वर्तमान शिक्षाको गन्तव्यहीन स्थिति विषय केन्द्रित विश्वविद्यालय अबको नीति



 

आजका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना साबित भएका छन्। हरेक वर्ष लाखौँ युवाहरू उत्पादित भए पनि ती युवा कुन विषयमा दक्ष हुन्, प्रस्ट छैन। राज्यबाट सञ्चालित शिक्षा अव्यवस्थित, अव्यावहारिक तथा सर्टिफिकेट लिने र दिने मात्र भएको छ। जसको कारण आफ्नो जीवनको महत्वपूर्ण युवा उमेर शिक्षामा खर्चेर स्नातकोत्तर गरे तापनि उनीहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य भएका छन्।

वर्तमान विश्वविद्यालयहरूबाट शैक्षिक क्षेत्रमा देखा परेका समस्या तथा बेरोजगारको समस्या हल हुन सक्दैन। यदि साँच्चिकै बेरोजगारको अन्त्य गर्ने हो भने तथा युवा पलायनलाई रोक्ने हो भने विशेष किसिमका विषय केन्द्रित विश्वविद्यालयहरूको व्यवस्था हुनुपर्दछ। यो नीति अबको शिक्षामा अनिवार्य छ, अपरिहार्य छ। उदाहरणको लागि नेपालजस्तो कृषिप्रधान देशमा खेतीयोग्य जमिन प्रशस्त भएको ठाउँमा पशुपालन तथा जडीबुटीमा समेत अत्यधिक सम्भावना बोकेको ठाउँमा कृषिसम्बन्धी पाठ्यक्रम नहुनु विडम्बना हो। त्यसैले कृषि विश्वविद्यालयअन्तर्गत देशैभरि कृषि क्याम्पसको जरुरत छ। नेपालमा अत्यन्तै उर्वर फाँटहरू छन् जसबाट करिब ६ करोड मान्छेलाई खान पुग्दछ तर दुःखको कुरा ती फाँटहरू बाँझा छन्, जसको कारण १ करोड मान्छेलाई पनि खान पुगेको छैन र हामी पूरै परनिर्भर बन्न बाध्य भएका छौं।

त्यसै गरी नेपालमा करिब ४ हजार नदीनाला, महत्वपूर्ण जडीबुटी भएका जंगल तथा उत्तम किसिमका काठहरू भएका वन छन्। यिनको सुरक्षा र उत्पादन भएमा औषधि तथा काठ निर्यात गर्न सकिन्छ। त्यसैले जलस्रोत र वनलाई लिएर पनि विश्वविद्यालय हुन आवश्यक छ। नेपालको भौगोलिक बनावट र सम्भावना तथा आवश्यकतालाई हेर्ने हो भने कृषि, उद्योग तथा व्यापार, वन तथा जलस्रोत, विज्ञान तथा प्रविधि र स्वास्थ्य शिक्षामा विषय केन्द्रित विश्वविद्यालयहरू हुन जरुरत छ। शिक्षालय भनेको एउटा ठूलो सुन्दर बगैंचा हो र विद्यार्थी भनेका त्यस बगैंचामा उम्रेका अनेक प्रकारका बिरुवा हुन्। कोही साना फुल हुन्, कोही ठूला फूल हुन्, कोही सुगन्धित फूल हुन् र कोही गन्धहीन फूल हुन्। जे हुन्, सबै बगैंचाका सौन्दर्य हुन्। बगैंचाका सम्पत्ति हुन्।

विविध किसिमका फुल, फल, झारपात, रुख तथा बिरुवा भएको बगैंचा जति सुन्दर हुन्छ, त्यस्तै बहुआयामिक विषयहरू स्थापित गरेको शिक्षा व्यवस्था पनि त्यत्तिकै सुन्दर तथा व्यावहारिक हुन्छ। शिक्षा व्यवस्थामा सबै प्रकारका विद्यार्थीले पढ्न पाउनु, प्रयोग गर्न पाउनु र दक्ष हुन पाउनु भनेको बगैंचाभित्र पसिसकेपछि हामीले जुन प्रकारका फूल, फल खोजे पनि पाउनुजस्तै हो। यस्तो सुन्दर बगैंचा आजको अपरिहार्य आवश्यकता हो। सुन्दर फलफूल कसले नचाहला ? कसैले हेर्न चाहन्छ, कसैले टिप्न चाहन्छ, कसैले सजाउन चाहन्छ भने कसैले खान चाहला। पाकिसकेकोलाई हामी खाऊँ, नापकेकोलाई पाकाऔँ। विद्यार्थीहरू विद्यार्थीकालमा पाकिसकेका हुँदैनन्, फुली–फक्री सकेका हुँदैनन्। फक्री सकेपछि यी राष्ट्रका धन हुन्। त्यसको फाइदा समाज, रास्ट्र र विश्वले नै लिन सक्छ।

२१औं शताब्दी विज्ञानले चुनौती दिइरहेको समय हो। त्यसैले विज्ञान शिक्षा बहुमूल्य छ। दक्षताको शिक्षा र विज्ञान शिक्षालाई समायोजन गरेर लैजाँदा विद्यार्थीहरू दक्ष हुन सक्थे, प्रतिभावान् हुन सक्थे। जुन काम गर्थे, त्यसबाट केही उत्पादन दिन सक्थे। हरेक काममा उनीहरू सफल हुन सक्थे। त्यसबाट विकास र समृद्धिको एउटा खाका तयार हुन सक्थ्यो। तर आज यस्तो हुन सकेको छैन। किनकि यहाँ विज्ञानजस्तो टेक्नोलोजिकल र प्राक्टिकल विषय पनि घोकन्ते शैलीमा शिक्षण गरिन्छ। त्यसैले यसमा दक्षता छैन। अहिले पनि हामीले कतिपय क्षेत्रमा टेक्निकल व्यक्तिहरू जस्तै– डाक्टर र इन्जिनियर उत्पादन गरेका छौं तर उनीहरूले जुन तरिकाले कम गरिरहेका छन् त्यो मूलतः दक्षतामूलक छैन।

अन्य प्रकारका व्यक्ति र शिक्षित समुदायमा पनि दक्षताको अभाव छ। हामीले मूल्यांकन गर्ने हो भने, शिक्षाको नतिजा यस्तो भेट्छौं कि शिक्षाले पढेलेखेका जुन व्यक्ति उत्पादन गर्यो त्यो काम गर्न नसक्ने लङ्गडो प्रकारको भयो। त्यसैले उसले जे कम गर्छ त्यसमा दक्षता छैन। त्यो राज्यबाट वितरित खिचडी शिक्षाको नतिजा हो। जागिर नपाए पनि आफ्नै केही गरौं भन्ने पुरुषार्थपूर्ण जीवनदृष्टि छैन।

जीवनदृष्टि नै नभएको कस्तो नागरिक तयार गर्यौं हामीले ? आज सर्वत्र बहस बनिरहेको छ। हाम्रो देशमा पनि वैज्ञानिक उन्नति हुन सक्छ। विज्ञानका उन्नत प्रयोगशालाहरू हुन सक्छन तर यो कुरा यहाँ अगाडि बढिरहेको छैन। विश्वमा विज्ञानले यत्रो उन्नति गरेको छ र त्यो परिवर्तनलाई हामीले समर्थन पनि गरेका छौ तर त्यसको प्रयोग गर्न सकेका छैनौं। हामी कहाँ एउटा सियो पनि बन्दैन, अरुले उत्पादन गरेका वस्तु हामी महँगो मूल्य तिरेर किनिरहेका छौं। हामी एउटा बृहत् सुन्दर बजार बनेका छौं विदेशी उत्पादनका।

आजको शिक्षाको अवस्थाबारे अलिकति गम्भीर बहस गर्नुपर्यो, सोच्नुपर्यो, थोरै डराउनुपर्यो। अहिलेको शिक्षाले राजनीति, विकास र मानवताका क्षेत्रमा कहाली लाग्दो अवस्था निर्माण गर्दै छ्र। भ्रष्ट नागरिक उत्पादित गरिरहेको छ्र। हामीले उत्पादित नागरिकलाई उचित रोजगारी दिन सकिरहेका छैनौं। विज्ञान, प्रविधि र व्यवसाय पछाडि परेका छन्। यस्तै तरिकाले शिक्षा दिँदै जाने, यसरी नै विद्यालयहरूले पढाउने र यसरी नै कलेजहरू खोलिँदै जाने हो भने त्यहाँबाट उत्पादित जनशक्तिले कुनै काम पाउन सक्दैन। यदि नयाँ, कर्मशील, दक्ष, देशलाई कम लाग्ने नागरिक तथा आजको विश्वबजारमा बिक्न सक्ने नागरिक उत्पादन गर्न खोज्ने हो भने वर्तमान शिक्षामा व्यापक सुधार गरी त्यही अनुरूपको नीति निर्माण गर्नुपर्दछ। अबको शिक्षाले दक्ष नागरिक उत्पादित गरोस्, जसले कृषि समातेपछि कृषिमा सफलता प्राप्त गर्न सकोस्, उद्योग समातेपछि उद्योगमा सफलता प्राप्त गर्न सकोस्, व्यापार समातेपछि व्यापारमा सफलता हासिल गर्न सकोस्। उसले आफूलाई इच्छा लागेको जुन शिक्षा हासिल गर्दछ त्यसमा ऊ सफल बनोस्। यस्तो किसिमको नागरिक तयार नगरेसम्म देशको विकास हुन सक्दैन।

हालसालै मात्र नेपालको शिक्षा येन संशोधन भएर पास भएको छ। त्यसबाट आंशिक उत्साहित हुन सकिन्छ। यसले पूरै वर्तमान शिक्षाको समस्या भने तत्काल हल गर्न सक्दैन। अबको शिक्षामा सबैभन्दा पहिले पाठ्यक्रम सुधारको आवश्यकता छ। सानै कक्षाबाट विद्यार्थीलाई भार हुने अनावश्यक विषय हटाई तिनका स्थानमा विद्यार्थीले दक्षता हासिल गर्न सक्ने व्यावहारिक विषय राख्नुपर्दछ। निजी स्कुलहरूले तीन वर्ष नपुगेका बालबालिकालाई पुस्तकको भारी बोकाएर बालमस्तिष्कमा प्रहार गरिरहेका छन्। यो काम तत्काल रोक्न आवश्यक छ।

राज्यव्यवस्थामा निकै परिवर्तन भए पनि नेपालको शिक्षा अहिले पनि सामन्तवादी तथा शैक्षिक दलालहरूको हातमा छ। शिक्षाजस्तो राज्यको संवेदनशील क्षेत्रमा विदेशीको नाङ्गो हस्तक्षेप आजको जटिल समस्या हो। नेपालका शिक्षाविद्हरू कस्मेटिक्स छन्। नेताहरूसँग शिक्षासम्बन्धी स्पस्ट भिजन छैन। अबको युग विकास र समृद्धिको युग हो। विकास र समृद्धि भन्ने कुरा शिक्षासँग प्रत्यक्ष जोडिएको हुन्छ। वर्तमान शिक्षामा जति लगानी बढाए पनि यसबाट उत्पादित जनशक्तिले श्रमबाहेक अरु दिन सक्दैन। फेरि पनि वर्तमान शिक्षा नीतिमा सुधार गरी रोजगारमूलक, व्यवसायमूलक, व्यावहारिक र दक्षतामूलक शिक्षा नीति बनाउन सकेन भने नेपालले विकास मार्गमा सोचेजस्तो फड्को मार्न सक्दैन। आज जुन विकृति, विसंगति, भ्रष्टाचार, गरिबी, बेरोजगार तथा विकासमा गतिहीनता देखा परेका छन्, यसबाट छिटो देशलाई मुक्ति दिलाउने मूल आधार शिक्षा नै हो। यो कुरालाई जति छिटो बुझ्न र समाधान गर्न सकियो त्यति छिटो देशको काँचुली फेरिनेछ।
– खगेन्द्र थापा, काठमाडौं

प्रतिक्रिया दिनुहोस्