सेती अञ्चल अस्पताल प्रयोगशालामा परिणत



 

हेमन्त पौडेल, कैलाली
सुदूरपश्चिमको रिफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पताल यति बेला प्रयोगशालाका रूपमा देखिएको छ। ओजीटीमा आउने विद्यार्थीका भरमा अस्पताल सञ्चालन भएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको छ। विभिन्न कलेजबाट ओजीटीमा आउने विद्यार्थीको संख्या उल्लेखनीय हुने गरेको र उनीहरूलाई नै बिरामी हेर्ने जिम्मा लगाउने गरेकाले पनि यस्तो समस्या आउने गरेको गुनासो बढ्दै गएको छ।

डाक्टहरूको निगरानीमा गर्नुपर्ने काम पूरै जिम्मा ओजीटीमा आउने विद्यार्थीबाट काम गर्ने प्रवृत्ति बढ्दै गएको छ। ओजीटीमा आउने विद्यार्थीलाई सिकाउनेनै नहुँदा दर्जनौं स्थानमा सुई रोपेर बिरामीलाई हैरान पार्ने गरेको गुनासो बढ्दै गएको छ। यस्तै उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्याएका पुनर्वास नगरपालिका आईबीआरडीकी ३ वर्षीया बालिका छाया नेगीको मृत्यु भएको छ। ज्वरो र वान्ताका कारण उपचारका लागि धनगढी पुर्याकी छायालाई बालरोग विशेषज्ञ डा. हेमराज पाण्डेले हेर्नुभएको थियो। बच्चाको अवस्था कमजोर देखेकाले शुक्रबार बिहान नौ बजे सेती अञ्चल अस्पतालमा भर्ना गरिएको थियो।

वान्ता र ज्वरो आएको अवस्थामा बाहिर दबाई खुवाएर ल्याएकाले बच्चालाई भर्ना गर्नुपरेकाले आफूले अस्पतालमा पठाएको डा. पाण्डेले बताउनुभयो। भर्ना गरेर बच्चाको उपचार गरिएको थियो। बच्चाको अवस्था नाजुक बन्दै गएपछि बालिकाको आमा लक्ष्मी नेगीले डाक्टरलाई बोलाइदिन आग्रह गर्दा समेत वार्डमा कार्यरत नर्सले नबोलाएका कारण आफ्नो बच्चाले अकालमा ज्यान गुमाउनुपरेको आरोप लगाउनुभएको छ। दशौंपटक आग्रह गर्दा पनि वार्डमा कार्यरत स्टाफ नर्सले हाँसीमजाक गर्दै तिमीहरूलाई एक⁄एक मिनटमा डाक्टर किन चाहियो भन्दै रुखो जवाफ दिने गरेको छायाकी ठूलीआमा संगीता महराले बताउनुभयो। समयमा डाक्टरलाई बोलाइदिएको भए आफ्नो बच्चा बाँच्न सक्ने उहाँको भनाइ छ।

अस्पतालमा डाक्टर नबोलाइदिएपछि छायाका आफन्तहरूले बाहिर लैजान खोजेका थिए। बच्चाका आफन्तहरूले फेरि डा. पाण्डेलाई देखाउन उहाँको निजी क्लिनिकमा लगेका थिए। डाक्टरले बच्चाको अवस्था नाजुक भएकाले बहिर लैजान नमिल्ने भन्दै आफैंले समातेर अस्पताल पुर्याउनुभएको थियो। अस्पतालमा लगेर अक्सिजनलगायतका सामग्री प्रयोग गरेर बचाउने प्रयास गरेको तर बच्चालाई बचाउन नसकेको डा. पाण्डेको भनाइ छ। तर बच्चाका आफन्तहरूले बच्चाको बाटोमा नै मृत्यु भएको दाबी गरेका छन्। डाक्टर पाण्डेका अनुसार छायाका आफन्तले बहिर लैजाने क्रममा दूध खुवाएको र सर्किएर स्वास प्रस्वासमा समस्या आएर मृत्यु भएको थियो।

तर बच्चाका आफन्तले बच्चाहरू राख्ने वार्डमा खटिएका कर्मचारीको लापरबाहीका कारण मृत्यु हुने पुगेको बताएका छन्। कार्यालय समयमा फेसबुक चलाइरहेको अवस्था र आफ्नो कुरा कसैले नसुनेकाले यस्तो घटना भएको छायाकी आमा लक्ष्मीले बताउनुभयो। लापरबाहीका कारण आफ्नो बच्चाको ज्यान गएको बताउँदै लक्ष्मीले कार्यरत कर्मचारीलाई कारबाही हुनुपर्ने माग गरेकी छन्। बच्चाको मृत्युपछि आफन्तहरूले विरोध जनाएका थिए।

अस्पतालको चरम लापरबाहीले बच्चाको मृत्यु भएकाले कडाभन्दा कडा कारबाही गर्नुपर्ने स्थानीय छिमेकी निशा शाहीले बताउनुभयो। तर बालबालिका राख्ने वार्डकी इन्चार्ज मञ्जु पौडेलले बिहानसम्म बच्चाको अवस्था राम्रो हुँदै गएको बताउनुभयो। एक्कासि पछि स्वास्थ्यमा खराबी आएको र औषधि दिइरहेको बताउनुभयो। आफूहरू डाक्टरको परामर्शअनुसार काम गरिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्