गैंडालाई माया गर्ने शोभाराम



 

कुमार श्रेष्ठ, बाँके
तपाईंलाई त गैंडा देख्यो कि रिस उठ्छ होला है ?’ गैंडाको आक्रमणबाट एउटा खुट्टा गुमाएका नवलपरासीको कावासोती–१५, अमलटारीका ६० वर्षीय शोभाराम महतोले हाँसेर जवाफ दिनुभयो– ‘उठ्दैन। मलाई हान्ने गैंडा कता पुगिसक्यो।’

महतोले त्यो दिन सम्झिनुभयो, २०४५ साउन १५ गते राती ९ बजे। धानबारीमा गैंडाको हुल आएपछि ८⁄९ जना गाउँले गैंडा धपाउन घरबाट निस्कियौं। गैंडाको हुललाई सबैले ‘हाहाहुहु गरेर धपायौं। धपाएर फर्किरहँदा एउटा गैंडा दौडेर आयो र मलाई आक्रमण गर्यो। धन्नले त्यो गैंडाले फेरी आएर आक्रमण गरेन। किनकि गैंडाले फर्की–फर्की आक्रमण गर्छ।

गैंडाको आक्रमणपछि शोभारामलाई भरतपुर अस्पताल पुर्याइयो। खुट्टा प्लास्टर गरियो। खुट्टा बच्ने उपाय देखिएन। ४ दिनपछि काठमाडौं लगेर खुट्टा काटियो। दौड्ने, कुद्ने उमेरमै शोभारामलाई वैशाखी टेक्नुपर्ने बाध्यता भयो।

गैंडाकै कारणले धेरै खुसीहरू लुटिए पनि शोभाराम यतिबेला वैशाखीको साहरामै हिँडेर गैंडालाई बचाउनुपर्ने महाअभियानमा हुनुहुन्छ। शोभाराम भन्नुहुन्छ– ‘त्यतिबेला उब्जनी बचाउनलाई गैंडालाई धपाइन्थ्यो। अहिले आएर खाए पनि वास्ता गर्दैनौं।’

त्यसो त गैंडाले अमलटारीमा धेरैलाई आक्रमण गरेको छ। केहीको ज्यानै लिएको छ। गैंडालाई रोक्न पछिल्ला दिनमा तारबार गरिएको छ।

गैंडालाई नै हेर्न आउने पर्यटकले गर्दा अमलटारीको समग्र मुहार फेरिएपछि त्यहाँका बासिन्दाको सोच पनि बदलिएको छ। अहिले उनीहरूको प्राथमिकता गैंडा बचाउने र पाहुनाको स्वागत गर्ने भएको छ। ‘पहिला बाली बचाउनका लागि खेतमा एक घरले एक मचान बनाउथे, खेततिर हातले देखाउँदै शोभारामले भन्नुभयो– ‘हेर्नुस् न अहिले त एउटा पनि मचान देख्न पाइँदैन। सबैले गैंडालाई छुट दिएका छन्।’

अमलटारीको १३ नम्बर होम स्टे सञ्चालक शोभाराम टाइटर टप होटलका सफल कुकमेन पनि हुन्। २०४५ सालदेखि २०७२ सम्म शोभारामले होटलमा कुकमेनको काम गर्नुभयो। २०७० सालमा गाउँमा होम स्टे सञ्चालन गरेर राम्रो चल्न थालेपछि उहाँले होटल छोड्नुभयो। ‘छोराछोरीहरू यताउता भए, म पनि उता हुँदा होमस्टे सञ्चालन गर्न अप्ठेरो भएपछि कुकमेनको जागिर छाडें’, बिहान–बेलुका घरको भान्छामा लाग्ने शोभारामले भन्नुभयो– ‘गैंडा हेर्न आउने पर्यटकले गर्दा हाम्रो व्यवसाय राम्ररी चलेको छ।’
शोभारामका ६ सन्तानमध्ये ५ जना नेपाल प्रहरीमा छन्। एउटा छोरा गाउँको स्कुलमा पढाउँछन्। श्रीमान्–श्रीमतीले होमस्टे चलाएका छन्। सिजनमा मासिक आम्दानी ३०⁄३५ हजारसम्म पनि पुग्छ। शोभाराम भन्नुहुन्छ, मासिक १५ हजार त जुनसुकै बेला हुन्छ।’ होमस्टे सञ्चालन गरेपछि गाउँको विकास भएको छ। पूर्वपश्चिम राजमार्गदेखि १४ किलोमिटर उत्तरमा पर्ने अमलटारीको बाटो ग्राभेल भएको छ। पिच गर्ने तरखरमा छन्। ‘बिस्तारै सौराहा जस्तै हुन्छ, हाम्रो गाउँ’ –शोभारामलाई लागेको छ।

१० कठ्ठा जमिनमा लगाएको धान बचाउनका लागि मरिहत्ते गरेका शोभारामलगायतलाई यतिबेला त्यही धान नष्ट गर्न आउने गैंडा हेर्न आउनेहरू आम्दानीको स्रोत बनेका छन्।

सन् २०१५ को रिपोर्टमा नेपालमा ६ सय ४५ वटा गैंडा छन्। अहिले त्यो बढेर ७ सय पुगेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कँडेलले जानकारी दिनुभयो। विश्वमा अहिले ५ किमिसका गैंडा पाइन्छन्। त्योमध्ये एकसिंगे गैंडा नेपाल, भारत र बंगलादेशमा मात्रै पाइन्छ। बासस्थानको विनाश, चोरी–शिकारी, जनचेतनाको कमीले गर्दा गैंडाको विनाश भइरहेको छ। जानकार रामप्रित यादवका अनुसार, गैंडाले १६ महिनामा गर्भधारण गर्छ भने ४ वर्षसम्म बच्चालाई पाल्छ। गैंडाको खाग बहुमूल्यमा बिक्ने बुझाई त्यसमाथि आक्रमण हुने गरेको छ।

होमस्टेले ल्यायो परिवर्तन

पूर्व–पश्चिम राजमार्गदेखि १४ किलोमिटर उत्तरमा रहेको अमलटारी नारायणी नदीदेखि एक किलोमिटरको दूरीमा रहेको छ। २०७० सालदेखि यो गाउँमा होमस्टे सञ्चालन गरिएको छ। २४ घरले होमस्टे सञ्चालन गरेका छन्। तीन घर बोटे र अरू महतो थारूका होमस्टे छन्।

होमस्टे सञ्चालन गरेपछि गाउँको मुहार फेरिएको छ। घरघरमा पैसा आएको छ। पाहुना आएर जम्मा भएकोमध्ये १० प्रतिशत रकम गाउँको विकासका लागि छुट्याउने गरिएको छ। बाटो पिच गर्ने तयारी रहेका अमलटारीबासी अहिले ग्राभेलमा हिँडिरहेका छन्। नारायणी नदीको तिर र सजिलै गैंडा, बाघ देख्न सकिने भएकाले त्यहाँ पाहुनाको घुइँचो बढ्दै गएको छ। हात्तीसवारी गरेर सजिलै गैंडा र बाघ देख्न पाइन्छ। त्यहाँको बसाइ पनि सस्तो रहेको छ। सयमा सादा खाना, २ सय ५० मा मासुसहितको खाना र ६ सयमा एक रात सुत्न पाइने होमस्टेमा देशी–विदेशी पर्यटक भरिने गरेका छन्। होमस्टे सञ्चालक समितिले आएका पाहुनालाई दामासाई तरिकाले घर–घरमा पठाउने र मासिक एकमुष्ट हिसाब गरेर पैसा दिने गर्दछ। होमस्टेमा आएका पाहुनालाई दिनभरि गैंडा, बाघ देखाउने र रातिमा स्थानीय परम्परागत नाच देखाउने गरिएको छ। महतो थारूको परम्परागत नाचमा पाहुनाहरू झुम्ने गर्दछन्।

झुमरा, जोगेडा, लाठी, गोलेनी र अन्तिममा थारू मिश्रित नाचले पाहुनालाई लठ्ठ पार्ने गरेको छ। त्यसो त, अमलटारीले होमस्टे सञ्चालनको आइडिया बर्दियाको डल्लाबाट लिएका हुन्। १३ नम्बर होमस्टे सञ्चालक शोभराम महोको टोली डल्लामा आएर होमस्टे सञ्चालन गर्ने तरिका सिकेर गएका थिए। होमस्टे सञ्चालनपछि भएको गाउँ र स्थानीय विकासकले गर्दा त्यहाँका बासिन्दा अरू क्षेत्रमा पनि अगाडि बढ्दै छन्। जसको उदाहरण अमलटारी होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमशंकर मर्दनीया पर्नुहुन्छ। उहाँ भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा कावासोती नगरपालिकाको उपमेयरमा विजयी हुनुभएको छ।

मध्यवर्ती क्षेत्रमा पर्ने गाउँ–बस्तीहरू यतिबेला जैविक विविधताको संरक्षणसँगै होमस्टे सञ्चालन गरेर आम्दानी बढाउने अभियानमा रहेका छन्। नवलपरासीकै देवचुली नगरपालिका–७, पिप्रहरमा त्यसमा अगाडि बढेको छ।

एक वर्षदेखि होमस्टे सञ्चालन गरेका पिप्रहरका थारू, ढकुरी, मगर र गुरुङ समुदाय पर्यटन भित्त्याउने लालायित छन्। होमस्टे सञ्चालक निमबहादुर आलेका अनुसार, १५ घर थारू, तीन⁄तीन घरमा ठकुरी र मगर तथा एक घर गुरुङले होमस्टे सञ्चालन गरेका छन्। एक वर्षमा त्यहाँ २ हजार ६ सय ३६ जना
पाहुनाको आगमन भइसकेको छ। त्यसमा १९ जना विदेशी रहेका छन्। ‘जैविक विविधताको संरक्षण गर्नका लागि होमस्टे सञ्चालन गरेका हौं, आलेले भन्नुभयो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको पिप्रहरका बासिन्दा विगतमा निकुञ्ज पीडित पनि हुन्। यो ठाउँ प्राकृतिक, सांस्कृतिक, धार्मिक दृष्टिकोणले पर्यटनको सम्भाव्य गन्तव्य रहेको आलेको भनाइ छ। पिप्रहरमा पाहुनालाई रातिमा थारू, मगर नाच देखाउने गरिन्छ। नेपालमा अहिले होमस्टे सञ्चालनले राम्रो ‘मार्केट’ लिएको छ।

सेनाको ‘महाहन्ट’
होमस्टेहरू सञ्चालन गरेर मध्यवर्ती क्षेत्रका बासिन्दा नै जंगली जनावरण संरक्षणमा लागेपछि निकुञ्ज प्रशासन र नेपाली सेनालाई केही सहयोग मिलेको छ। तर, पनि चोरी शिकारी रोक्न सेनाले विभिन्न नामका अप्रेसनहरू चलाएर चलाइरहेको छ। सेनाको पछिल्लो अप्रेसन ‘महाहन्ट’ हो।

नेपाली सेनाका महासेनानी माधव थापाका अनुसार चोरी शिकारी रोक्नका लागि सेनाले महाहन्ट अप्रेसन चलाइरहेको छ। २०७० सालदेखि यो अप्रेसन जारी छ। यसअघि २०६७ देखि हन्ट नामक अप्रेसन चलाइएको थियो।

‘वन क्षेत्रमा अहिले ८ हजार १ सय १६ जना सेना खटिएका छन्। अहिलेसम्ममा १ सय ७ जनाले ज्यान गुमाएका छन्। शान्ति सेनामा गएर ५१ जना सेनाले ज्यान गुमाएका छन्’, महासेनानी थापा भन्नुहुन्छ– ‘शान्ति सेनाभन्दा वन जोगाउने क्रममा धेरै सेनाले ज्यान गुमाएका छन्।’

चितवन राष्ट्रिय निकुञ्जको जनावर बचाउन सेनाले ५२ वटा पोस्ट बनाएको छ। ६ वटा पल्टनका १ हजार २ सय सेना त्यसमा छन्। नेपाली सेना हरेक घण्टा गस्तीमा निस्किन्छ। ‘हामी राति पनि गस्ती गर्छौं। प्रमुख नाका त हाम्रो सधैं निगरानी हुन्छ‘, महासेनानी थापा भन्नुहुन्छ– ‘बफरजोनलाई सुरक्षित गर्न सकेमा निकुञ्ज आफैं सुरक्षित हुन्छ।’

निकुञ्ज सुरक्षा सधैं चुनौती रहेको सेनाको भनाइ छ। चोरी शिकारी वर्षायाममा कम हुने गरेको पाइन्छ। सेनाका अनुसार चैतदेखि जेठसम्ममा ६० प्रतिशत चोरी शिकारी हुने गर्दछ। महाहन्ट अप्रेसनमा माघदेखि जेठसम्ममा तीन अप्रेसन गरिएको छ। १ सय ५० जना जनशक्ति बाहिरबाट ल्याएर ९ वटा स्थानमा राखिएको थियो। सेनाको ४ वटा स्थायी चेक प्वाइन्ट र आवश्यकताअनुसार अस्थायी पोस्टहरू राखेर गस्ती गरिरहेको छ।

निकुञ्जमा खटिएको सेना प्रविधियुक्त रहेको छ। हरेक गस्ती र देखेका कुराहरू छिनभरमै निकुञ्जको कम्प्युटरमा आइपुग्छ। कुन पोस्टले कतिबेरसम्म गस्ती गर्यो भन्ने कुरासमेत रेकर्ड हुने गरेको छ। सेना हरेक दिन ९० देखि सय स्थानमा पुग्ने गरेको छ। महासेनानी भन्नुहुन्छ– ‘हाम्रो हरेक ठाउँमा पहुँच र क्षमता छ। चोरी शिकारी नियन्त्रणका लागि गोली चलाउनुपरेको छैन।’

निकुञ्ज अतिक्रमण, मानवीय चाप तथा वन्यजन्तु र मानवबीचको द्वन्द्वले गर्दा लोपोन्मुख जनावरलाई अप्ठेरो पारेको छ। जैविक विविधतामा नेपाल धनी भए पनि तरिका पुर्याउन नसक्दा गरिब भएको सम्बद्धविज्ञ रामप्रित यादवको भनाइ छ। बाघ, गैंडा, हात्ती, घडियाल, डल्फिन, गिद्धजस्ता ‘गहना’ लाई बचाउन सबै लाग्नुपर्ने यादवको भनाइ छ।

नेपालको पूर्वाधार निर्माण पनि जैविक विविधता प्रेरित रहेको छैन। बाटाघाटा, पुलपुलेसाहरू जनावरमैत्री छैनन्। विश्व वन्यजन्तु कोषका वरिष्ठ निर्देशक सन्तोषमणि नेपालले जैविक विविधतालाई बचाएर भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। ५८ प्रतिशत बढी बजेट निर्माणमा रहेको छ। ‘जनावरहरू पनि हिँड्डुल गर्न सकून्, विकास पनि होस्’, नेपालले भन्नुभयो– ‘रेलवे, हुलाकी, पूर्व–पश्चिम राजमार्गहरू त्यसरी बन्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्