न्युजिल्यान्ड युवा आत्महत्याको दर सबैभन्दा उच्च



 

अकल्यान्ड, (एजेन्सी)
न्युजिल्यान्ड पहाड, नदी र हरियालीले भरिपूर्ण अत्यन्न सुन्दर देश हो। यो विश्वमै अत्यन्त सुन्दर भू–वनोट भएका केही देशमध्येका एक हो।

तर पनि न्युजिल्यान्ड वर्षौंदेखि डिपे्रसन र आत्महत्या गर्ने युवाहरूको सूचीमा सबैभन्दा माथि पर्दै आइरहेको छ। यहाँ धेरैजसो युवाहरू डिप्रेसनको शिकार हुने गरेको र त्यसले आत्महत्याको दरलाई बढाइरहेको छ। विकसित जगत्मा न्युजिल्यान्डका किशोर सबैभन्दा धेरै आत्महत्या गरिरहेका छन्। युनिसेफको नयाँ पछिल्लो प्रतिवेदनले न्युजिल्यान्डलाई फेरी चिन्तित बनाएको छ।

किशोर आत्महत्याको सूचीमा न्युजिल्यान्ड सबैभन्दा अगाडि रहेको यो पहिलो घटना होइन। ४१ वटा यरोपेली देशलगायत विकसित देशमध्य न्युजिल्यान्डमा १५ देखि १९ वर्षको उमेरमा सबैभन्दा धेरैले आत्महत्या गर्ने गरेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।

प्रति १ लाखमा १५ दशमलव ६ आत्महत्याको दर अमेरिकाको भन्दा दुई गुणा र र बेलायतको भन्दा ५ गुणा धेरै हो।

यसको धेरै कारण छन्। युनिसेफ न्युजिल्यान्डका डाक्टर प्रुडेन्स स्टोनले आँकडा मात्र ठूलो कुरा नभएको र आत्महत्याको यो डरलाग्दो आँकडा अन्य सामाजिक तथ्यहरूसँग सीधा जोडिएको बताए। बच्चामा रहेको गरिबीको उच्च दर, किशोरीमा गर्भधारणको मामिलामा वृद्धि र उनीहरूका परिवारमा ठूलो संख्यामा आमाबुबाले काम नगर्ने बढ्दो प्रवृत्ति नै यहाँको आत्महत्याको प्रमुख कारण भएको उनले बताए।

न्युजिल्यान्डको मेन्टल हेल्थ फाउन्डेसनका सान रोविन्सनले भने– ‘स्कुलमा डराउने धम्काउने अवस्था न्युजिल्यान्डमा अत्यन्त नराम्रो स्थितिमा छ। परिवारबीच हिंसा पनि धेरै छ। यहँँ बच्चाहरूले धेरै प्रताडना सहनुपरेको हुन्छ। सार्थ बच्चाहरूमा गरिबीको दर पनि धेरै नै छ, जसको समधान अत्यन्त जरुरी भइसकेको छ।’

न्युजिल्यान्डको यस आँकडाबाट त्यहाँको मावरी समुदाय र प्यासिफिक द्विपका बासिन्दामा आत्महत्याको दर धेरै रहेको थाहा हुन्छ। स्टोनले भने– ‘यसबाट थाहा हुन्छ कि यो सांस्कृतिक पहिचान र औपनिवेशीकरणको प्रभावको संकट हो। यसले हाम्रो समाजमा संस्थागत तथा सांस्कृतिक नस्लभेद कुन स्तरमा छ भन्ने संकेत दिन्छ।’

यस मामिलामा कुनै जाँच पनि नहुने र यो समस्या अन्त्यका लागि पटक–पटक आग्रह पनि गरिएको स्टोनले बताए। अन्य पश्चिमी देशको तुलनमा न्युजिल्यान्डको स्वास्थ्य सेवा पनि खराब छ। यहाँ पुरुषहरूमा कडा आचरणको संस्कृति रहेको स्टोनले बताए। यही कारणले धेरैजसो मामिलामा उनीहरू एक प्रकारले दबाबमा हुने गरेको उनले थपे। यसतोमा धरैजसो पुरुष मज्जाले बियर पिउन थाल्छन्।

हालै वर्षहरूमा केही परिवर्तन भएको चिकित्सकहरू बताउँछन्। यहाँका संगीतकार र चलचित्रकर्मीले पुरुषहरूको यो छवीलाई परिवर्तन गर्ने प्रयास गरिरहेका छन्।
न्युजिल्यानडका किशोरलाई दबाबसँग लड्नमा मद्दत गर्ने कुनै काम नभएको रोबिन्सनले बताए। यहाँ किशोरहरू जुन दबाब र मानसिक चुनौतीसँग लडिरहेका छन् त्यसमा न्युजिल्यान्डले सही तरिकाले काम गरिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्