सुदूरपश्चिममा चुनावी रौनक बढ्यो



 

नेपाल समाचारपत्र
डोटी
सुदूरपश्चिमको डोटीलगायत अन्य जिल्लामा पछिल्लो समय स्थानीय तहको निर्वाचनको रौनक ह्वात्तै बढेको छ। यहाँको तराईस्थित कैलाली र कञ्चनपुरको तुलनामा पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, अछाम, डडेल्धुरा तथा डोटीमा चुनावी रौनक बढी देखिएको छ। यहाँका राजमार्गका छेउछाउका बस्ती र बजारमा चुनावी चहलपहल निकै बढेको छ भने घरघरमा विभिन्न दलका झन्डा गाडिएकाले झकिझकाउ भएका छन्। यहाँका पहाडी जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनमा एकले अर्कालाई मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसलाई मुख्य प्रतिस्पर्धी ठानिरहेका छन्।

कांग्रेसको पकड क्षेत्रका रूपमा हेरिँदै आएका यहाँका गाउँ तथा नगरपालिकामा एमाले तथा माओवादी केन्द्रले आफ्ना चुनावी अभियान तथा प्रचारप्रसारलाई निकै प्राथमकिताका साथ जोड दिँदै आफ्ना कार्यक्रमलाई अघि बढाएको स्थानीयबासी बताउँछन्। यसअघिको स्थानीय तहको निर्वाचनको समयमा डोटीका झन्डै एक दर्जन बढी गाविसमा विजयी हासिल गरेको कांग्रेसलाई अबको स्थानीय तहको निर्वाचनमा पछाडि पार्न आफूहरू निकै मेहनेतका साथ लागिपरेको एमालेका डोटी जिल्ला अध्यक्ष चक्र मल्लले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘डोटीलगायत अन्य जिल्लामा हाम्रो पार्टी एक नम्बरको बन्नेछ, त्यही रणनीतिअनुसार हामी सञ्चालित भएका छौं, सुपमै हामी पहिलो दल हुनेछौं।’ डोटीलगायत अन्य जिल्लामा कांग्रेसभित्रको टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउने रणनीतिमा अन्य दलहरू रहेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्यामदत्त पाठकले बताउनुभयो। उहाँले भन्नुभयो– ‘समग्र सुदूरपश्चिममा टिकट वितरणले कांग्रेसमा असन्तुष्टि ल्याएको छ, कार्यकर्तामा करिब–करिब पानी बाराबारको स्थिति छ, त्यसैको फाइदा अरू दलले उठाउने योजना बनाएका छन्।’ माओवादी केन्द्रले पनि डोटी जिल्लाभरि आफ्नो चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाएको छ। डोटीका अधिकांश तहमा प्रमुख तीन राजनीतिक दलबीच नै चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उता, कांग्रेसी नेताहरूले भने आफ्नो मुख्य प्रतिस्पर्धी एमाले रहेको जनाइरहेका छन्।

कांग्रेस नेता तथा कार्यकर्ता पनि आफ्नो चुनावी अभियान लिएर गाउँगाउँमा पसेका छन्। जिल्लाभरि आफ्नो बाहुल्यता कायम हुने र डोटीलाई नमुना जिल्ला बनाउन पार्टी र उम्मेदवारसँग स्पष्ट खाका रहेको कांग्रेसका डोटी जिल्ला समापति प्रदीप देउवाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीसँग स्पष्ट खाका छ, अरूको बोली मात्रै हौ, हामी डोटीलाई नमुना शहर बनाएरै देखाउँछौं।’ डोटीमा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन्। उता संसद्मा चौथो ठूलो दल रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलको चुनावी प्रचारप्रसार भने न्यून मात्रामा देखिएको स्थानीयबासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्