दस दिनदेखि लामिछाने बेपत्ता



 

चितवन, ५ असार । गोर्खा नाम्जुङ स्थायी घर भई भरतपुर महानगरपालिका वडा नं १५ माधवपुर बस्दै आएका ५१ वर्षीय धर्मदत्त लामिछाने विगत १० दिनदेखि बेपत्ता भएका छन् ।

अघिल्लो शनिबार बिहान गोर्खा घर जान भनी माधवपुरबाट हिडेका लामिछाने आजसम्म सम्पर्कमा आउन नसकेको उनका छोरा दीपक लामिछानेले बताउनुभयो ।

गोर्खा जानुअघि बुबाले घरमा एउटा कागजमा गोर्खाकै गाउँको एक महिलाले अपहरण गर्ने धम्की दिएको हुँदा म घर नपुगे र केही भएमा ती महिला जिम्मेवार हुने पत्रसमेत लेखेर छाड्नुभएको छोरा दीपकले बताउनुभयो । ती महिलालाई समेत झिकाएर प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कल डिटेलसहित झिकाएर अनुसन्धान र खोजी कार्यलाई तीव्रता दिएको बताउनुभयो । बेपत्ता हुनु अघिल्लो दिन शुक्रबार बिहान १० बजे पछिल्लोपटक परिवारसँग सम्पर्क भए पनि त्यसयता लामिछानेको मोबाइल स्विचअफ रहेको छ ।

आफूलाई महिला हिंसा गर्न खोजेको आरोप लगाउँदै ती महिलाले लामिछानेविरुद्ध जिप्रका गोर्खामा निवेदनसमेत दिएकी बताइएको छ । बुबा बेपत्ता भएपछि ती महिलाले प्रहरीमा उल्टो निवेदन दिएको छोरा दीपकको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्