मतदान केन्द्रको निरीक्षण



 

कुमार श्रेष्ठ⁄बाँके

 

जिल्ला सुरक्षा व्यवस्थापन समितिले मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेको छ। मतदाता र कर्मचारीको सुरक्षादेखि भित्रिने र बाहिरिने द्वारको अवस्थाका बारेमा सुरक्षा अधिकारीहरूले अवलोकन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरीका एसपी तथा कोहलपुरका डीएसपीलगायतको टोलीले कोहलपुर क्षेत्रका एक दर्जन मतदानस्थलको अवलोकन गरेको थियो। कोहलपुर क्षेत्रका विद्याज्योति प्रावि, लक्ष्मी मावि, मदरसा हिमालय गरिब नवाज प्रावि, दीपेन्द्र प्रावि, नेपाल राष्ट्रिय मावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, जनता मावि, सिद्धार्थ आधारभूत विद्यालय, ज्ञानज्योति मावि र नेपाल राष्ट्रिय निमाविमा रहेको मतदान केन्द्रको सुरक्षा अधिकारीले स्थलगत अवलोकन गरेका थिए।

बाँकेमा १ सय ३६ मतदानस्थलमा २ सय ९५ मतदान केन्द्र रहेका छन्। प्रहरीले तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति बनाएको छ। अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। प्रहरीले दक्षिण क्षेत्रमा सबैजसो मतदान केन्द्र अति संवेदनशील रहेको जनाएको छ। उम्मेदवार, मतदाता, कर्मचारीको सुरक्षाका लागि ‘रणनीति’ नै बनाएर अघि बढेका सुरक्षा अधिकारीहरूले प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टिम परिचालन हुने जनाएको छ। ‘तीन घेराको सुरक्षा हुन्छ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना हुन्छ, अधिकारीहरूले भनेका छन्– ‘कुनै पनि अपराधिक गतिविधि नहोस् भनेर हामी लागी परेका छौं।’

राजपाका नेता गिरफ्तार
बाँके प्रहरीले राजपाका दर्जन बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

चुनावविरोधी आन्दोलनअन्तर्गत लाठी जुलुस निकालेका राजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको हो। इदगाहरोडस्थित राजपाको कार्यालयबाट निस्केको जुलुस त्रिभुवनचोकमा आइपुग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले राजपाका नेता लक्ष्मीनारायण वर्मा, रामकुमार दीक्षितलगायत १६ जनालाई नियन्त्रणमा लिएको छ। १४ जनालाई नेपालगन्ज र दुई जनालाई खजुराबाट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिनुभयो। केन्द्रीय कार्यक्रमअन्तर्गत राजपाका नेताहरू लाठी जुलुसमा निस्केका थिए। जुलुस निस्केको केही समयमै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अरू नेताहरूलाई पनि तारगेटमा राखेको बुझिएको छ।

आइतबार हुने मनोनयनमा कुनै पनि बाधा अवरोध नहोस् भन्नेमा प्रहरी सचेत रहेको एसपी राईले बताउनुभयो। बाँकेमा ठूलो संख्यामा प्रहरी खटाइएको छ। थप मद्दत ल्याएर सुरक्षा मजबुत गराइएको छ।

प्रहरीले स्वतन्त्र मधेसी गठबन्धनका नेता तथा कार्यकर्तामाथि पनि कडा निगरानी राखेको छ। केही पक्राउ परेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्