बजार पुँजीकरण १८ अर्ब ४४ अर्ब रुपियाँमा सीमित



 

नेपाल समाचारपत्र
काठमाडौं
पछिल्लो समयमा निरन्तर ओरालो लागेको शेयर परिसूचक साताको पहिलो दिन नै गिरावट आएको छ। नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रहँदै गर्दा आइतबार १३ दशमलब ६१ अंकको गिरावट आएको हो।

१ हजार ५ सय ८९ दशमलब ५९ अंकबाट शुरू भएको नेप्से परिसूचक आइतबार १ हजार ५ सय ७५ दशमलब ९८ को विन्दुमा पुगेर रोकिएको हो। नेप्से परिसूचक ओरालो लागेसँगै आइतबार कारोबार रकममा पनि कमी आएको छ। बजारमा आइतबार १ सय ४३ कम्पनीका ८ लाख ४३ हजार ९ सय १२ कित्ता शेयर ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपियाँमा किनबेच हुँदा समग्र बजार पुँजीकरण १८ अर्ब ४४ अर्ब रुपियाँमा सीमित रहेको छ। कारोबार रकम गत साताको अन्तिम दिनको भन्दा ११ दशमलब ९४ प्रतिशत कम हो। बिहीबार बजारमा ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपियाँको कारोबार भएको थियो।

आइतबार कारोबारमा आएका सबै समूह ओरालो लागे। तीमध्ये जलविद्युत् समूह सबैभन्दा बढी ३१ दशमलब २८ अंकले ओरालो लाग्यो। त्यस्तै होटल र बैंकिङ समूहमा पनि क्रमशः १८ दशमलब ३६ र १७ दशमलब ४ अंकको गिरावट आए।
त्यसैगरी बीमा समूहको परिसूचक १४ दशमलब ७४ अंकले घट्यो। विकास बैंक समूहको परिसूचक १० दशमलब ९३ अंक, उत्पादनमूलक समूहको ८ दशमलब ७३ अंक, अन्य समूहको १ दशमलब ७४ र वित्तीय समूहको परिसूचक शून्य दशमलब ८५ अंकले घटे। आइतबार सबैभन्दा धेरै कारोबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरको भयो। कम्पनीका २८ हजार ६ सय ७० कित्ता शेयर ७ करोड ४६ लाख १६ हजार १ सय ४३ रुपियाँमा कारोबार भए। त्यस्तै कारोबार गर्नेमा एभरेस्ट बैंक र एनआईसी एसिया बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
आइतबार सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले कमाएका छन्। कम्पनीको शेयर मूल्य ९ दशमलब ९८ प्रतिशतले बढेको छ। त्यस्तै एभरेस्ट बैंकका शेयरधनीले सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत नै गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्