीका लागि सहमति जनाएको मन्त्री कार्कीले बताउनुभयो।

नेपालमा आर्थिक विकासतर्फ अग्रसर भइरहेको भन्दै अर्थसचिव डा. शान्तराज सुवेदीले तुलनात्मक रूपमा सहज र प्रतिफलमुखी आयोजनामा पूर्वाधार बैंक लगानी गर्न इच्छुक देखिएको बताउनुभयो। विभिन्न ठूला तथा विकसित मुलुकले बैंकमार्फत् लगानी गरिरहेको भन्दै सुवेदीले त्यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो।
दिगो पूर्वाधारलाई मूल कार्यसूची बनाएर सम्पन्न उक्त बैठकमा जलवायु परिवर्तनका नकारात्मक असर कम गर्दै पूर्वाधार विकासमा जोड, बैंकले अंगीकार गरेको ‘छरितो, स्वच्छ र हरित बैंक’ को अवधारणा बमोजिम वातावरणमैत्री पूर्वाधार निर्माण, न्यून वा शून्य कार्वन उत्सर्जन गर्ने आयोजना कार्यान्वयन र एसियाली मुलुकमा रहेको गुणस्तरीय पूर्वाधारको अभाव पूर्तिगर्ने बारेमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्