पहाडी जिल्लाका मतदाताको माग – ‘खानेपानीदेखि सडक निर्माणसम्म’



डडेल्धुरा, ५ असार । स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला डडेल्धुरा–बैतडीको सिमानास्थित अनारखोलीका मतदाता भने यस अघिका निर्वाचामा पटक पटक दलीय नेतृत्वबाट सडक निर्माणको झुटो आश्वासन मात्र पाएको भन्दै रुष्ट बनेका छन् ।

अजयमेरु गाउँपालिका–१ समैजीका मतदाताले निर्वाचनका बेलामात्रै आश्वासनको बाढी नै आउने गरेको तर विकास निर्माणका काममा भने गुनासो रासससंगको कुराकानीमा गर्नुभयो । खोड्पे दशरथ चन्दमार्ग छेउमै रहेको अनारखोली बजारमा दिनहुँ चुनावी चर्चा चल्छ । विसं २०५४ सालको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराएकोे उक्त क्षेत्रका मतदाताले गाउँमा विकास निर्माणका कुरा त परै जाओस् राज्यको उपस्थितिसम्म न्यून रहेकामा राजनीतिक नेतृत्व प्रति आक्रोशित बनेका छन् ।

“हाम्रो वडामा राज्यको उपस्थिति भनेको एउटा प्रहरी चौकी मात्रै हो ।” समैजीका तर्फराज भट्टले भन्नुभयो – “विसं २०५५ मा सडक खोलिए पनि हालसम्म स्तरोन्नतिसमेत हुन सकेको छैन ।” गाउँमा बिरामी पर्दासमेत सात÷आठ घन्टा पैदल हिँडेर डडेल्धुरा सदरमुकाम पुग्नुपर्ने बाध्यता छ भन्दै भट्टले दोस्रो तहको निर्वाचनमा मत माग्न आउने उम्मेदवारलाई सडक निर्माणदेखि स्वास्थ्य चौकी स्थापनासम्मका लिखित सम्झौता गराएरमात्रै मतदानमा जानेछौँ भन्नुभयो ।

त्यसैगरी दुर्गम मानिएका यहाँको समैजी, माली, मदुरडालगायतका गाउँँबाट जनप्रतिनिधि भएर जानेहरुले विकास निर्माणका लागि कुनै फलदायी कदम नचालेको आरोपसमेत उहाँले लगाउनुभयो ।

“शेरबहादुर देउवाजीले चुनावका बेला खानेपानी दिन्छु भनेलगत्तै पानीको व्यवस्था जोलेना खानेपानी आयोजना तयार गरियो ।” स्थानीयवासी दीपक भट्टले भन्नुभयो – “गत संविधानसभाको निर्वाचनमा आउने नेताहरुले भने आश्वासनमात्रै दिएर गए । सडक स्तरोन्नतिका लागि काठमाडौँसम्म पुगेर दबाब दिँदा पनि कुनै पहल भएन । ”

“माध्यमिक तहपछि गाउँमा उच्च माध्यमिक विद्यालय छैन ।” समैजीका धर्मानन्द भट्टले भन्नुभयो, “टाढा भएकाले छात्रालाई उच्च शिक्षाका लागि डडेल्धुरा जान समस्या छ । दैनिक ३० किलोमिटर हिँडेर पोखरा र सदरमुकाम जान नसकिने हुँदा गाउँमा उच्च शिक्षाका लागि पनि पहल गर्ने उम्मेदवारलाई मतदान गर्छौं ।”

डडेल्धुरा सदरमुकाम बाजबजारलगायत पहाडी जिल्लाका सडक मार्ग र सदरमुकाममा चुनावी रौनकमै अल्झिए पनि ग्रामीण भेगका मतदाता भने निर्वाचनसँगै गाउँमा विकासको लहर आउनेमा अझै आशावादी छन् । “निर्वाचनका बेला आश्वासनमात्रै दिनेप्रति सचेत छौँ ।” स्थानीय धर्मानन्द भट्टले भन्नुभयो – “सक्षम र इमान्दार उम्मेदवारलाई जिताउँछौ ।” एक हजार ४९५ मतदाता रहेको अजयमेरु गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट दत्तीसिंह भण्डारी, नेकपा (एमाले)बाट जितराज भट्ट, नेकपा (माओवादी केन्द्र)बाट वीरेन्द्रसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट कलावती भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी डोटीको बडुर बजारमा खानेपानी नै प्रमुख समस्याका रुपमा रहेकाले पानी खुवाउन प्रतिबद्ध हुने उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने सोचाइमा छन् ।

“वविगतमा गाउँमा आएका योजनामा पनि कमिसन खाएर योजना अलपत्र परेका धेरै घटना देखिए ।” बडुरवासी गणेशबहादुर विष्टले भन्नुभयो – “यहाँको समस्या भनेको खानेपानी र बजार व्यवस्थापनको हो ।” जोरायल गाउँपालिका–२, जोगबुढा चोकमा लामो समयदेखि खानेपानीको समस्या रहेकाले घरदैलोमा आउने विभिन्न दलका उम्मेदवार समक्ष यही समस्या तेस्र्याउने गरेको उहाँले बताउनुभयो । बजारको जनसङ्ख्या बढेसँगै खानेपानीको समस्या झन विकराल बन्दैछ ।सडकमार्गको छेउमा रहेको बजार पनि अव्यवस्थित हुनुकासाथै करिव एकघण्टा पर धारापानी भन्ने ठाउँबाट पानी बोकेर ल्याएर प्यास मेटाउनुपर्ने अवस्था छ
“पार्टी जुनसुकै भए पनि बडुरको मुहार फेर्ने योजनासहित आउने उम्मेदवारलाई मतदान गर्छौं ।” विष्टले भन्नुभयो – “यहाँबाट निर्वाचित भएर जाने सांसदले पनि विकास निर्माणदेखि यहाँको जनभावनाको सम्मान गरेनन् ।”

त्यस्तै जोरायल गाउँपालिका–२ का लक्ष्मीदत्त भट्टराईले गाउँमा सडक निर्माण र किसानलाई सिँचाइको व्यवस्था गर्न सहयोग गर्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा यहाँका बासिन्दा छन् भन्नुभयो ।
“गाउँमा फरक–फरक राजनीतिक विचारधाराका मतदाता भएपनि यसपटक विकास हुनुपर्ने पक्षमा सबै एकठाउँमा उभिएका छन् ।” “निर्वाचनका बेला उम्मेदवारले गर्न सक्दिन त केही भन्दैनन् ।” भट्टराईले भन्नुभयो – “गाउँपालिकाको विकासमा ध्यान दिनेलाई भोट दिइन्छ ।”
जोरायल गाउँपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सो गाउँपालिकामा काँग्रेसबाट दिपक विष्ट, एमालेबाट दुर्गा ओझा र छवि ओली माओवादी केन्द्रबाट मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्