वीरगन्जका नागरिक भन्छन् दाँतमा ढुंगा लाग्यो



सरकारले खास गरी राष्ट्रिय जनता पार्टीका लागि भन्दै दोस्रो चरणको स्थानीय तहको दिन नजिकिँदै गर्दा अन्तिम समयमा आएर मिति करिब दुई महिना सारेपछि पर्साका नागरिकहरूलाई दाँतमा ढुंगा लागे झैं भएको छ।

पर्साको वीरगन्जका सचेत नागरिकहरूले दुई नम्बरी नागरिक बन्नु परेको भन्दै आक्रोश, पीडा र व्यंग्य सामाजिक सञ्जालमार्फत पनि व्यक्त गरेका छन्। आइतबार मुलुकका तीन प्रदेशमा तामझामका साथ उम्मेदवारी दर्ता भएको देखेर पनि यहाँका नागरिकहरूलाई पेट पोलेको हो। नेकपा एमालेका नेतासमेत रहेका वीरगन्जका स्थानीय सुन्दर कुर्मीले आफ्नो फेसबुक पेजमा वीरगन्जलाई दुई नम्बर प्रदेशबाट हटाउनुपर्ने मागमा धेरैले सहमत जनाएका छन्।

वीरगन्जकै युवाहरू जया कपूर, विकास तिवारीलगायतले कुर्मीको विचारमा सहमत जनाएका छन् भने केही युवाहरूले यसको विरोध पनि गरेका छन्।
दुई नम्बर प्रदेशको लगभग केन्द्रमा रहेको वीरगन्जलाई दुई नम्बरी बनाउँदा धेरै सम्भावना बोकेको वीरगन्ज शहर ध्वस्त हुने खतरा बढेकाले आफूले यस्तो प्रस्ताव सामाजिक सञ्जालमार्फत गरेको कुर्मीले बताएका छन्। नेकपा एमालेका तर्फबाट वीरगन्ज उपमहानगरपालिकाको मेयरको दाबी गरेका कुर्मीजस्तै धेरै वीरगन्जेलीले समयमा चुनाव नहुँदा आफूहरूको भविष्य धरापमा परेको भन्दै गुनासो गरेका छन्। राजपा चुनावमा आउने सम्भावना अझै कम भएकाले असोजमा पनि दुई नम्बर प्रदेशमा निर्वाचन हुनेमा वीरगन्ज क्षेत्रका नागरिकहरूले चिन्ता जनाएका हुन्।

नौ गाउँपालिका र एक महानगरपालिकासहित एक नगरपालिका रहेको पर्साका नागरिकहरूले स्थानीय तहमा आफ्ना जनप्रतिनिधिहरू छान्नका लागि गरिने मतदान पनि सपना मात्रै हुने पो कि भन्दै चिन्तासमेत जनाएका छन्। निर्वाचन पछाडि पर्नुले दुई नम्बर प्रदेश धेरै हिसाबमा पछि पर्ने खतरा रहेको बेला बेलामा राजनीतिकविद् तथा अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। लगभग सबै दलले उम्मेदवारसमेत टुंग्याएको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिँदा साँच्चैको दाँतमा ढुंगा लागेझैं भएको वीरगन्ज महानगरपालिकाका प्रस्तावित नेपाली कांग्रेसका तर्फका मेयर अजय द्विवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्