मनसुन आजबाट सक्रिय



 

काठमाडौं, (नेस)
गत साता भित्रिएको मनसुन आज सोमबार अपराह्नदेखि मुलुकको पूर्वी भेगबाट केही मात्रामा सक्रिय हुने भएको छ। हल्का वर्षासहितको प्रभाव मध्य भेगसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले यस वर्षको मनसुन गत जेठ २९ गते नेपाल भित्रिएको बताएको थियो। आज सोमबार साँझदेखि भने निरन्तर वर्षा नभए पनि कमजोर मनसुनको प्रभाव शुरू हुने महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो। ‘कमजोर मनसुन अब विस्तारै सक्रिय हुने क्रममा छ, यही हप्ताभित्रमा मुलुकका धेरै ठाउँमा निरन्तर वर्षा नभए पनि मौसम बललिएर हल्का वर्षा हुने संकेत विकास भइरहेको छ’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

पूर्वी मनसुनी वायुको तुलनामा पश्चिमी वायु केही बढी सक्रिय हुँदा मनसुन राम्रोसँग भित्रिन नसकेको महाशाखा प्रमुख डा. जगदिश कर्माचार्यले बताउनुभयो। यद्यपि दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको समय (यही असार १४ गते) सम्ममा मनसुन कति सक्रिय हुन्छ भनेर अहिले नै आंकलन गर्न नसकिने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्