३५ जिल्लामा आज मनोनयन



 

सुनील महर्जन, काठमाडौं
यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि आज आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगले मनोनयन दर्ता कार्यलाई शान्तिपूर्ण र अवरोधरहित बनाउन पनि सबै सरोकारवालाहरूमा आग्रह गरेको छ।

प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३५ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुन लागेको हो। त्यसका लागि आज बिहान ८ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवार मनोनयन दर्ता गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले शनिबार पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिनुभयो।

यसअघि प्रदेश नं. २ को पनि दोस्रो चरणमा निर्वाचन गर्ने आयोगले तयारी गरेको थियो। अन्तिम तयारी पूरा भइसक्दा सरकारले प्रदेश नं २ का ८ जिल्लाको १ सय २७ स्थानीय तहको निर्वाचन तेस्रो चरणमा सारेको छ। दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ। सो निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिनेछन्। दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था भरपर्दो बनाइएको पनि प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो।

आयोगका पदाधिकारी, कर्मचारी, निर्वाचनमा खटिने कर्मचारी, मतदानमा प्रयोग हुने सामग्रीहरूको सुरक्षा, ढुवानी व्यवस्थापन, मतदानस्थलको सुरक्षा तथा मतदाता, राजनीतिक दलको कार्यालय, उम्मेदवार यी सबैको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको डा. यादवको भनाइ रहेको छ।

‘पहिलो चरणको निर्वाचनको अनुभवलाई समेत ध्यानमा राखेर दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसर बाँकी राखेको छैन।’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित हुनेछन्।

यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहनेछन्। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ।

दोस्रो चरणको निर्वाचनमा काठमाडौंमा रहेका कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न ८ वटा शहरमा अवलोकन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। २ नम्बर प्रदेशको निर्वाचन सरेकाले २ नम्बर प्रदेशका जनकपुर र बर्दिबासबाहेक प्रदेश नम्बर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने तयारी भइरहेको पनि आयोगले जनाएको छ।

यसै गरी दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई आयोगले पर्यवेक्षणको अनुमति दिएको छ।

गोली चल्यो, ३ घाइते

घनश्याम बगाले
नवलपरासी
नवलपरासी जिल्लाको सदरमुकाम परासीस्थित बुद्ध चोकमा शनिबार प्रहरी र राजपाका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन्। स्थानीय निर्वाचनको विरोध गर्दै अपराह्न भएको राजपाको सभामा संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीले चलाएको रबरको गोलीले राजपाका ३ जना कार्यकर्ता घाइते भएका हुन्। सभा चल्दै गर्दा नजिकै मध्य नेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको एमाले पार्टीको टिसर्टलाई राजपाका कार्यकर्ताहरूले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको हो।

घाइते हुनेमा जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता रहेका छन्। सो झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले करिब ३ राउण्ड रबरको गोली चलाएको थियो भने आधा दर्जनभन्दा बढी आश्रुग्यास सेल प्रहार गरेको स्थानीयले बताए। त्यस्तै प्रहरीले छोडेको अश्रुग्यासका कारण भएको भागाभागमा दर्जनौ कार्यकर्ताहरू घाइते भएको राजपाले जनाएको छ।

प्रहरीले झडपलाई नियन्त्रणमा लिन अश्रुग्यास फायर गरेपछि राजपाका नेतासहित कार्यकता तथा सर्वसाधारणहरू नजिकका होटल र सटरहरूमा पसेका थिए। साहीे क्रममा प्रहरीले राजपा नवलपरासीका नेता हैदर अलिसहित ३ जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्