वैदेशिक रोजगार व्यवसायी संघको चुनाव ३० गते



 

नेपाल समाचारपत्र
काठमाडौं
वैदेशिक रोजगार व्यवसायी संघको चुनाव असार ३० गते हुने भएको छ। दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते हुने भएसँगै अनिश्चित बनेको चुनाव सो मितिमा हुने निश्चित भएको हो।

पहिले सरकारले दोस्रो चरणको स्थानीय तहको चुनाव असार ९ गते निर्णय गरेसँगै संघको निर्वाचन असार १७ गतेका लागि तय गरेको थियो। स्थानीय निकायको निर्वाचन हुने पक्का भएपछि संघको कार्यसमितिले असार ३० गते गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजकसमेत रहनु भएका संघका पूर्वअध्यक्ष तिलक रानाभाटले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै रानाभाटले भन्नुभयो–‘कार्यसमितिले चुनाव असार ३० गते गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमतिपत्र लिइसकिएको छ।’ चुनावले ७ पदाधिकारी तथा १० सदस्यसहित जम्मा १७ जनाको चयन गर्दैछ। ७ पदाधिकारीमध्ये एक अध्यक्ष, एक प्रथम उपाध्यक्ष तथा दुई उपाध्यक्ष रहने व्यवस्था छ। त्यस्तै एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष पनि केन्द्रीय पदाधीकारीभित्र अटाउनेछन्। संघको कार्यसमितिमा २१ जना सदस्य हुने व्यवस्था छ। तीमध्ये १७ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुने छन् भने ४ जना पूर्वअध्यक्षले मनोनित गर्नेछन्।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि वर्तमान महासचिव रोहन गुरुङ र प्रथम उपाध्यक्ष किरणकिशोर घिमिरे भिड्ने भएका छन्। गुरुङ प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट संघको अध्यक्षमा उठ्ने पक्का भएको हो भने घिमिरेलाई नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले अध्यक्षका प्रत्यासीका रूपमा उठाउने भएको हो।

प्रतिक्रिया दिनुहोस्