राजपाका कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
बन्दको अवज्ञा गरेको भन्दै आइतबार राजविराजमा राजपाका कार्यकर्ताले एउटा सरकारी मोटरसाइकलमा आगजनी गरेका छन्। राजपाका कार्यकर्ताले स१ब ५२९ नम्बरको मोटरसाइकललाई स्थानीय गजेन्द्र चौकमा दिउँसो १ बजे रोकेर आगजनी गरेका हुन्। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

उक्त मोटरसाइकल डाकनेश्वरी नगरपालिका–१ कार्यालयको भएको र काम विशेषले सचिव तपेश्वरकुमार साह सदरमुकाम राजविराज आएको बेला राजपाका कार्यकर्ताले आगजनी गरेको बताइएको छ।

यता, संविधान संशोधनको माग गर्दै स्थानीय तह निर्वाचन विरोधी आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालले आइतबार परासी घटनाको विरोध भन्दै पुनः सप्तरी जिल्ला बन्दको आह्वान गरेको छ। बन्दका कारण आइतबार पनि यहाँबाट लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायातका साधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्थासमेत ठप्प भएका छन्।

बन्दको त्रासले अधिकांश वित्तीय संस्था तथा बैंकहरू पनि ठप्प हुँदा सेवाग्राही निराश भई फर्किएका छन्। राजपाका कार्यकर्ताले बिहानैदेखि सदरमुकाम राजविराजमा ठाउँठाउँमा टायर बाली प्रदर्शन गरिरहेका छन्।

यसैबीच सप्तरीको रायपुरमा यातायात बन्द गराउँदै हिँडेका राष्ट्रिय जनता पार्टीको केन्द्रीय सदस्य दिनेश यादव पक्राउ परेका छन्। पक्राउ परेका यादवलाई कठौनास्थित प्रहरी चौकीमा राखिएको राजपा सप्तरीका संयोजक सुनिलकुमार झाले जानकारी दिएका छन्।

संविधान संशोधन, जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या निर्धारण, मधेस आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, झूटा मुद्दा फिर्तालगायतका माग राखी राजपाले निर्वाचन विरोधी आन्दोलनमा कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्