यूनिसेफको लापरबाही : सामान सड्यो भवन बनेन्



सन्तोष अधिकारी,गोरखा ।

गोरखा भूकम्प पछि पुननिर्माणमा सहयोग गर्न आएका सयौँ संस्था मध्ये अहिले गोरखामा ६३ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु क्रियाशिल रहेको जिल्ला समन्वय समितीको ढड्डामा उल्लेख छ ।

अनेकौँ संस्था मध्ये सबैले विश्वसनिय भनेको दातृसंस्था यूनिसेफको काम नै लाजमर्दाे छ । उसले सन् २०१६ मा निर्माण सम्पन्न गर्न भनि जिम्मा लिएको १२ वटा स्वास्थ्य संस्था मध्ये अहिले सम्म यूनिसेफले एउटा दर्बुङ स्वास्थ्य चौकी मात्र हस्तान्तरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कतिपय ठाउँमा करिब ६ महिना अघि निर्माण सामग्री लगेर थुपारेर छोडेपछि यूनिसेफ फर्केर गएको छैन् ।

‘हाम्रोमा गत वर्षको सामान मंसिर १ गते ल्याएको रहेछ’ नाम्जुङ स्वास्थ्य चौकीकी प्रमुख लिला गुरुङ्गले भनिन् ‘सामान कुहिन थाल्या छ ।

प्रिफेबको सामानहरु प्रत्यक्ष घाममा नराख्नुहोला भनेर त्यहिँ लेखिरहेको छ । यहाँ त झन घाममा नै राख्नुहोला भनेको जसरी ल्याएर अलपत्र छोडिदिएको छ ।’

यूनिसेफका कर्मचारीहरु भने यो सूचना आफुले दिन नमिल्ने भन्दै फरक फरक ब्यक्तिमा सार्ने गरेका छन् ।

मंसिरमा सामान छोडे देखि यूनिसेफका कर्मचारी कोहीपनि नाम्जुङ स्वास्थ्य चौकी पुगेका छैनन् । ‘यहाँ सामान ल्याएको दिन देखि यूनिसेफको कोही यहाँ आएको छैन’ स्वास्थ्य चौकी प्रमुख लिला गुरुङ्गले भनिन् ‘यहाँ सामान अलपत्र पारेको छ । सामानहरु तितरवितर छ ।

सिमेन्ट घाम र पानीले विक्रि सक्यो । यूनिसेफ न स्वास्थ्य चौकीको सम्पर्कमा आउँछ न निर्माण समितीको सम्पर्कमा आउँछ । यहाँ त अब स्वास्थ्य चौकी बनाउने हो भने पनि यहाँ ल्याएको सामानले बनाउन नदिने निर्णयमा गाउँलेहरु पुगेका छन् ।’

यूनिसेफले जिल्लाको माछिखोला स्वास्थ्य चौकी, गुम्दा स्वास्थ्य चौकी, बारपाक स्वास्थ्य चौकी, लाप्राक स्वास्थ्य चौकी, छोप्राक स्वास्थ्य चौकी, आरुपोखरी स्वास्थ्य चौकी, फुजेल स्वास्थ्य चौकी, दर्बुङ स्वास्थ्य चौकी, तारानगर स्वास्थ्य चौकी , देउराली स्वास्थ्य चौकी र नाम्जुङ स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले यूनिसेफले निर्माण ढिलो गरेपछि पटक पटक काम गर्न नसक्ने हो भने सक्दिन समेत भनेको बताएको छ ।

‘जिम्मा लिएको काम गर्न सक्दिन भने सक्दिन भने हुन्छ’ जिल्ला जनास्वास्थ्य कार्यालयका नानीबाबु दानीले भने ‘जनास्वास्थ्य बाट हाकीम सापले नै यूनिसेफलाई काम गर्न नसके सक्दिन भन अर्कालाई जिम्मा दिन्छौँ भन्दा उनीहरुले निर्माण गर्ने हो भन्छन् तर समयमा काम गर्दैनन् ।’

सन २०१६ को डिसेम्बर देखि जिल्ला जनास्वास्थ्य कार्यालयले यूनिसेफलाई बैठक बोलाएर पटक पटक दबाब दिइरहेको दानीले बताए । नाम्जुङ स्वास्थ्य चौकीले अहिले पुरानै जिर्ण भवनबाट सेवा दिइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्