कृषकका घरआँगनमा चुनावकै चर्चा



 

दयाराम पण्डित, बाजुरा
कृषकले मानो छरी मुरी कमाउने महिना असारलाई भनिन्छ। अर्थात् स्थानीय भाषामा कान कन्याउँदा असार पछाउँछ भन्ने उखान पनि छ। तर २० वर्षपछि स्थानीय तहका आफ्ना उम्मेदवार आफैं छान्न पाउने भएपछि कृषकहरू रोपाइँभन्दा पनि निर्वाचनकै सन्दर्भमा कुराकानी गरेका भेटिन्छन्।

सरकारले स्थानीय तहको निर्वाचन असार १४ मै हुने निश्चित गरेपछि बाजुराली नागरिक खुसी भएका हुन्। यति बेला घरआँगन खेतबारी होटेल पसलमा चियाको चुस्कीसँगै गफिँदै होस् वा खेतबारीको काम गर्दा होस् निर्वाचनकै कुरा गरिरहेका देखिन्छन्। कृषकहरू उम्मेदवारका घोषण–पत्र पनि अध्ययन गर्न थालेका छन्। घोषणपत्रअनुसार काम गर्ने कि नगर्ने प्रतिकद्धतासमेत गराउन थालेको बताइएको छ। को ठीक को बेठीक कसले कति काम गरेको छ र अब भाविष्यमा जनताका काममा समर्पित हुने कि नहुने यस्तै सवालमा कुराकानी हुने गरेका छन्। असल नेतृत्व पाउन सके मात्र साँच्चीकै सिंहदरबारको अधिकार गाउँमा पाउन सक्ने हुनाले कस्तो व्यक्तिलाई छनोट गर्ने भन्ने यति वेला मतदाताको चासो र चर्चाको विषय बनेको मतदाताले बताउँदै आएका छन्।

बाजुरामा ६४ हजार ९ सय ५० मतदाता छन् भने ३२ हजार ४ सय २७ महिला ३२ हजार ५ सय २१ पुरुष र २ जना तेस्रोलिंगी छन्। बाजुराका ९२ मतदान केन्द्र र ७० मतदान स्थल रहेका छन्। हालै मात्र हिमाली गाउँपालिकाको गुम्बामा ३० मतदाताका लागि एक मतदानस्थल कायम गरेपछि बाजुरामा ७० वटा मतदान स्थल भएका छन्।

यसैबीच स्थानीय तहको असार १४ गते हुने दोस्रो चरणको निर्वाचनलाई सम्मपन्न गर्न आवश्यक पूर्वतयारी भइरहेको बताइएको छ। जिल्लाका नौवटा तहका लागि ७० मतदान स्थल र ९२ मतदान केन्द्रमा खटिजाने आवस्यक दक्षजनशक्तिलगायत भौतिक सामग्रीको पठाउने काम तीव्ररूपमा भइरहेको जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्