सगरमाथा नाप्न प्रारम्भिक कार्य शुरू



 

नेपाल समाचारपत्र
काठमाडौं
सरकारले सगरमाथाको उचाइ मापन कार्य शुरु गरेको छ। जसका लागि पहिलो चरणमा उचाइ मापनका लागि आवश्यक पर्ने ‘लेवलिङ नापी’ विधि अपनाइसकेको नापी विभागले जानकारी दिएको छ। लेबलिङ भन्नाले सगरमाथाको उचाइ नाप्नका लागि आधार तयार पार्न नियन्त्रण बिन्दु पत्ता लगाउनु हो।

सगरमाथाको उचाइ मापन शीर्षकमा यस वर्ष सरकारले २ करोड रुपियाँ बजेटसमेत विनियोजन गरिसकेको विभागका महानिर्देशक गणेशदत्त भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘उदयपुरको बाँसघारीदेखि सोलुखुम्बुको लुक्लातर्फ लेबलिङ नापी कार्य शुरु भएको छ। नापी कार्य साउनदेखि तीव्ररूपमा अघि बढ्छ। यस वर्ष करिब ३० किलोमिटर लेवलिङ नापिन्छ। लेवलिङ नापेपछि नियन्त्रण बिन्दुअर्थात् कहाँबाट सगरमाथाको केन्द्रबिन्दु सजिलै थाहा पाउन सकिन्छ भन्ने कुराको जानकारी हुन्छ। र, उचाइ नाप्नका लागि आधारसमेत बन्छ।’

वर्षा समयमा नाप्न गाह्रो हुने भएकाले साउनदेखि नाप्ने कामलाई तीव्रता दिने योजना विभागले बनाएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट नेपाल अन्तर्राष्ट्रिय जगत्मा चिनिएको छ। विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरूपमा पुनः नाप्नका लागि भारतले नेपालसँग प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि नापी विभागले भारतको प्रस्तावलाई कुनै वास्ता नगरेको बुझिएको छ। सर्भे अफ इन्डियाको २५०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग मन्त्री वर्दनले आवश्यक प्रक्रिया पूरा भए अबको २ महिनासम्ममा चुचुरोको सर्भे सम्पन्न गर्ने र संयुक्त टोलीले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र त्रिकोण मितीय विधि गरी दुई विधिबाट उचाइ नाप्ने तयारी भइसकेको बताउनुभएको थियो।

सगरमाथाको उचाइलाई वैज्ञानिकता दिन सरकारले कार्यक्रमकै रूपमा अगाडि लगेको विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ। सरकारले छुट्याएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र र मापनका लागि खटिनेहरूका लागि विशेषज्ञ तालिम, कर्मचारीहरूमा खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छन्।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म १० पटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ मा मापनका लागि भारतीय नापी टोलीलाई पहिलोपटक स्विकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ भने यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्