रसियाको विजयी शुरूआत



 

मस्को, (एजेन्सी)
शनिबारबाट शुरू भएको फिफा कन्फेडेरेसन कपको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले विजयी शुरूआत गरेको छ।

सन् २०१८ को फिफा विश्वकप आयोजनाको जिम्मा पाएका रसियाले ओसेनिया क्षेत्रका च्याम्पियन न्युजिल्यान्डलाई २–० गोलअन्तरले पराजित गरेको हो। खेल अवधिभर बल पोजेसनमा रसिया हाबी देखिएको थियो। जसअनुसार खेलमा रसियाले थुप्रै मौका पाए पनि न्युजिल्यान्डको आत्मघाती गोलको उपहारबाट अग्रता लिएको थियो। खेलको ३१औं मिनेटमा न्युजिल्यान्डका माइकल बक्सअलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले शुरूआती अग्रता लिएको थियो।
पहिलो हाफसम्म १–० ले अग्रता बनाएको रसियाले दोस्रो हाफमा पनि थप एक गोल गर्यो। खेलको ६३औं मिनेटमा फेदोर स्मोलोभले गोल गरेपछि रसियाको अग्रता दोब्बर बन्यो। त्यसपछि खेलको बाँकी समयमा दुवैतर्फबाट गोल नभएपछि रसियाले सहज जित पक्का गरेका थिए। जितसँगै समूह ‘ए’ मा रहेको रसियाले अंक तालिकामा महत्त्वपूर्ण ३ अंक जोडेको छ। उक्त समूहमा वर्तमान युरोपेली च्याम्पियन पोर्चुगल र उत्तरी अमेरिकी च्याम्पियन मेक्सिको पनि रहेको छ। यस्तै समूह ‘बी’ मा एसियाली च्याम्पियन अस्ट्रेलियासहित क्यामरुन, जर्मनी र चिली रहेका छन्।

हरेक ४ वर्षको अन्तरालमा आयोजना हुने कन्फेडरेसन कपलाई फिफा विश्वकपको वार्मअप प्रतियोगिताको रूपमा लिइन्छ। यस प्रतियोगितामा ६ महादेशका वर्तमान च्याम्पियन र वर्तमान विश्वकप विजेता र विश्वकप आयोजनाको जिम्मा पाएका राष्ट्रबीच प्रतिस्पर्धा हुने गर्दछ। यो फिफा विश्वकपको निर्धारित मितिभन्दा १ वर्षअगाडि आयोजना हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्