भाजपाका तर्फबाट दलित राष्ट्रपति उम्मेदवार मायावती र नीतीश सकारात्मक



 

नयाँदिल्ली, (एजेन्सी)
भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित साहले एक प्रेस सम्मेलनमा रामनाथ कोविन्दलाई सत्तारूढ गठबन्धन एडीएको राष्ट्रपति पदका उम्मेदवार घोषणा गरेका छन्।

रामनाथ कोविन्द हाल विहारका राज्यपाल हुन् तर राष्ट्रपति पदको उम्मेदवारको होडमा उनको नाम धेरै चर्चामा थिएन। यसपटक भारतको राष्ट्रपतिमा भाजपाको उम्मेदवार करिब करिब पक्का मानिएको छ।

यसअघि भाजपाबाट राष्ट्रपति पदका लागि सशक्त रूपमा लालकृष्ण आडवानी, उमा भारती, सुष्मा स्वराज, वैंकैया नायडु र सुमित्रा महाजनको नाम चर्चामा आइरहेको थियो। कोविन्दको नाम घोषणासँगै उनीहरू सबै राष्ट्रपतिको होडबाट बाहिरिएका छन्।

दक्षिण भारतको एक पत्रिकाले नरायण मूर्ति र अजिम प्रेमजीमध्ये एकजना राष्ट्रपति पदका उम्मेदवार हुने लेखेको थियो। यसअघि अमित साहले पहिलेदेखि पदमा रहेका मध्ये कोही पनि चयन नहुने बताएका थिए।

मायावती सकारात्मक, नीतीश खुसी
कोविन्दको उम्मेदवारीलाई लिएर बहुजन समाजवादी पार्टीका प्रमुख मायावतीले लखनउमा पत्रकार सम्मेलन गर्दै उनीप्रति सकारात्मक हुने संकेत दिएकी छिन्। उनले भनिन्– ‘एनडीएको राष्ट्रपति पदको उम्मेदवार रामनाथ कोविन्द दलित भएको नाताले पार्टीको नीति उनीप्रति सकारात्मक रहनेछ। यद्यपि यदि विपक्षका तर्फबाट यस पदका लागि उनीभन्दा योग्य उम्मेदवार उठाइएन भने।’

एनडीएले एक दलित उम्मेदवारलाई उतारेकाले विपक्षीले पनि एक दलित उम्मेदवारलाई नै उठाउनुपर्ने र कुनै गैरराजनीतिक दलित उम्मेदवार उठाउँछ भने पनि रामै्र हुने मायावतीले बताइन्।

यसैबीच विहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमारले भने– ‘विहारका राज्यपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाएकामा म खुसी छु।’

यस विषयमा लालुप्रसाद यादवसँग कुरा भएको र सोनिया गान्धीको पनि फोन आएको र आफूले आफ्नो धारणा अवगत गराएको उनले थपे। यस विषयमा सबैसँग थप छलफल हुने उनले बताए।

त्यसै गरी जनशक्ति पार्टीका नेता तथा केन्द्रीय मन्त्री रामविलास पासवानले भने– ‘जसले आफूलाई प्रगतिशील ठान्छ, उसले रामनाथ कोविन्दलाई समर्थन दिनुपर्छ र जसले समर्थन गर्दैन, उसलाई दलित विरोधी मानिनेछ।’

त्यसै गरी तेलंगाना राष्ट्र समिति (टीआरएस)की नेता के कविताले उनको पार्टीले एनडीएको उम्मेदवारलाई समर्थन गर्ने बताएकी छिन्। कांग्रेस र वामपन्थी पार्टीले भने भाजपाले सर्वसहमतिको कुरा गरेको तर नाम तय गर्ने विषयमा कुनै सल्लाह छलफल नगरेको प्रतिक्रिया दिएका छन्। कोविन्दलाई समर्थन गर्ने कुनै सम्भावना नभएको पनि बताएका छन्।

रामनाथ कोविन्द उत्तर प्रदेशबाट भाजपाका दलित नेता हुन्। उनी दुईपटक राज्यसभाका सदस्य भइसकेका छन्। सरकारी वकिलका रूपमा रहेका कोविन्दलाई सन् १९७१ मा बार काउन्सिलका लागि मनोनयन गरिएको थियो। वकिलका रूपमा उनले दिल्लीको उच्च तथा सर्वोच्च अदालतमा १६ वर्ष वकालत गरेका थिए। यदि उनी राष्ट्रपति चुनिएमा उत्तर प्रदेशबाट उक्त पदमा पुग्ने कोविन्द दोस्रो राष्ट्रपति हुनेछन्।

रामनाथ कोविन्दको जन्म सन् १९४५ अक्टोबर १ मा उत्तर प्रदेशको कानपुर गाउँमा भएको थियो। कोविन्दले कानुपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाइ पूरा गरेका थिए। गभर्नर अफ विहारको वेबसाइटअनुसार कोविन्द दिल्ली उच्च अदालतमा सन् १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिल रहेका थिए। सन् १०८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्याडिङ काउन्सिलमा थिए।
दिल्ली उच्च अदालतमा १६ वर्ष वकालतको पेसामा रहेका कोविन्दलाई सन् १९७१ मा दिल्ली बार काउन्सिलमा नामांकित गरिएको थियो।

सन् १९९४ मा कोविन्द उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिएका थिए। उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे। उनी थुप्रै संसदीय समितिहरूमा सदस्य रहेका थिए।

ती समितिहरू आदिवासी, गृह मामिला, पेट्रोलियम र प्राकृतिक ग्यास, सामाजिक न्याय, कानुन न्याय व्यवस्था र राज्यसभा हाउस कमिटीका पनि अध्यक्ष रहे। कोविन्द गभर्नर्स अफ इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टको पनि सदस्य रहेका छन्। सन् २००२ मा कोविन्दले सयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए। कोविन्दले थुप्रै देशको पनि यात्रा गरेका छन्।

कोविन्दको पहिचान एक दलितका रूपमा महत्त्वपूर्ण मानिन्छ। छात्र जीवनमा कोविन्दले अनुसूचित जाति, जनजाति र महिलाका लागि काम गरे। १२ वर्ष सांसद रहँदा कोविन्दले शिक्षासँग जोडिएका मुद्दालाई उठाएका थिए। वकिल पेसामा रहँदा काविंदले गरिब दलितका लागि निःशुल्क कानुनी सेवा दिने गरेको बताइन्छ। कोविन्दको विवाह सन् १९७४ मा सविता कोविन्दसँग भएको थियो। उनका एक छोरा प्रशान्त र छोरी स्वाति छन्।

प्रतिक्रिया दिनुहोस्