प्रयोगमा आएनन् सार्वजनिक शौचालय



दीपेन्द्र शर्मा, जाजरकोट
जाजरकोट सदमुकाममा रहेको खलंगा बजारमा दैनिकजसो आउने सर्वसाधारणलाई जति बेला पनि एउटा समस्याले सताउने गर्छ। दिनभरि विभिन्न कामहरू गरेर हैरान भएका तथा विभिन्न सरकारी कामले सदरमुकाम आएका नागरिकहरूलाई पानी पियो नास्ता खायो अनि हैरानी हुन्छ, दिसा–पिसापको समस्याले सारै सताउने गर्दछ। सर्वसाधारणका लागि बनाइएका सार्वजानिक शौचालय प्रयोग नहँुदा निकै समस्या हुने गरेको छ। दिसा–पिसापको लागि जिल्ला सदरमुकामको बजार क्षेत्रमा बनाइएका सार्वजनिक शौचालय प्रयोग नगरी ताला लगाउँदा जिल्ला बाहिरबाट सदुमुकाम बजारमा आउने आगन्तुकलाई मात्र होइन अन्य कामको सिलसिलामा बजारमा घुम्ने स्थानीयलाई समेत निकै समस्या पर्ने गरेको छ।

जिल्ला सदरमुकाम खलंगा बजारमा मात्र ५० हजार जनताको स्थायी तथा अस्थायी बसाइ रहे पनि बजारक्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय सञ्चालनमा छैनन्। सदरमुकाम तथा बजारमा शौचालय बनाए पनि सञ्चालनमा नआउँदा यहाँका सार्वजनिक बाटोहरूमा जथाभावी दिसापिसाब गर्नाले दुर्गन्ध बढेको छ। सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रवेश गर्ने विभिन्न बाटोहरूमा जथाभावी दिसापिसाब गर्नाले ती क्षेत्रहरूमा वातावरण प्रदूषित भएको छ। खलंगा प्रवेश गर्ने थाप्ले, ठाँटीबजार, शान्तिचौतारा बसपार्क, गैरीखालीलगायतका ठाउँमा आगन्तुक तथा केही स्थानीयहरूले दिसापिसाब गर्न थालेपछि समस्या आएको हो।

खलंगा बजारको ठाँटीबजार क्षेत्रको रिसाङ जाने बाटो, होलुखोला जानेबाटो स्याला जाने बाटो त्यस्तै गैरीखाली बजारको चौरजहारी जानेबाटो, रिसाङ जाने बाटो तथा रानागाउँ जाने बाटोहरू विशेष गरी फोहोर भएको र ती बाटोहरूमा जथाभावी दिसापिसाब गर्ने गरिएको पाइन्छ। जिल्लाको एक मात्र बसपार्क रहेका शान्ति चौतारामा भएको सार्वजनिक शौचालय प्रयोगविहीन भई ताला लगाउँदा बसपार्कमा जम्मा हुने यात्रु खुला रूपमा दिसा–पिसाब गर्न बाध्य छन।

सदरमुकाममा आउने विभिन्न नाकाहरूमा बनाइएका सार्वजनिक शौचालय प्रयोग नहँुदा सदरमुकाममा आउने सेवाग्राही खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य भएको कुशे गाउँपालिका–३ डाडाभौताका कैलाश रेग्मीले बताए। ‘दिसा–पिसाब लागेपछि कि जहाँ काम छ त्यही कार्यालयमा कि त आफू बसेको होटलमा गएर दिसा–पिसाब गर्नुपर्छ, बजार क्षेत्रमा सार्वजनिक शौचालय बन्द हुन्छन्, धेरै च्यापेमा बजार नजिकैको जंगलमा गएर दिसा–पिसाब गर्नु पर्छ’ –उनले भने। जिल्लाको सदरमुकाममा त बनाइएका शौचालयहरू प्रयोगमा छैनन् भने गाउँको अवस्था के होला उनले भने। सदरमुकामभित्र प्रवेश गर्ने मुखैमा रहेको बसपार्क र मुख्य बजारका बाटोहरूमा जता गयो उतै दिसा र पिसाबको गन्ध मात्र आउने गरेको रेग्मीले बताए। विभिन्न योजनाका पैसा खानेतिर मात्र सबैको ध्यान छ तर राम्रो र उपयोगी काममा ध्यान नहँुदा सर्वसाधारणले दुःख पाइरहेको उनको भनाइ छ।

सदरमुकामको फोहोर व्यवस्थापन तथा सार्वजनिक शौचालयको निर्माण गरे पनि कागजमा मात्र सीमित भएको पत्रकार वासुदेव शर्माले बताए। निर्माण गरेका शौचालयहरू नगरपालिकाको जिम्मामा भएको र नगरपालिकाले शौचालयको व्यस्थापन तथा सञ्चालनका लागि स्थानीयलाई जिम्मा दिएकाले स्थानीयको दायित्व बढ्नुपर्ने र जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकेकाले अब पूर्ण सरसफाइमा लाग्नुपर्ने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जाजरकोटका प्रमुख महेशी महतोले बताए।

जिल्लाको मुख्य प्रशासनिक केन्द्र भएकाले दिन प्रतिदिन जनघनत्व बढ्ने हुनाले सदरमुकामका विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गरिएको महतोले बताए।

प्रतिक्रिया दिनुहोस्