१६ जनाको मेयरमा उम्मेदवारी



 

यमलाल भुसाल, बुटवल
राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिने र निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि रूपन्देहीमा बिनाअवरोध मनोनयन दर्ता भएको छ। मनोनयन दर्ताको दिन आइतबार रूपन्देहीमा उल्लासमय वातावरणमा मनोनयन दर्ता गरिएको दलहरूले प्रतिक्रिया दिएका छन्।

१ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह रहेको रूपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयर पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १९ वटा वडा रहेको उपमहानगरपालिकामा ९७ पदका लागि ४ सय ३९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भरतमणि पाण्डेले जानकारी दिनुभयो।

जसमध्ये नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा खेलराज पाण्डे, नेकपा एमालेको तर्फबाट शिवराज सुवेदी, फोरम लोकतान्त्रिकबाट लोकनाथ पाण्डेय, राप्रपाको तर्फबाट मेयरमा टीका पौडेल र उपमेयरमा रामबहादुर थापाले उम्मेदवारी दिनुभएको छ। राष्ट्रिय जनमोर्चाले मेयरमा ढुण्डीराज शर्मा र उपमेयरमा शिरोमणि जोशीलाई उम्मेदवार बनाएको छ।
नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, राष्ट्रिय जनमुक्ति पार्टीबाट जनक थापा तथा स्वतन्त्र रूपमा होमबहादुर गलामी, ऋषिराम काफ्ले, रामप्रसाद पोखरेल, शान्तवीर वज्राचार्य र गणेश उचैले नाम दर्ता गराएका छन्। बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्