“राजपाको आन्दोलन कलेजोको क्यान्सर निको पार्न पैतालामा तेल लाए जस्तो”



 

उपेन्द्र यादव
अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

सस रकारले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउनका लागि तेस्रो पटक निर्वाचनको मिति सार्दै आगामी असोज २ गतेका लागि घोषणा गरेको छ। तर, राजपा भने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको छ। राजपाबाहेक अन्य मधेसवादी दलहरू भने निर्वाचनमा सहभागी भएका छन्। मधेस आन्दोलनको क्रममा संघीय गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल अहिले निर्वाचनमा भाग लिएको छ। संघीय समाजवादी फोरम निर्वाचनमा सहभागी भएकोप्रति राजपाले असन्तुष्टि जनाउँदै आएको छ।

फोरम नेपालले जनताको मतको सम्मान गर्न र देशमा राजनीतिक स्थायित्वका लागि निर्वाचनमा सहभागी भएको बताएको छ। अहिलेको आवश्यकता आन्दोलन भन्दा पनि जनताको जनमतको सम्मान गर्ने उद्देश्यसहित निर्वाचनमा होमिएको फोरम नेपालले आगामी दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम ल्याउने दाबी गरेको छ। यसै विषयमा राजपाको आन्दोलन, फोरम नेपालले खेल्ने भूमिका, संविधान संशोधन र आगामी निर्वाचनलगायतको विषयमा केन्द्रित रहेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानीका मुख्य अंशहरूः

 

अहिलेको राजनीतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?

राजनीतिक नेताहरूले सत्ता प्रप्तिलाई राजनीतिक सफलता ठानेर अगाडि बढेकाले राजनीतिक अस्थिरता भयो। ९⁄९ महिनामा सरकार बदल्ने काम भइरहेको छ। अर्कोतर्फ सबै कुरा भागवण्डा भयो। जुन कुरा पनि भागवण्डामा टुंगो लाग्न थाल्यो। राजनीतिक नियुक्ति, न्यायाधीश नियुक्तिलगायतका सबै ठाउँमा भागवण्डा भयो। जुन लोकतन्त्रका लागि अत्यन्त घातक छ। अब हुँदाहुँदा चुनावमा पनि भागवण्डा भयो। यो नेपाली राजनीतिको विकृति र विसंगतिले राजनीतिक अस्थिरता ल्याएको छ। कांग्रेस र कम्युनिस्टले राजनीतिक मूल्य र मान्यता नै बुझेनन्। राजनीतिक अस्थिरता रोक्न सकेनन्। व्यक्ति र गुटको राजनीतिमा रमाउने काम गरे। यसैको परिणाम हो, निर्धारित समयमा निर्वाचन गराउन नसक्नु। टाउको गनेर जबरजस्ती जारी भएको संविधानले पनि अर्को ठूलो समस्या थपेको छ।

संविधान संशोधन किन हुन सकेन ?

संविधान संशोधन गरेर पुनर्लेखन गरेर अघि बढेको भए यो मुलुकको यो दुर्दशा हुने थएन। हामीले पटक–पटक भन्यौं। मुख्य दलहरूले सुनेनन्। नेपालको राजनीति अनिश्चित दिशातर्फ गएको छ। मुलुकमा कुनै न कुनै बेला दुर्घटना हुन सक्छ। पटक–पटक संविधान संशोधन गर्नुपर्यो भन्दा पनि ठूला दलहरूले सुन्दै नसुनेको जस्तो गरिरहेका छन्।

दुर्घटनाको संकेत गर्नुभयो, कस्तो दुर्घटना ?

राजनीतिक दुर्घटना हो। संघीयता र गणतन्त्र नै धरापमा पर्दै छन्। परिवर्तन नै धरापमा पर्ने अवस्थामा छ। १७ सालमा पनि दुर्घटना भएको हो। सैनिक शासन त नआउला। तर, लक्षणहरू मुलुकमा देखा परिसक्यो।

संविधान संशोधनमा बाधक को हो त ?

संविधान जारी गर्न एक हुने दलहरू नै बाधक हुन्।

समस्या समाधानका लागि सत्तारुढ दल कांग्रेस र माओवादीले केन्द्रले पहल त गरेको हो नि होइन ?

पहल गर्नु एउटा कुरा हो। परिणाम ल्याउनु अर्को कुरा हो। तीन दल मिलेर सत्ता बाड्न हुने। संविधान जारी गर्न हुने । अनि तीन दल मिलेर संविधान संशोधन गर्न किन नहुने ?

निर्वाचनअघि नै संविधान संशोधन सम्भव होला ?

संविधान संशोधन हुनुपर्छ। नत्र मुलुक झन् अराजक मोडतर्फ जान्छ। तत्काल सम्भव नभए संकट बढ्दै जान्छ।

राजपा र तपाईको पार्टी एउटै गठबन्धनमा हुनुहुन्थ्यो तर तपार्इं आन्दोलन छोडेर हिँड्नु भो भन्ने आरोप छ नि ?

–आरोप–प्रत्यारोपको विषय हो। एकता, सहमति र सहकार्य देशको आवश्यकता हो। यस्तो अवस्थामा घाउ कोट्याउन जरुरी छैन। फोहरलाई कोट्याउन हुँदैन। हिजोको वास्तविकता थियो त्यो। राजपाले आन्दोलनको बाटो लियो। हामीले चुनावलाई संघर्षको रूपमा लिएर जनतामा मतमार्फत् ब्यालेटको माध्यबाट विरोधी शक्तिलाई पराजित गर्ने बाटो अपनाएका छौं। कोही साथीहरू सडक तताएर निर्वाचन हुन नदिने सोचमा हुनुहुन्छ। हामी जनताको मतको सम्मान गर्नका लागि निर्वाचनमा सहभागी भएका हौं। हामीले चुनावलाई संघर्षका रूपमा उपयोग गरेका छौं। हामी त भन्दै पनि आएका छौं बुलेटको जवाफ ब्यालेटले दिने। जब ब्यालेटबाट हुँदैन अनि संघर्ष हुन्छ।

राजपाले निर्वाचनको विरुद्ध घोषणा गरेको आन्दोलन समस्याको समाधान हो त ?

क्यान्सर कलेजोमा छ। पैतालामा तेल लगाएको जस्तो कुरा भयो। समस्या राजनीतिक प्रणाली र संविधानमा छ। त्यहाँ हल गर्नुपर्यो नि।

राजपाको सहमतिबिना त समस्या झन् बल्झिने पो देखियो त ?

असहज परिस्थति निर्माण गर्ने काम सरकारले गरेको हो। सहज बनाउने काम पनि सरकारको नै हो।

मधेसमा धेरै आन्दोलन भइसक्यो, साँच्चिकै मधेसका जनता के चाहन्छन् ?

मधेसका जनता आन्तरिक उपनिवेशवादीबाट मुक्त हुन चाहन्छन्। स्वायत्त र सुशासन चाहन्छन्। राज्य सत्ताबाट अपमान र विभेद सहनुपरेको छ। यसबाट मुक्ति चाहन्छन्। अवसरमा समानताको अधिकार चाहन्छन्। भाषा र संस्कृतिको पहिचान चाहन्छन्। दास भएर बाँच्न चाहँदैनन्। मधेसका जनता २ सय वर्षदेखि शासित भएका छन्। अब उन्मुक्ति चाहन्छन्।
मधेसवादी दलहरूले हरेक आन्दोलनलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाए भन्ने आरोप छ नि ?
पहाडका मान्छे नि ? उनीहरूले कसलाई भर्याङ बनाए त ?

अहिले राष्ट्रवाद र राष्ट्रघातको बहस चर्किएका छ नि ?

दिउँसो भारतलाई गाली गर्ने, राति भारतकै हन्डी खाने। त्यसलाई के भन्ने ? भारतकै हन्डी खानु छ बिहान बेलुका अनि दिउँसो गाली गर्ने। यो कुन देश हो ?

एमालेले अगाडि सारेको राष्ट्रवादकै कारण स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अग्रता लिएको देखिन्छ नि ?
उहाँहरूले त भन्नुहुन्छ– उहाँ मेरा पूर्वजहरू कुमाउँ गढवाल हुँदै आसाममा पुगेर फर्केर आउनुभएको हो। त्यो पनि त एमालेले भन्दै आएको छ कुनै प्रसंगमा। नेपालमा ब्राह्मण जाति करिब–करिब सबै भारतबाट आएका त हुन् नि। अहिले पुराण लगाएर वाचन गराउँदा उत्तराखण्ड भारत वर्षे भनेर मन्त्र पढाउँदैनन् ? मन्त्र पढाउने को त ? ती चाहिँ खाटी नेपाली हुने। जो यहाँका मिथिला, कोचिला, जनकपुर र कोलियाका सन्तानहरू विदेशी हुने ? अनि भारतको कन्याकुमारी, गढवाल चाहिँ नेपाली हुने। होइन यो कस्तो खालको परिभाषा हो। मधेसको मिथिलाको इतिहास नेपालको इतिहासभन्दा १ हजार वर्ष पुरानो हो। शाक्य गणराज्यको इतिहास नेपालको इतिहासभन्दा १ हजार वर्ष पुरानो हो। अनि भारतको कान्याकुल, गढवाल, बनारस र राजस्थानबाट आउने स्वदेशी हुने। विदेशबाट आएपछि स्वदेशी हुन्छ। आफ्नै धर्तीपुत्र विदेशी हुन्छ ? यो परिभाषा कहाँबाट आयो। चुनाव भन्ने कुरा बेग्लै हो। अरू एजेण्डा नभएर एमालेले यो एजेण्डा बनाएको पो हो कि ?

पहिलो चरणको निर्वाचनमा यहाँहरूलाई अपेक्षाकृत नतिजा आएन। अबको निर्वाचनमा के होला ?

हाम्रो नयाँ पार्टी हो। पहाडमा पहिलोपटक छोटो समयमा निर्वाचनमा भाग लिएका हौं। तर, पनि जनताले सम्मान गरेका छन्। यो ठूलो कुरो हो। अब हुने निर्वाचनमा हाम्रो पार्टीले राम्रो परिणाम ल्याउँछ।

मुद्दा एउटै भए पनि राजपा र तपाईंको पार्टी फरक–फरक बाटो हिँडे किन ?

–होइन, हाम्रो बीचमा विचार मिल्दैनथ्यो। अनुहार मिल्ने तर विचार नमिल्ने अवस्था थियो। मुद्दा र अनुहार मिलेको तर विचार, सिद्धान्त र नीति नमिलेको। विचार नमिल्दा अलग–अलग भएको हो।

एकै ठाउँमा बस्दा सबै मिल्ने तर छुट्टिने वित्तिकै गालीगलौजमा उत्रिने किन हुन्छ ?

–कुनै पार्टी र गठबन्धनबाट अलग हुने वित्तिकै गालीगलोज गर्नु वा आरोप–प्रत्यारोप गर्नु कुसंस्कारको परिचय हो। जो कु–संस्कार र संस्कृतिबाट हुर्किएका छन्। जसको चेतना नै गलत छ। उनीहरूले त्यही गर्ने हो। त्यसमा मैले दुःख मान्नुपर्ने कुनै कारण नै छैन। गैरराजनीतिक ढंगले गालीगलोज गरेर कसैलाई आत्मरती हुन्छ भने मैले किन उसलाई दुःखित बनाइदिने ?

चुनाव प्रचारको क्रममा तपाईंको पार्टीमाथि लक्षित गरेर विरोधको कार्यक्रम शुरू भएको हो ?

–होइन हाम्रो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको पुष्टि हुन्छ। हाम्रो पार्टीविरुद्ध षड्यन्त्र र अस्त्रको रूपमा प्रयोग भइरहनुभएको छ। उहाँहरूलाई थाहा छैन कि के गरिरहेको छु। उहाँहरू (राजपा) भ्रमित भएर हाम्रोविरुद्धमा प्रयोग भइरहेको छ। यो उहाँहरूको हितमा पनि छैन। स्वयं यसले उहाँहरूलाई पनि घाटा गर्नेछ। यस्ता उशृङ्खल गतिविधि मधेस र देशको हितमा छ्रैन।

कताबाट परिचालित भएका हुन् त ?

कतिपय पर्दा पछाडि, कतिपय पर्दा अगाडिबाट खेलिरहेका छन्। जसले मधेसी जनताको हित चाहँदैन। जसले मेधसलाई उपनिवेश बनाई नै राख्न चाहन्छ। यिनै शक्तिबाट परिचालित छन्।

यो शक्ति स्वदेशी हो कि विदेशी हो ?

अब अहिले स्वदेशी शक्तिकै बढी हात देखिन्छ। विदेशी शक्तिको खासै प्रभाव देखिँदैन। अहिले त मधेसविरोधी शक्तिहरूले अर्धचेतनरूपमा नेता तथा कार्यकर्तालाई मधेसको विरुद्धमा मधेसीलाई नै दुरुपयोग गरिरहेका छन्। यो त आसामतिर जाँदा जंगली हात्ती समाप्त पार्ने प्रयास जस्तै हो। जंगलको हात्ती त बलियो र बदमास हुन्छ। त्यसलाई समाप्त पार्न सोझै मानिस जान सक्दैनन्। त्यसलाई समात्नका लागि घरमा पालेको हात्ती लगिन्छ। पालेको हात्तीलाई त्यसमा मिसाइन्छ। त्यो हात्तीले विस्तारै–विस्तारै डोहोर्याउँदै–डोहोर्याउँदै जंगलको हात्तीलाई फन्दामा पार्छ। अनि समात्छ। अहिलेको मधेसको अवस्था भनेको पनि त्यही हो।

लोकतन्त्रमा जनताको मत सबैभन्दा ठूलो हुन्छ। राजपालाई निर्वाचनमा जान के को डर ?

–राजनीतिमा सबैभन्दा ठूलो जनताको लोकतन्त्र हो। जनताको लोकतन्त्र भनेको स्थानीय तहको अभ्यास हो। त्यसलाई कुनै पनि पार्टीले उपेक्षा गर्न सक्दैन। अहिले गलत सोच, गलत चिन्तन र उशृङ्खलताका कारण हाम्रो पार्टीमाथि षड्यन्त्रको प्रयास भइरहेको छ। निर्वाचनले नै जनतालाई अधिकार सम्पन्न बनाउने हो। उहाँहरू (राजपा) को समस्या हो। पार्टी नै दर्ता छैन। चुनाव चिह्न पाउनुभएको छैन। राजपामा चुनाव लड्ने नेतृत्वको पनि अभाव छ। ब्रह्माजीले आएर ६ वटा टाउको त मिलाइदिए। तर, भावना र विचार जोड्न छुटेछ। अनि आपसी एकता नै छैन। त्यसको पनि परिणाम हो। गलत निर्णय र गलत कार्यमा जोड दिनुपर्ने यो पनि बाध्यता होला।

राजपा त ठूलो पार्टी बनिसक्यो चुनाव लड्ने नेता छैनन् भन्न मिल्छ र ?

–चुनाव जित्ने व्यक्तिको अभाव रहेको देखिन्छ। उहाँहरूमा निर्वाचनमा गएर जनताको मत लिनेभन्दा पनि निर्वाचनमा जाँदा हारिने ठूलो त्रास छ। त्रासको मानसिकताको उपज हो। प्रतिशोध र घृणा बढी देखिन्छ। जस्तो हाम्रो पार्टी कार्यालयमा आक्रमण गर्नु भनेको हामीसँगको लडाइँ होइन नि। लडाइँ त राज्यसँग हो । राज्यसँग लड्नुको सट्टा हामीसँगै लड्न खोज्नु भनेको घृणाको मानसिकताको उपज नै हो। दूषित खालको मानसिकताले आन्दोलन धान्दैन। यस्तो गलत नियतबाट आन्दोलनलाई गन्तव्यमा पुर्याउन सकिँदैन।

तपाईं आफैंले पनि विगतमा आन्दोलनको नेतृत्व गर्नुभयो। तपाईं आन्दोलन छोडेर निर्वाचनमा आउनुभएको छ। फेरी राजपाले आन्दोलनको घोषणा गरेको छ ?

–अधिकार प्राप्तिका लागि राज्यसँग लडाइँ हुन्छ। राज्यले सहन सक्दैन तब गोली चलाउँछ। त्यसको जवाफ दिन ब्यालेटको राजनीति गर्न सकिन्छ भनेर चुनावमा आएका हौं। विगतमा जनआन्दोलन, सशस्त्र आन्दोलन र मधेस आन्दोलनले देशमा परिवर्तन ल्याएको छ। संघीयता, गणतन्त्र, पहिचान र समावेशितालगायतकाको कुराहरूलाई स्थापित गरेको छ। त्यसलाई जोगाउनुपर्छ। यो तब जोगिन्छ स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचित प्रतिनिधि भएको सरकार हुन्छ।

दोस्रो भनेको प्राप्त अधिकारलाई जोगाउँदै बाँकी अधिकार प्राप्त गर्न लाग्ने हो। जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था, समान भाषिक अधिकार, सुशासन स्वायत्तता, सामाजिक न्याय र विभेदको अन्त्य जस्ता महत्त्वपूर्ण सवाल जोडिएका छन्। चुनाव त बीचको माध्यम मात्र हो। चुनावबाट शक्ति आर्जन गर्ने, आफ्नो मुद्दालाई जन अनुमोदित गराउने, बाँकी अधिकार प्राप्तिका लागि अगाडि बढ्ने हो। तेस्रो भनेको हाम्रो मुलुक संसारको कम विकसित मुलुक हो। गरिबी, अभाव, भोकमरी, अशिक्षा र बेरोजगारी व्याप्त छ। यो समस्या समाधान गर्न जबसम्म विकास र निर्माण हुँदैन तबसम्म आर्थिक समृद्धि र गरिबी अन्त्य हुँदैन। गरिबी, अभाव र शिक्षाको अभाव हुनुभनेको मान्छेले नारकीय जीवन बिताउनु हो।
त्यसबाट मुक्ति दिलाउनका लागि पनि निर्वाचन आवश्यक छ। गाउँपालिका र नगरपालिकाको विकास गर्नको पनि चुनावको खाँचो छ। यसबाट जनता समृद्धितर्फ जान्छन्। समृद्धि भयो भने शान्ति हुन्छ। शान्तिका लागि समृद्धि चाहिन्छ। समृद्धिका लागि शान्ति चाहिन्छ। यी एक आपसमा पुरक हुन्। यसलाई सामना गरेर अगाडि बढनुपर्छ।

प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्ने सरकारको निर्णयलाई कसरी लिनुभएको छ ?

–यो निर्णय निकै गलत छ। राष्ट्र र जनताको हितमा छैन। राष्ट्रिय एकताको भावनाविपरीत छन्। यसले नेपाल दुई राष्ट्र हो भन्ने कुरा स्थापित गर्छ। एउटा मधेस, अर्को पहाड र हिमाल भन्ने देखाउँछ। यो राष्ट्रिय एकताको दृष्टिकोणले अत्यन्त खतरनाक छ।

निर्वाचन सार्ने यो योजनबद्धरूपमा भएको निर्णय हो कि राजपा मनाउने कोशिस हो ?

–कोही मान्छे बहुलाएका छन् र यहाँ ? सरकारमा बस्ने कोही बौलायो भने अचानक भयो भन्नुहुन्छ। त्यस्तो त छैन। त्यसले योजनाबद्ध नै होला। सरकारको निर्णयले राष्ट्रिय एकताप्रति गम्भीर प्रश्न खडा गरिदिन्छ र मधेसमा मधेसी जनताको भावनामाथि कुठराघात गर्ने काम गरेको छ।

सरकारले निर्वाचनको मिति सारेपछि राजपाले आन्दोलनको थप घोषणा गर्यो नि ?

रोग एउटा छ। समस्या अन्यत्रै छ। अनि समाधान कसरी हुन्छ ? जुन रोग हो उसैको उपचार गर्नुपर्यो नि। तीन पटक लगातार निर्वाचनको मिति सारियो फाइदा के भयो ? सरकारले फाइदा नहुने काम किन गर्नु ? राजपालाई एउटै चुनाव चिह्न र दल दर्ता गर्ने अवसर दिएको भए हुन्थ्यो नि ? यो निर्वाचन सार्नुभन्दा त्यो काम गरेको भए हुन्थ्यो नि । त्यो काम किन भएन ? राज्यको दायित्व बिर्सने काम भयो।

असोज २ गते पनि निर्वाचन होला कि नहोला ?

–असोज २ गतेसम्म आइपुग्दा मुलुकमा धेरै परिवर्तन आइसकेको हुन्छ। वागमतीको पानी बगेर धेरै टाढा पुगिसकेको हुन्छ। निश्चिततालाई अनिश्चिततातर्फ धकेल्नु मूर्खता हो। यो राजनीतिकरूपमा अपरिपक्वता हो।

संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय तहको निर्वाचनसहित प्रदेश र केन्द्रको पनि निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था छ नि ?

–संविधान जनताका लागि हो। जनता संविधानका लागि होइन। संविधान देश र जनताका लागि हो। यस्ता संविधान नेपालमा कति आए कति गए। यो सातौं संविधान हो। अहिलेको संविधान सच्याइएन भने आठौं संविधान बन्ला। जनताले बनाउने हो। यदी सरकारले सच्याउँदैन भने विद्रोह हुन्छ। पहाडबाट झरेको खोलालाई कति दिन थुनेर राख्न सक्नुहुन्छ ? एक दिन त तोडेर भत्काएर जान्छ।

यसको अर्थ तपाईंको पार्टी पनि पुनः आन्दोलनमै जाने हो ?

अन्तिममाा संघर्षमा नै आइपुग्छ। राजनीतिक क्रान्ति र विद्रोह नापतौल गरेर हुँदैन। मिटर र किलोले नापेर हुँदैन। लम्बाई वा चौडाई नापेर क्रान्ति हुँदैन। विद्रोहले आफ्नो गति र बाटो आफैं बनाउँछ।

मधेसमा सीके राउतको गतिविधिका कारण पनि धेरै चिन्ता व्यक्त भएको छ नि ?

मधेसमा सीके राउतको भन्दा पनि बढी चिन्ता सिंहदरबारको कुर्सीमा बसेर शासन गर्नेहरूको कारण थपिएको छ। जसले मुलुकलाई बर्बाद गर्दै छन्, त्यसप्रति चिन्ता छ। सिंहदरबारमा बसेर गलत काम गर्दा त्यसले मुलुकलाई हित गर्दैन। अहिले २ नम्बर प्रदेशको निर्वाचनको मिति सिंहदरबारमा बस्नेले सारेको हो। यो देश र जनताको हितमा छैन। सीके राउतबाट राष्ट्रिय एकतामा खलल पुग्छ। एकतामा अनेकतालाई यसले कमजोर बनाउँछ। कमजोर बनाउने प्रवृत्तिलाई प्रोत्साहन गर्छ।

अहिलेको सरकारसँग तपाईंको अपेक्षा के छ ?

–मुलुकलाई बर्बाद नगरौं। धेरै बर्बाद भएको छ। बर्बादी हुनबाट रोक्न सक्छन् कि भन्ने आशाचाहिँ सफल होलाजस्तो देखिँदैन। राष्ट्रिय हितका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गर्नु नै राष्ट्रको हितमा छ। प्रतिगमनको खतरा त्यसैले हटाउँछ। वर्तमान संविधानलाई पुनर्लेखन र संशोधन गरेर सबै नेपालीको संविधान बनाउनुपर्छ। गोराको मात्र होइन कालाको पनि संविधान बनाउनुपर्छ। उत्तर मात्र होइन दक्षिणको पनि संविधान बन्नुपर्छ। पूर्वको मात्र होइन पश्चिमको पनि संविधान बन्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्