प्रधानमन्त्री देउवाका सहपाठी विष्टद्वारा बागी उम्मेदवारी



अछाम, (नेस)। आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि अछाम जिल्लामा राजनीतिक दलले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी चूडाराज सापकोटाले जानकारी दिनुभयो।

जिल्लाको कमलबजार नगरपालिकाको मेयरमा प्रधानमन्त्री शेरबहादुर देउवाका सहपाठी सुरेन्द्र विष्टले बागी उम्मेदवारी दिनुभएको छ। कमलबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ओमप्रकाश विष्ट र उप–मेयरमा भूमिशरण ढकाल (बजगाईं) को उम्मेदवारी दर्ता भएको छ भने एमालेको तर्फबाट मेयरमा दीपकप्रसाद अधिकारी र उप–मेयरमा माना अधिकारीको उम्मेदवारी दर्ता भएको छ। त्यहाँ कांग्रेस नेता सुरेन्द्र विष्टले बागी उम्मेदवारी दिनुभएको छ।

कांग्रेसको तर्फबाट मेयरका आकांक्षीसमेत रहनुभएका विष्टले आफूले टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएको हो। उहाँ विद्यार्थी राजनीति कालमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नजिकको साथी हुनुहुन्थ्यो। देउवा नेपाल विद्यार्थी संघकको सभापति हुँदा उहाँ पनि सदस्य हुनुहुन्थ्यो।

जिल्लाका १० वटै स्थानीय तहमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलका नेताहरूले बाजागाजासहित र्याली निकालेर आफ्नो शक्ति प्रर्दशनका साथ मनोनयन दर्ता गराएका हुन्। अछाम जिल्लाको मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ।

प्रतिक्रिया दिनुहोस्