‘सम्पदा सम्पत्ति हो’



 

काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले सम्पदा हाम्रो सम्पत्ति भएको बताउनुहुँदै यसको पुनर्निर्माणमा आफ्नो कार्यकालमा गर्ने योजना रहेका बताउनु भएको छ। नेपाल राष्ट्रिय खड्गी समाजले शनिबार छत्रपाटी पार्टी प्यालेसमा आयोजना गरेको एक कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो।
नेपालको सम्पदा अवलोकन गर्न पर्यटक आउने गरेको बताउनुहुँदै उहाँले सम्पदा र संस्कृतिलाई बचाइ राख्न सकेमा युवाहरूलाई रोजगारीको अवसर जुट्ने मात्र नभइ पर्यटन व्यवसायको विकास हुने बताउनुभयो। कार्यक्रममा व्यवस्थापिका संसद्का सदस्य र विशिष्ठ अतिथि जुठबहादुर खड्गीले उपमेयर हरिप्रभा खड्गी, कामपा २८ वडा अध्यक्ष भाइराम खड्गी र चन्द्रागिरी नगरपालिकाका वडा ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीलगायत विजयी सदस्यहरूलाई माला पहिराइ सम्मान गर्नुभएको थियो।

त्यसै गरी कार्यक्रममा समाजका कार्यवाहक अध्यक्षका साथै वरिष्ठ उपाध्यक्ष न्हुच्छेरत्न शाहीले उपमेयर हरिप्रभा खड्गी तथा वडाअध्यक्ष द्वयलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। विभिन्न स्थानबाट वडा सदस्यमा निर्वाचित जितेन्द्र शाही, रेणु शाही, देवेन्द्र खड्गी, प्रेमकृष्ण शाही, कुमार खड्गीलाई न्हुच्छेरत्न शाही र सभासद् खड्गीले संयुक्त रूपमा सम्मानपत्र प्रदान गर्नुभएको थियो।

त्यसरी नै उहाँहरूले निलकमल शाही, गणेशबहादुर शाही, शिव शाही, प्रेमकुमारी शाही, सजना शाही र अर्चिन शाहीलाई पनि सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। समाजका उपाध्यक्ष न्हुच्छेरत्न शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पश्चिमाञ्चल उपाध्यक्ष मोहनबहादुर शाहीले स्वागत गर्नुभएको थियो भने समाजका महासचिव नन्दकिशोर शाहीले समाजको गतिविधिबारे जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्