नेपाल लेखक संघबाट साहित्यकारहरु सम्मानित



पनौती। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले एक समारोहबीच नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान गरेबापत वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, चर्चित कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे र साहित्यकार सूर्यप्रसाद लाकोजूलाई सम्मान समर्पण गरे। उनले सम्मानपत्रसहित दोसल्ला आढाएर फूलमाला लगाई सम्मान गरेका थिए।

सो सम्मान कार्यक्रममा प्रमुख अतिथि बैरागी काइँलाले साहित्य समाजको प्रतिविम्ब भएको जनाउँदै समाजको विकासका लागि साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। एक प्रसंगमा उनले भने– ‘लेखकहरु स्वतन्त्र हुन्छन्, लेखकले कसैको विचारलाई बोक्नुभन्दा पनि आफ्नै विवेकबाट साहित्य सिर्जना गर्नुपर्छ।’ नेपाली लेखक संघ काभ्रेको अयोजनामा सम्पन्न सो कार्यक्रम लेखक संघ काभ्रेका अध्यक्ष विजयराम कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा सम्मानित प्रतिभाहरुका बारेमा बोल्दै डा. कुमारप्रसाद कोइरालाले तीनै जना प्रतिभाहरु नेपाली वाङ्मयको विकास र विस्तारमा लागेको बताए।

उनले तीनै जना सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए। त्यस्तै सम्मानित प्रतिभाहरु समालोचक डा. तुलसी भट्टराई, कवि डा. विष्णुविभु घिमिरे र साहित्यकार सूर्यप्रसाद लाकोजूले एवं संस्कृतिविद् ज्ञानकाजी मानन्धर, चिन्तक मधुप्रसाद आचार्य, चन्द्रलक्ष्मी ताम्राकारलगायतले आ–आफ्ना मन्तव्य राखेका थिए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्