हाम्रा राजनेता र स्वामी रामदेव प्रसंग

मुक्तिबन्धु

नेपालका महिमाशाली राजनेताहरू जोगी हुन राजनीति गर्दैनन्। उनीहरू के–कस्तो हुन राजनीति गर्छन् ? आजका विभिन्न दलका शीर्षनेताहरूको चालढाल र चञ्चलाश्री हेरेर सजिलै अनुमान गर्न सकिन्छ। छिमेकी मुलुक भारतमा जोगीहरू पनि राजनीति गर्छन्। महात्मा गान्धी अघोषित जोगी नै हुनुहुन्थ्यो। उहाँका विचार, व्यवहारका अनुयायी कतिले भारतको राजनीतिमा थुप्रै योगदान दिएका पनि छन्। अहिले नाथ परम्पराका युवा योगी आदित्यनाथ उत्तरप्रदेशको मुख्यमन्त्री छन्। उनका क्रियाशीलताको चर्चा अहिले चुलीमा छ।

जोगीलाई श्रद्धा सम्मान गर्ने चलन भारत र नेपालमै पनि पुरानै हो। यसैमा टेकेर कति जोगीले योगसाधना गरेका छन्। कतिले जसोतसो जीवन घिसारेका छन्। कतिले शान, सम्मान र धन पनि कमाएका छन्। कतिले समाजसेवा गरेर देश र जनतालाई गुन लाएका छन्। हामी नेपालका योगी नरहरिनाथलाई एक दृष्टान्तका रूपमा लिन सक्छौं। नेपालको पुरातत्व, इतिहास र संस्कृतिको अनुसन्धानका क्षेत्रमा उहाँले दिनुभएको योगदान अविस्मरणीय नै छ।

जोगीका सन्तान हुँदैनन्। सन्तानले आफ्नो भाग्य⁄भविष्य आफैं बनाउँछन् भन्ने विश्वास गर्न नसकेर अत्याचार, अनाचार, भ्रष्टाचार जे गरेर पनि सात पुस्तासम्मका लागि सम्पत्ति जुटाउने लण्ठा जोगीलाई हुँदैन। एक जना जोगीलाई खान, लाउन त कति लाग्छ र ? यसरी हेर्दा राजनेताहरू जोगी सोचका हुनु र जोगीले राजनेता बनेर राजनीति गर्नुमा हाम्रोजस्तो गरिब मुलुकलाई ठूलो फाइदा हुन सक्छ। तर हाम्रा राजनेताहरू जोगी बन्न राजनीति गर्दैनन्।

रामदेव देशभक्ति, जनसेवा र समर्पणभावसहितका जाँगरिला योगी हु्न्। समाजमा उनका त्याग र योगदानहरू धेरै देखिएका छन्। यसैबाट उनले पर्याप्त जनविश्वास आर्जेका छन्। स्वामी रामदेव परनिर्भर र विभिन्न विकृति–विसङ्गतिले ग्रस्त लाखौँलाख जोगीहरूका लागि अनि जोगी नबन्न राजनीतिमा लागेका भोगी राजनेताहरूका लागि पनि इलमी र स्वाभिमानी जीवनको प्रेरणास्रोत बन्न सक्छन्।

योगी शब्दकै नेपाली रूप जोगी हो। योगसाधनाबाट मानिस योगी बन्छ। योग मानवजीवनको महत्वपूर्ण आवश्यकता नै हो। व्यायाम मात्र पनि योग होइन। योगका जीवन्त पक्षहरू धेरै छन्। यसैले आज अन्तर्राष्ट्रिय योगदिवस मनाउन थालिएको छ। यसमा स्वामी रामदेवजस्ता योगाचार्यहरूको ठूलो योगदान छ। सबै योगी रामदेव हुँदैनन्। सबै योगी नरहरिनाथ पनि हुँदैनन्। भेषधारी हुन सक्छन्। भिखारी हुन सक्छन्। भिखारी त हाम्रा राजनेता पनि हुन सक्छन्। राजनेताहरू देश र जनताका नाममा भीख माग्छन्। भेषधारी भिखारीहरू त्यतिसम्म बेइमान छैनन्। ती आफ्नै भुँडी पसारेर भीख माग्छन्।। तिनीहरू राजनीति गर्न जोगी भएका होइनन्।

भारतीय स्वाधीनता सेनानी र अध्यात्मसाधक पण्डित श्रीराम शर्मा आचार्यले सन् १९६० को दशकको अन्त्यतिर लेख्नुभएको थियो– भारतमा लगभग ५७ लाख जोगीहरू छन्। ती जोगीहरू मुलुकका खासखास शहरमा केन्द्रित छन्। कतिपय जोगीहरू मठाधीश छन्। सम्पन्न छन्। विलासिताको अस्वाभाविक र लज्जास्पद जीवन जिइरहेका छन्। बहुसंङ्ख्यक जोगीहरू तन्नम टाट छन्। मठ–मन्दिर र सदावर्त भोजन गृहहरूमा चहारेर बल्लबल्ल पेट भरेका छन्। औचित्यहीन र निरर्थक जीवन बाँचेका छन्। यी जोगीहरू साक्षरता शिक्षा र योगद्वारा निरोगिताको सेवा सञ्चारक बनेर भारतका गाउँ–गाउँमा जान र जनतालाई जागरण सेवा दिन सक्छन्। यसो गर्दा यिनीहरूको जीवन सार्थक बन्छ। यिनीहरूलाई जनताले थप सम्मान दिन्छन्। मुलुक द्रुत गतिमा अगाडि बढ्न सक्छ। अन्यथा यी जोगीहरू देश र जनताका शिरमा अनावश्यक बोझ मात्रै हुन्।
भारतमा जस्तै जनताका बोझ बनेका जोगीहरू त नेपालमा कमै छन्। तर राजनेताहरू छन्। ती निरन्तर राजनीतिमा छन्। राजनीतिक आवरणमै कति अघोषित व्यापारमा छन्, कति भिक्षाटनमा छन्। समाजको सर्वतोमुखी प्रगतिमा सरिक एकाधबाहेक सबैजसो राजनेताहरू समाजका अनावश्यक बोझ मात्र बनेका देखिन थालेका छन्।

यस स्थितिमा उत्तराखण्ड भारतका योगाचार्य स्वामी रामदेव अहिले नेपालमा पनि विशेष चर्चायोग्य बनेका छन्। विनाशकारी भूकम्पपछिको राहत सामग्री वितरण सन्दर्भमा पनि रामदेव र उनको पतञ्जली संस्थान विशेष चर्चामै रह्यो। जोगीहरूको भीडमा स्वामी रामदेवको उपस्थिति बिलकुलै फरक छ। उनी उत्पादनप्रवीण योगी हुन्। उनले प्राणायाम र योगका सम्बन्धमा प्रचार सामग्रीहरू प्रशस्त उत्पादन गरेका छन्। प्रशिक्षणको निरन्तरताले दक्ष जनशक्तिको उत्पादन पनि त्यत्तिकै गरेका छन्। आयुर्वेदका दुर्लभ ग्रन्थहरूको पुनरुत्पादनसमेत गरेका छन्। उनको पतञ्जली आयुर्वेद उत्पादनको बिक्री वितरण नेपालमा पनि मौलाएको छ। उनको पतञ्जली ग्रामोद्योग नेपालमा पनि चलेको छ। पहिले पतञ्जलीले आयुर्वेदिक औषधिको उत्पादन गथ्र्यो, अहिले शृङ्गार प्रसाधनदेखि घिउ, तेल, मसला, पीठो, जुस, चाउचाउ अदि तमाम उपभोग्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्छ। अहिले त्यसको पनि विभिन्न कोणबाट चर्चा–परिचर्चा शुरु भएको छ।

आफ्नै घोषणाअनुसार पनि रामदेव जोगी हुन्। संन्यासी जोगीले खर्बौंको उद्योग व्यापार सञ्चालन गर्नु कति ठीक हो ? व्यापार व्यवसाय निरन्तर लाभका लागि गरिने क्रियाकलाप भएकोले यसमा छलकपट, दाउपेच सबै चल्न सक्छ। जोगीको घोषित धर्म नैतिकतामा छलकपट सुपाच्य हुन सक्दैन। शुद्धताको सवाल आजको सर्वाधिक जल्दोबल्दो सवाल हो। टिप्पणी गर्नेहरू भन्छन्, रामदेको उत्पादन पनि मिसावटरहित र शुद्ध छ भन्ने आधार छैन। नेपालमा त अझै सरकारले अत्याधुनिक प्रयोगशाला, नियमित परीक्षण र जनतालाई सुसूचित गर्ने दायित्व वहनको व्यवस्थासमेत गर्न नसकेको अवस्था छ। रामदेवको उत्पादन बजारमा अरुको भन्दा सस्तो पनि छैन। बहुराष्ट्रिय कम्पनीहरू र रामदेवको पतञ्जलीमा टड्कारो अन्तर के ? यस्ता प्रश्नहरू अनुत्तरित नै छन्।

भेषभूषा र सार्वजनिक प्रस्तुतिमा योगी तर निजी जीवनमा भोगी शैलीका छन् रामदेव, उनको जेट विमानसमेत निजी छ भन्नेहरू पनि भेटिन्छन्। विरोधीहरूले अनेकौं जाल–प्रपञ्च रचेर फसाउने प्रयत्न गर्दा पनि फसाउन नसकिएका सक्कली योगी हुन् रामदेव, भन्नेहरू पनि छन्। एकपटक दिल्लीमा अनशनबाट भागेका रामदेवको दृश्य प्रशंसक, आलोचक दुवै थरी दर्शक जनमनले अझै बिर्सन सकेका छैनन्। भारत स्वाभिमान संगठनका नेता योगी रामदेव बीजेपी राजनीतिमा लागिपरेरै लागे। पछिल्लो चुनावमा उनको भूमिका चर्चित पनि रह्यो। सवाङर््गीण स्वास्थ्यका लागि प्राणायाम र योगको प्रचार प्रशिक्षणबाट स्थापित भएका रामदेव आफ्नो देशमा स्वदेशी उपभोग्य सामग्रीको उत्पादन र प्रचार प्रसारमा आक्रामक शैलीमै अगाडि देखिएका छन्।

योगी रामदेवले हिन्दू जनतामा रहेको धर्मपरकता र श्रद्धाभावको शोषण गरे भन्ने तर्क पनि प्रशस्तै सुनिन्छ। पतञ्जलीबाट उपादित सामग्रीको दृश्यश्रव्य विज्ञापनमा भेषभूषासहितका रामदेवको अर्धनग्न उपस्थिति नरुचाउनेहरू पनि छन्। रामदेवले लँगौटी मात्र लगाए पनि सुसंस्कृत छन्, सुन्दर छन्। हाम्रा राजनेताहरूले आफूलाई जतिसुकै महँगो परिधानमा लपेटे पनि नाङ्गै छन् र कुरूप छन् भन्नेहरू पनि समाजमा छन्। समाजमा रामदेवका आलोचक छन् भने फ्यान पनि त्यत्तिकै भेटिन्छन्। व्यापारीहरू भन्छन्– पतञ्जलीको उत्पादन ग्राहक धेरैले खोज्छन्, डिलरसिप लिन महँगो छ। अरु डिलरबाट सामान लिएर बिक्री गर्दा नाफा बस्दैन तर पनि छोड्न सकिएको छैन।

रामदेवका निश्चित सीमाहरू छन्। स्वामी विवेकानन्दजस्तो गम्भीर चिन्तक र प्रभावकारी अभिव्यञ्जक व्यक्तित्व रामदेव होइनन्। यिनीसँग बौद्धिकतापूर्ण प्रस्तुतिको सीप र सम्प्रेषणशील भाषा पनि छैन। तर पनि रामदेव दृढ आत्मविश्वासका साथ क्रियाशील छन्। उनको दाह्री, पहिरन र निरन्तररूपमा देखिएको प्रशिक्षणपरकता नै उनको पहिचान र योगदान हो। रामदेवका अभिन्न मित्र आचार्य बालकृष्ण विशिष्ट प्रतिभाका धनी उद्योगविशेषज्ञ व्यवसायी हुन्। आयुर्वेदका विशिष्ट ज्ञाता, व्याख्याता र ग्रन्थकार पनि हुन्। रामदेव र पतञ्जली संस्थानको निर्माण र प्रगतिमा आचार्य बालकृष्णको निर्णायक योगदान छ। यसबारे हुनुपर्ने जति चर्चा भएको छैन भन्नेहरू पनि छन्।

रामदेव देशभक्ति, जनसेवा र समर्पणभावसहितका जाँगरिला योगी हु्न्। समाजमा उनका त्याग र योगदानहरू धेरै देखिएका छन्। यसैबाट उनले पर्याप्त जनविश्वास आर्जेका छन्। स्वामी रामदेव परनिर्भर र विभिन्न विकृति–विसङ्गतिले ग्रस्त लाखौँलाख जोगीहरूका लागि अनि जोगी नबन्न राजनीतिमा लागेका भोगी राजनेताहरूका लागि पनि इलमी र स्वाभिमानी जीवनको प्रेरणास्रोत
बन्न सक्छन्।

हामीलाई थाहा छ, हाम्रा महिमाशाली राजनेताहरूले जोगी बन्न राजनीति गरेका त हुँदै होइनन्। जोगी नबन्न राजनीति गरेका हाम्रा महान् राजनेताहरू पनि स्वामी रामदेवका जोगी हुनुबाहेकका अन्य सकारात्मक विशेषताहरूबाट किञ्चित प्रेरणा लिन त सक्छन् कि ? हुन त प्रेरणा लिनै पनि धेरथोर विवेक चाहिन्छ। संवेदनशीलता चाहिन्छ।

LEAVE A REPLY