झापामा तीन हजार ३ सय ६६ जनाको मनोनयन दर्ता



भद्रपुर(ने.स) । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा तीन हजार ३सय ६६ जनाले मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १सय २९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १सय ६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १सय ३१ वडा अध्यक्ष पदका लागि ७ सय ३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५सय १८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २सय ७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी गराए ।
आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३सय ७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताइन ।
त्यसैगरी, भद्रपुर नगरपालिकामा २सय ९६, दमक नगरपालिकामा २सय ९१, अर्जुनधारा नगरपालिकामा २सय ८८, शिवसताक्षी नगरपालिकामा २सय ८३, बिर्तामोड नगरपालिकामा २सय ५३, गौरादह नगरपालिकामा २सय २० र कन्काई नगरपालिकामा १सय ९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै झापाका गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १सय ८३ जनाले मनोनयन दर्ता गराएका छन् ।
कचनकवल गाउँपालिकामा १सय ७९, गौरीगञ्ज गाउँपालिकामा १सय ७७, बाह्रदशी गाउँपालिकामा १सय ७५, बुद्धशान्ति गाउँपालिकामा १सय ६९, झापा गाउँपालिकामा १सय ५६ र सबैभन्दा कम मनोनयन दर्ता भएको हल्दिबारी गाउँपालिकामा १सय २३ जनाको उम्मेदवारी दर्ता भएका छन् ।

दर्ता भएका उम्मेदवारउपर कुनै दाबी विरोध भएमा दर्ताको भोलीपल्ट त्यसको निवेदन दिन सकिने र मङ्गलबार त्यसको छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्