निर्वाचनको विरोध गर्दै राजपाले निकाल्यो लाठीजुलुस



 

नेपाल समाचारपत्र
महोत्तरी
राष्ट्रिय जनता पार्टी नेपालले महोत्तरीमा निर्वाचनको विरोध गर्दै लाठीजुलुस निकालेको छ। सरकारले मधेसको माग पूरा नै नगरी प्रदेश नं. २ को चुनाव असोज २ मा सारेको र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गते नै हुने भनेपछि महोत्तरीमा राजपा नेपालले सो निर्णयको विरोध गर्दै मोटरसाइकलसहितको लाठीजुलुस निकालेको छ। राजपाका सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको लाठीजुलुसमा चर्को नाराबाजीसमेत गरिएको थियो।

राजपा नेपालको पार्टी कार्यालयबाट निकालिएको लाठीजुलुस जलेश्वरको विभिन्न भागको परिक्रमा गरेको थियो। राजपाका नेता तथा कार्यकर्ताले सरकारले आफूहरूको सहमतिअनुसार स्थानीय तहको संख्या वृद्धि नगरेको, संविधान संशोधन नगरेको, झूटा मुद्दा फिर्ता नलिएकोलगायतका मागहरू पूरा नगरेकाले पूर्ववतः कार्यक्रमअनुसार लाठीजुलुस निकालेको राजपाका नेता दिपुकुमार साहले बताए। उनले सरकारले फेरि एकपल्ट प्रदेश नं. २ को चुनाव असोज २ मा सारेर र प्रदेश नं. १, ५ र ७ को चुनाव असार १४ गतेमै हुने निर्णय गरेर मधेसलाई विभाजन गर्न खोजेको आरोपसमेत लगाए।

लाठीजुलुसमा राजपा नेपालसँग आबद्ध ६ वटै दलका केन्द्रीय स्तरदेखि जिल्ला र गाउँ स्तरसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। लाठीजुलुसका क्रममा चोकचोकमा ठूलो संख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको उपस्थिति देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्