संवैधानिक परिषद् अनिर्णित



कहिले सिफारिस होलान् प्रधानन्यायाधीश ?

काठमाडौं, (नेस)
प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न सोमबार बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन।

प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउँदै उपसभामुख ग·ाप्रसाद यादवले अर्काे बैठक यही असार १५ गते बस्ने जानकारी दिनुभयो।

प्रधानन्यायाधीश सुशीला कार्कीले यही जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ। हाल वरिष्ठताका आधारमा न्यायाधीश गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ।

नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ। जसमा प्रधानमन्त्री अध्यक्ष तथा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ।

प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्, कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ।

गत जेठ ३० गतेको न्यायपरिषद् बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको थियो। परिषद्ले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्