गोरखामा युनिसेफको लापरबाही सामान सड्यो, भवन बनेन्



 

सन्तोष अधिकारी, गोरखा
गोरखा भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्न आएका सयौं संस्थामध्ये अहिले गोरखामा ६३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू क्रियाशील रहेको जिल्ला समन्वय समितिको ढड्डामा उल्लेख छ। अनेकौं संस्थामध्ये सबैले विश्वसनीय भनेको दातृसंस्था युनिसेफको काम नै लाजमर्दाे छ। सन् २०१६ मा निर्माण सम्पन्न गर्न भनी जिम्मा लिएको १२ वटा स्वास्थ्य संस्थामध्ये अहिलेसम्म युनिसेफले एउटा दर्बुङ स्वास्थ्य चौकी मात्र हस्तान्तरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कतिपय ठाउँमा करिब ६ महिना अघि निर्माण सामग्री लगेर थुपारेर छोडेपछि युनिसेफ फर्केर गएको छैन।

‘हाम्रोमा गत वर्षको सामान मंसिर १ गते ल्याएको रहेछ’, नाम्जुङ स्वास्थ्य चौकीकी प्रमुख लीला गुरुङले भनिन्– ‘सामान कुहिन थालेको छ। प्रिफेबको सामानहरू प्रत्यक्ष घाममा नराख्नुहोला भनेर त्यहीं लेखिरहेको छ। यहाँ त झन् घाममा नै राख्नुहोला भनेको जसरी ल्याएर अलपत्र छोडिदिएको छ।’ युनिसेफका कर्मचारीहरू भने यो सूचना आफूले दिन नमिल्ने भन्दै फरकफरक व्यक्तिमा सार्ने गरेका छन्।

मंसिरमा सामान छोडेदेखि युनिसेफका कर्मचारी कोही पनि नाम्जुङ स्वास्थ्य चौकी पुगेका छैनन्। ‘यहाँ सामान ल्याएको दिनदेखि युनिसेफको कोही यहाँ आएको छैन’, स्वास्थ्य चौकी प्रमुख लीला गुरुङले भनिन्– ‘यहाँ सामान अलपत्र पारेको छ। सामानहरू तितरबितर छ। सिमेन्ट घाम र पानीले बिग्रिसक्यो। युनिसेफ न स्वास्थ्य चौकीको सम्पर्कमा आउँछ न निर्माण समितिको सम्पर्कमा आउँछ। यहाँ त अब स्वास्थ्य चौकी बनाउने हो भने पनि यहाँ ल्याएको सामानले बनाउन नदिने निर्णयमा गाउँलेहरू पुगेका छन्।’

युनिसेफले जिल्लाको माछीखोला स्वास्थ्य चौकी, गुम्दा स्वास्थ्य चौकी, बारपाक स्वास्थ्य चौकी, लाप्राक स्वास्थ्य चौकी, छोप्राक स्वास्थ्य चौकी, आरूपोखरी स्वास्थ्य चौकी, फुजेल स्वास्थ्य चौकी, दर्बुङ स्वास्थ्य चौकी, बक्राङ स्वास्थ्य चौकी, तारानगर स्वास्थ्य चौकी, देउराली स्वास्थ्य चौकी र नाम्जुङ स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयले युनिसेफले निर्माण ढिलो गरेपछि पटकपटक काम गर्न नसक्ने हो भने सक्दिन समेत भनेको बताएको छ। ‘जिम्मा लिएको काम गर्न सक्दिन भने सक्दिन भने हुन्छ’, जिल्ला जनास्वास्थ्य कार्यालयका नानीबाबु दानीले भने– ‘जनस्वास्थ्यबाट हाकिम सापले नै युनिसेफलाई काम गर्न नसके सक्दिन भन अर्कालाई जिम्मा दिन्छौं भन्दा उनीहरूले निर्माण गर्ने हो भन्छन् तर समयमा काम गर्दैनन्।’ सन २०१६ को डिसेम्बरदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले युनिसेफलाई बैठक बोलाएर पटकपटक दबाब दिइरहेको दानीले बताए।

प्रतिक्रिया दिनुहोस्