मानव अस्तित्वको प्रश्न



 

ना·ो छालीले जेलिएको मानवरूपी यो जात कुलिनको जहानियाँ कुरूपमा केन्द्रीय र्यापले अरू जीवको अस्तित्वमाथि आफ्नो शासन र मालिकीय शासकरूपी अनुहारले ऐजेरु जस्तै घिनलाग्दो गरी थ्याच्छ बसेको छ।

एकमुखे अनुहारलाई पाँच ज्ञानेन्द्रीय अंगको मामुली निर्देशमा भ्रामक र भ्रष्ट चरित्रले एकसे एक संसारलाई आहुती दिँदै अर्का प्राणीविरुद्ध होमिएको छ। बस्तुको, रूपमा कतै नभेटिने तिनै मिथक र तथ्यगत आधारविनाका तत्त्वहरू जस्तै धर्म, पैसा, राज्य, ठूला कर्पोरेसन, संविधान, मानवअधिकार यी तत्त्व समयक्रममा यति शक्तिशाली भइदियो कि त्यसमा ठूलो संख्यामा मानवहरूले विश्वास गर्न थाले। त्यसले गर्दा अर्बौं संख्या हुँदा पनि मानवहरूबीच एक अर्कामा लचिलो सहकार्य र सहयोग सम्भव भयो जुन अन्य प्रजातिमा सम्भव भएन। लाखौं करोडौंको संख्याका मानववीच सम्भव हुने सहकार्यको कारण एकल रूपमा अन्य जनावरभन्दा निरीह र कमजोर भए तापनि सामूहिक रूपमा मानव प्रजातिले विकासक्रममा सबैलाई पछि पारिदियो। एकापसमा सहकार्य अन्य प्रजातिहरूमा पनि नहुने होइन।

मौरी वा कमिलाले आफ्नो प्रजातिमा मिलेर काम गर्दछन्। चिम्पान्जी वा ब्वाँसोले आफ्नो समूहमा मिलेर शिकार गर्दछन्। तर, उनीहरू सीमित संख्यामा मात्रै मिलेर बस्दछन्। उनीहरूले पनि आफूमाथि आइलाग्ने खतराको सूचना एकआपसमा दिने गर्दछन्। संवाद गर्छन्। तर, त्यस्तो संवादमा वस्तुगत तथ्य मात्रै हुन्छ, मानव समाजको जस्तो कथा हुँदैन। चिम्पान्जीको संसारमा बाघ हुन्छ तर, लक्ष्मीको बहानका रूपमा हुँदैन। त्यहाँ मुसा भए तापनि त्यसमा कल्पनाको गणेश भगवान चढ्दैनन्। कामदार मौरीले मजदुर युनियन बनाउँदैनन् र रानी मौरीको विरुद्ध गणतन्त्रको माग पनि गर्दैनन्। उनीहरूको संसारमा सबैले विश्वास गर्न खालको मिथक नभएको हुनाले मानव डीएनएसँग ९९ प्रतिशत मिल्ने डीएनए बोकेका चिम्पान्जीहरू ५० भन्दा बढी संख्यामा भएमा एकआपसमा लडाइँ गर्न थाल्दछन्। तर, अर्बौं संख्यामा भए पनि मानवहरू एउटै धर्मको नियममा बाँधिएर बस्छन्। करोडौं संख्याका मानवहरू एउटै राज्यको नियम कानुन मानेर बस्छन्। आफूले मेहनत गरेर कमाएको पैसाको कर तिर्छन्। अन्य जनावरहरूको संसारमा पैसा अर्थहीन छ, तर विश्वभर भएका सबै मानवले पैसालाई औधि माया गर्छन्। धेरै मान्छेहरू मानवले गहुँ वा गाईलाई घरपालुवा बनायो भन्छन् त्यसो होइन, बरु गहुँ वा गाईले गर्दा मानव घरपालुवा भयो। कृषि, क्रान्ति मानव इतिहासको सबैभन्दा ठूलो धोका थियो र छ पनि। त्यही अद्भुत क्षमताका कारण पृथ्वीमा धेरै पछि आएको मानवले शहर बनायो, चिम्पान्जीले सकेनन्। त्यसैले त आज मानव निर्मित शहरको चिडियाखानामा मान्छेका मनोरञ्जनको साधन बनेर चिम्पान्जी जेलिएको छ।

कुनै बेला अफ्रिकाको घना जंगलमा निरीह जीवन बिताएको एउटा प्रजाति आज अथाह शक्ति आर्जन गरेर सिंगो पृथ्वीको मालिक बन्न पुगेको छ। तर, त्यसका पछाडि यस पृथ्वीमा रहेका अन्य प्रजातिको पीडा र वेदना लुकेका छन्। त्यसभित्र प्रकृतिको व्यापक दोहनको मूल्य छ। राष्ट्र वा राष्ट्रवाद हाम्रो कल्पनाको उपज हो। तर, त्योसँग जोडिएको भूगोल वा जनता वस्तुगत सत्य हो। त्यस्तै पैसा बनाइने कागज वा सिक्कामा प्रयोग हुने धातु वस्तुगत यथार्थ हो तर त्योसँगै जोडिएको मूल्य भने मानव निर्मित भ्रम वा विश्वास। मानव बाहेकका जनावरहरूको संसारमा एउटा मात्रै सत्य हुन्छ, वस्तुगत सत्य। तर, मानव समाजमा वस्तुगत सत्यसँगै कल्पनिक यथार्थ पनि हुन्छ र ठूलो संख्याका मानवले त्यसलाई मानेपछि त्यो कुरा भौतिक रूपमा नभए पनि अन्तर वस्तुगत सत्य बन्छ।

आज कसैले पनि खोज्दा नभेटिने धर्म, राज्य, पैसा, मानवअधिकार, नियम कानुन जस्ता काल्पनिक कुरा छैनन् भन्दैनन् बरु सबैले तिनलाई विश्वास गर्छन्। यी मानव निर्मित अवधारणाहरू वस्तुगत यथार्थसँग यसरी जेलिएका छन् कि त्यसको अस्वीकार गर्ने अवस्था नै छैन्। यस्तै भ्रमहरूको निरन्तर आविष्कार र प्रयोगले मानव प्रजातिलाई अन्य प्रजातिभन्दा फरक बनायो। एक केसरी केरा बोकेर बसेको चिम्पान्जीलाई अर्को चिम्पान्जीले पैसा दिन्छु, केरा देऊ भनेर फकाउँदा होस् या तिमीले बोकेको केरा ऊ त्यहाँको ढुंगामा लगेर नचढाएमा तिमी मरेपछि स्वर्ग जान पाउँदैनौं भनेर डरधम्की देखाउँदा होस् तर उसले वास्ता नै गर्दैन। न त केरा नै दिन्छ। किनभने उसको नजरमा ढुंगा भनेको भौतिक वस्तु मात्रै हो। तर, मानवको अदभुत क्षमता के भइदियो भने उसले प्रत्येक ढुंगामा कथा बुन्न सक्छ र आफूजस्तै अरूको विश्वास जितेर त्यसमा ढोगाउन, पुजाउन र ढुंगाका नाममा आफूसँग भएका प्रिय वस्तुहरूको त्याग गराउन सक्छ। कागजको टुक्रामा मूल्यको काल्पनिक विश्वास भरेर आफूजस्तै अरूलाई दिनभरि काममा जोताउन सक्छ। अपरिचित देश, फरक भाषा र संस्कृति भएको ठाउँमा गए पनि कागजको टुक्राको भरमा पेट पाल्न सक्छ, बाँच्न सक्छ। पृथ्वीको मालिक बनेको मानव यहाँको प्रकृतिका लागि ठूलो आतंक हो। अहिलेसम्म जति नै प्रगति गरे तापनि मानव असन्तुष्टि चुलिएकै छ। यति लामो यात्रा तय गरेर यहाँ आएपछि अबको मानव गन्तव्य कता हो ? वास्तवमा कसैलाई थाहा छैन। यति धेरै मानवशक्ति केतका लागि प्रयोग हुन्छ ? आखिर मानव के चाहिरहेको छ ? के बन्न खोजिरहेको छ। यी प्रश्न सधैं रहिरहनेछन।

– सोमनाथ खनाल, अर्घाखाँची (हाल, काठमाडौं)

सरकारी सम्पत्तिको दुरुपयोग
जिल्ला समन्वय समिति चितवनले आफ्नो सरकारी भवन निजी कलेज सञ्चालन गर्न दिएको छ। २०७१ चैत्र १५ गते दुई वर्षका लागि खेमबहादुर दर्जीलाई गंगाराम कलेज सञ्चालन गर्न उक्त भवन दिइएको छ। तत्कालीन स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले १० कोठासहितको भवन प्रयोजन नखुलाई उक्त भवन भाडामा दिएका थिए। अहिलेसम्म उक्त कलेजले भाडा लिएको पनि सुनिएको छैन। मनलाग्दी रूपमा सरकारी सम्पत्तिको दोहन भइरहेको छ। यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।

– चुरामणि शर्मा, चितवन

प्रदर्शनलाई मात्रै हो ट्राफिक बत्ती ?
एक जना उभिनु नपर्ने चोकमा कम्तीमा तीनजना ट्राफिक उभिन थालेका छन्। सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्दा ट्राफिकलाई टाउको दुखाइ बनेको देखिन्छ। अन्य मुलुकका राजधानी एक दशकमा थप व्यवस्थित हुन्छन्। हाम्रो भने अस्तव्यस्त भएको छ। राजधानीमा सवारी र पैदल यात्रु व्यवस्थापन सवारीको चाप बढेकाले मात्र असहज भएको होइन। त्यसको मुख्य कारण हो– जडान भएर चलिरहेका ट्राफिक बत्तीको समेत मर्मत नहुनु।

करिब १० वर्षअघि बानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा प्रहरीको साटो ट्राफिक बत्तीले नै सवारी र पैदल यात्रु व्यवस्थापन गर्थे। अहिले तिनै स्थानमा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिएर व्यवस्थापन गरिरहनुपरेको छ। यी क्षेत्रमा सडक दुर्घटना संख्या पनि बढेको छ। तर बत्ती प्रदर्शनका लागि मात्रै राखिएको जस्तै छ। काम गर्दैनन् त्यहाँका ट्राफिक बत्तीले।

उपत्यकाभित्र सवारी व्यवस्थापनका लागि थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटीलगायत मुख्य चोकमा ट्राफिक लाइट जडान भएका थिए। हाल यी कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम गरेको देखिँदैन। त्यसले सडक दुर्घटना बढाइरहेको छ। पैदल यात्रुलाई सडक पार गर्न सहज हुने गरी राखिएका पुरानो बसपार्क, त्रिचन्द्र, सुन्धारा, भोटेबहाल, कालीमाटी, शंकरदेव, सिंहदरबार, जाउलाखेललगायत स्थानमा रहेका ट्राफिक बत्तीको हालत पनि उस्तै देखिन्छ। हाल कौशलटार, गठ्ठाघर र सल्लाघारीका मात्रै ट्राफिक बत्ती चलेको जस्तो देखिएको छ। यस विषयमा सम्बन्धित निकायबाट ध्यान जाओस।्
– लेखनाथ भट्टराई, काठमाडौं

प्रतिक्रिया दिनुहोस्