एसईईको नतिजाले दिएको सन्देश



 

 

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गतवर्ष सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा गत शुक्रबार सार्वजनिक गरेको छ । ८४ वर्ष लामो इतिहास बोकेको एसएलसी परीक्षाको नाम परिवर्तन गरी गतवर्षदेखि एसईई राखिएको हो । अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्दै कक्षा १० को परीक्षाको मूल्यांकन लेटर गे्रडिङमा गरिन थालेको हो । विद्यालयको खस्कँदो स्तर सुधार्ने योजनाका साथ ग्रेडिङ प्रणाली शुरु गरिएको भनिए पनि विज्ञान, गणित, अंगे्रजीजस्ता विषयमा विद्यार्थी उत्तीर्ण प्रतिशत अति कमजोर देखिएको छ ।

विगतका वर्षमा पनि उल्लिखित विषयमा विद्यार्थी कमजोर रहेका थिए । यस वर्षको नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी गणितमा कमजोर देखिएका छन् ।
एसईई व्यवस्थाअनुसार ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले साधारणतर्फको कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । गणित मात्र होइन, अनिवार्य विषयका विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक अध्ययन, स्वास्थ्य र जनसंख्या अध्ययनजस्ता विषयमा पनि विद्यार्थी अति नै कमजोर देखिएका छन् । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायका जुनसुकै विषयमा भर्ना हुन डी प्लस ल्याउनुपर्ने प्रावधान छ । त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षा संकायको जुनसुकै विषय अध्ययन गर्न अंग्रेजीमा डी प्लस अनिवार्य गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक ३ लाख ८० हजार विद्यार्थी ग्रेड वृद्धि परीक्षाका लागि योग्य छन् । सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले यही वर्ष पुनः परीक्षा दिन पाउनेछन् ।

तर १ वर्षअगाडिदेखिको शिक्षक–विद्यार्थीको मेहनत, विद्यालयको वातावरण पक्कै पनि पुनः परीक्षा केन्द्रित हुनुहुँदैन । ग्रेडिङ प्रणाली आफैंमा राम्रो अवधारणा भए पनि समयअनुसार पाठ्यक्रम, पठनपाठन र मूल्यांकन कमजोर भएकाले समग्रमा नतिजा सन्तोषजनक नभएको विज्ञहरूको ठहर छ । यस्तो प्रणाली कार्यान्वयमा आएसँगै विद्यार्थीहरूमा नपढे पनि पास भइहालिन्छ नि भन्ने भावना बढेकाले नतिजा अपेक्षाअनुसारको नभएको शिक्षाविद्हरूको तर्क छ । समयसापेक्ष पाठ्यक्रम सुधार्दै सबै ग्रेडलाई पुनः परीक्षाको व्यवस्था अनिवार्य गरियो भने विद्यार्थी परीक्षाप्रति गम्भीर हुन्छन् । यससँगै विद्यालयले कक्षा १० अघिदेखि विद्यार्थीको स्तर मूल्यांकन गर्दै अनिवार्य र ऐच्छिक विषयमा विशेष कक्षा सञ्चालन गर्नु अपरिहार्य देखिन्छ । विद्यालयको अनुगमनका लागि खटिने अधिकारीहरूले पनि यस्तो कार्यमा निगरानी बढाउन जरुरी छ । साथै नपढे पनि पास भइहालिन्छ भन्ने विद्यार्थीको मानसिकता हटाउन शिक्षकहरूसहित सम्बन्धित पक्षहरूले ध्यान दिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्