राजनीतिमा युवाशक्तिको खाँचो



डा. ईश्वरीप्रसाद गैरे

नेपाली राजनीतिमा राजनीतिको सशक्त उदय र विकास नहुनुमा यसमा युवाशक्तिको उदय नहुनु प्रमुख कारक तत्व भएको पाइन्छ। जब–जब देशलाई सशक्त शक्तिको खाँचो पर्दछ त्यसलाई पूर्ति गर्न युवाशक्तिको उदय हुने गर्दछ। नेपाली राजनीतिमा बूढाखाडा, कम शिक्षित र कम योग्यकै वर्चश्व बढेकाले यी पलहरूमा नेपाली राजनीति सशक्त र बलशाली बन्न नसकेको हो। देशलाई क्रान्तिमा होस् या शान्तिमा होस् अथवा विकासको पथमा लम्काउन होस्, युवाशक्तिले नै अग्रगामी योगदान दिनुपर्दछ। जब–जब देशमा संकट पर्दछ, जब–जब देशमा राजनीतिको खडेरी पर्दछ, तब–तब देशमा राजनीतिका निम्ति युवाशक्तिको प्रबल प्राकट्य हुनै पर्दछ। खाँचो पूर्ति गर्ने हुनै पर्दछ।

हुन त देशमा क्रान्ति नभएको होइन, परिवर्तन नभएको होइन, न त राजनीतिक विकास नै नभएको होइन, तापनि जबसम्म राजनीतिक सशक्त विकासको परिपूर्ति हुँदैन तबसम्म देश विकासको सशक्त गतिमा प्रवाहमान हुन सक्दैन। यसको विकासको गतिको सशक्त प्रवाह युवा शक्तिले नै गर्न सक्दछ। युवा नेतृत्वको क्रान्तिकारी प्रवाहले नै देशको विकासलाई दु्रतत्तर गतिको प्रवाहमा प्रवाहमान
गर्न सक्दछ।

नेपालको राजनीतिलाई सर्सर्ती हेर्दा २०४६ सालको राजनीतिदेखि लिएर गणतन्त्र ल्याउने राजनीतिक क्रान्तिसम्म युवावर्गकै क्रान्तिको प्रवाह प्रमुखरूपमा केन्द्रित भएको देख्न पाइन्छ भने त्यसपछि शासन सत्ता र यसका प्रत्येक अङ्ग–अङ्गमा
ती र त्यस्तै युवावर्गको घुइँचो लाग्न नसक्दा देशको विकास सुस्त ढिलो र निम्नगतिमा प्रवाहमान भइआएको देख्न सकिन्छ। यसर्थ यहाँसम्मको नेपाली राजनीतिमा युवाशक्तिकै खाँचो टड्कारिएको कुरालाई कहिल्यै नकार्न सकिँदैन।

जब–जब देशलाई सशक्त शक्तिको खाँचो पर्दछ त्यसलाई पूर्ति गर्न युवाशक्तिको उदय हुने गर्दछ । नेपाली राजनीतिमा बूढाखाडा, कम शिक्षित र कम योग्यकै वर्चश्व बढेकाले यी पलहरूमा नेपाली राजनीति सशक्त र बलशाली बन्न नसकेको हो ।

देशलाई क्रान्तिमा होस् या शान्तिमा होस् अथवा विकासको पथमा लम्काउन होस्, युवाशक्तिले नै अग्रगामी योगदान दिनुपर्दछ ।

स्वास्थ्यको यथार्थ पनि बुढेसकालमा शरीर शक्ति सुस्त हुन्छ, चेतना सुस्त हुन्छ। क्रान्तिकारिताको त्यो अजस्त्र शक्तिको प्रवाहको पनि कमी हुने गर्दछ। एउटा जोश, एउटा जाँगर, एउटा उमङ्ग र एउटा प्रबल होस् यी यावत् कुराहरूको पनि शरीर बूढो हुँदा कमी हुने गर्दछ। यो शाश्वत यथार्थ हो। यस्तो परिसरमा वृद्धतन, वृद्धमन र वृद्ध होसहवास गतिमान राजनीतिको गतिमा विकासको तीव्रता र प्रवाह निम्ति अनुपयुक्तसमेत बन्ने गर्दछ। यसर्थ यी यथार्थहरूले नै भन्नुपर्दछ– नेपाली राजनीति यस्ता युवाशक्तिको घुइँचोको खाँचोले नै ढिलो–सुस्त र निम्नगतिमा मात्र गतिमान भएको देख्न पाइन्छ। परिवर्तनपछि सत्ताहरू कति आए, कति गए, तर सशक्त विकासको गति प्रवाह तिनमा कतै पनि अजस्त्र गतिमान भएर प्रवाहमान भएको देख्न पाइएन। यसर्थ यथार्थरूपमा भन्नुपर्दछ– नेपालका प्रत्येक क्षेत्रमा जबसम्म युवाशक्तिको प्राबल्य र भीड हुँदैन तबसम्म त्यहाँ कुनै पनि गतिको कुनै पनि विकास सशक्त र द्रुततर प्रवाहमा प्रवाहमान भएको देख्न सकिँदैन।

देशका युवाहरूले आन्दोलन त गरे, क्रान्ति त गरे तर सत्तामा भागीदारीको कुनै पनि लोभलालच देखाएनन् र पार्टी राजनीति र यसका नेताहरूलाई नै सत्तामा सहभागी हुन, परिवर्तन र यसको गतिलाई विकास गर्न सहर्ष स्वीकार र साथ दिएको पाइन्छ। नेताहरूले पनि आन्दोलन गरेका, क्रान्ति गरेका युवाहरूका क्षमता, सामथ्र्य र प्रतिभाको छनोट गरेर यी युवालाई राजनीतिक सत्तामा सहभागिता दिन कुनै सेवा, चासो र ध्यान दिएको पाइँदैन। यस्ता यी केही कार्यका कारण नेपालमा ऐतिहासिक क्रान्ति अनुरूप ऐतिहासिक परिवर्तन त भयो तर त्यो ऐतिहासिक परिवर्तन अनुरूप ऐतिहासिक परिवर्तनमुखी न त शासन सत्ता नै भए, न त त्यो अनुरूप राजनीतिक विकास र गति नै प्रवाहमान बन्न सक्यो। यी केही कमीले नै देश स्वतन्त्ररूपमा परिवर्तित भएर पनि राजनीतिक विकासको तीव्रत्तर प्रवाहको प्रवाह प्रवाहमान हुन सकेन।

नेपाली राजनीतिमा युवाहरूको भूमिका हेर्दा नेपाली कांग्रेस त २००७ सालदेखि ज्येष्ठ वरिष्ठको राजनीतिक सहभागितापछि मात्र युवाशक्तिको राजनीतिक भूमिका स्वीकार्य चाहन्छ भने नेकपा एमालेमा समेत केही राजनीतिक युवासहित भए पनि त्यसमा समेत वृद्ध नेताहरूको भूमिका प्रमुख भएको देख्ने गरिन्छ भने नेकपा माओवादीमा युवावर्गको भूमिका केही आशलाग्दो भए पनि यसमा समेत जस्ता युवावर्गलाई राजनीतिक शासन सत्ताका निम्ति चयन, छनोट र चुनाव गरेर लैजानुपर्ने हो त्यो चाहिँ भएको पाइँदैन। राप्रपामा त राजतन्त्रदेखि, पञ्चायतदेखि परिवर्तनसम्मका बूढाखाडाकै भूमिका प्रबल बन्दै गएको देखा परेको पाइन्छ।

मधेसी मोर्चासमेत केही नयाँ युवाबाहेक वृद्ध नेतृत्वकै भूमिकामा प्रबल बन्दै गएको देख्न पाइन्छ। साँच्चै भन्ने हो भने नेपाली राजनीति र शासन सत्तामा जे–जस्ता प्रखर, योग्य, मेधावी प्रतिभा छनोट गरेर लग्नुपर्ने हो त्यो नलग्ने गरेका कारण नै परिवर्तनपछिको राजनीतिक क्षितिजमा नेपाली राजनीतिको जोश, जाँगर, उमङ्ग र प्रबल होसको प्रखर भूमिका प्रबल बनेर उदाउन नसकेको देखिन्छ। नेपालका युवा धेरै शान्तिवादी छन्, सहिष्णुवादी छन्। एकदमै समस्या नै नपरेका क्षण क्रान्तिमा तदारुक भएका पाइँदैनन्। अब अन्तिम समस्या आइपुग्यो भनेमा मात्र क्रान्तिका जुझारू हातहरू आन्दोलनमा तीव्र, सशक्त र ज्वलन्त पार्न प्रतिबद्ध र कटिबद्ध भएर प्रस्तुत हुने गर्दछन्। यो यथार्थ नेपाली जनजीवनका युवाहरूको यथार्थ हो।

अब साँच्चै भन्ने हो भने, परिवर्तनपछिका नेपाली पार्टीका राजनीतिक क्रियाकलापका यी सुस्तता, यी मन्दगी र यी ढिलेढाले ढुलमुले शासन सत्ताका हिँडाइहरूले परिवर्तनपछिको नेपाली राजनीति धेरै पछाडि धकेलिएको छ। विकासको गतिमा भन्दा अविकासको गतिमा ढुनमुनिएको छ। देशको हालत बेहाल छ र राजनीतिको सशक्त प्रवाह अवरुद्ध छ। परिवर्तनपछिको नेपाली राजनीतिको बिहान र दिउँसो ल्याउनुपरेको छ, निम्त्याउनु परेको छ र आमन्त्रण गर्नुपरेको छ। यसका लागि युवावर्गलाई नै छानेर, रोजेर र चयन गरेर नेपाली राजनीतिमा सहभागी बनाउनुपरेको छ। युवाहरूकै शक्तिशाली काँधमा नेपाली राजनीतिलाई
ब्युँताउनुपरेको छ।

नेपाल आर्थिकरूपमा केही मात्रामा धनको गरिब भए पनि मनको गरिबचाहिँ कहिल्यै भएको पाइँदैन। यसले यसै अनुरूप आफ्ना राजाहरूलाई मानेको छ, पार्टी र यसका नेता–कार्यकर्तालाई मानेको छ र राम्रा राजनीति देशमा हुनुपर्छ भन्ने धारणालाई समेत आत्मसात् गरेको छ। यसरी नेपाली जनता, नेपाली युवा जहिले पनि सकारात्मक सोचका बाहक भएर हिँडिरहेको पाइएको छ।

आज पार्टीहरूको शासन सत्ताको चढाइ र हिँडाइपछि यहाँ आर्थिक क्रान्तिका विकासका गतिहरू प्रवाहमान हुन सकेनन्। देश प्रत्येक क्षेत्रमा अविकसित भएर जर्जर हुन पुग्यो। देशमा कुनै पनि स्रोत–साधन र माध्यमको उपयोग नभएकाले देशका जल्दाबल्दा र प्रखर प्रतिभा छाक टार्न र परिवारको समस्या सफल पार्न विदेशतिर सुइँकुच्चा कसे। पार्टी राजनीतिको शासन सत्ताले देशलाई यो गतिको गर्तमा भस्याउन पुगेको देखिन्छ। यो देशको पार्टी राजनीतिको शासन सत्ताले देशको विकास र युवाहरूको भविष्यलाई सखाप र समाप्त पार्दै लगेको देखिन्छ।

यहाँ आर्थिक क्रान्ति, राजनीतिक क्रान्ति, विकासको क्रान्ति र देशका प्रत्येक क्षेत्रको आमूल क्रान्तिजस्ता क्रान्ति ल्याउन तब मात्र सम्भव देखिन्छ जति बेला देशका प्रखर, योग्य युवा प्रतिभाहरू शासन सत्तामा बढीभन्दा बढी सहभागी गराउन सकिन्छ। जसरी घरमा एउटा होनहार खाइलाग्दो छोराले घरको समस्या समाधान गर्दछ त्यसरी नै देशका होनहार, खाइलाग्दा र आशलाग्दा प्रतिभा युवाले देशको समस्या समाधान गर्न सक्छन् भन्ने कुरामा एकमत हुन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्