शेयर बजार सकारात्मक हुन सकेन



नेपाल समाचारपत्र,काठमाडौं
देश राजनीतिक अन्योलतामा रुमल्लिरहँदा यस साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ। साताको शुरूको दिन १ हजार ६ सय १५ दशमलब १९ अंकबाट शुरु भएको शेयर बजार परिसूचक अन्तिम दिनसम्म आइपुग्दा २५ दशमलब ६ अंकले घटेको हो।

नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार १ हजार ५ सय ८९ दशमलब ५९ को विन्दुमा आएर रोकिएको हो।

साताको पहिलो दुई दिन उच्च अंकले ओरालो लागेको बजार परिसूचकले मंगलबार र बिहीबार भने सुधारको संकेत देखाएको थियो। गत साताको पहिलो र दोस्रो दिन बजार परिसूचक क्रमशः २४ दशमलब ७ र ९ दशमलब ९७ अंकले घटेको थियो।त्यस्तै मंगलबार ४ दशमलब ६३ अंक र बिहीबार ५ दशमलब १ अंकले बढ्दै बजारले साताका पछिल्ला दिन आश देखाए पनि परिसूचक समग्रमा बढ्न नसकेको हो। बुधबार बजार शून्य दशमलब ६६ अंकले घटेको थियो।

गत साता होटल समूहको परिसूचक मात्र सकारात्मक रह्यो। होटल समूह समग्रमा १० दशमलब २९ अंकले बढ्नुबाहेक अन्य कूनै समूह बढ्न सकेन। बीमा समूह सर्वाधिक १ सय ७४ दशमलब १९ अंकले घट्यो।

साताको कारोबार अवधिमा १ सय ६१ कम्पनीका कूल ३० हजार ६ सय ४७ कारोबारमा ४९ लाख ८ हजार ६० कित्ता शेयर २ अर्ब ९६ करोड २५ लाख २२ हजार रुपियाँमा किनबेच भए। कारोबार रकम गत साताको भन्दा ११ दशमलब ५९ प्रतिशत कम हो।

अघिल्लो साता १ सय ५९ कम्पनीका ५९ लाख ४३ हजार १० कित्ता शेयर कारोबार भएका थिए।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलब १९ अंकले बढेर ३३७ दशमलब ६१ अंकमा आइपुगेको छ। कारोबार रकमको आधारमा यस साता स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रह्यो। बैंकको कम्पनीको २३ करोड ७५ लाख १० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो।

कारोबार भएको शेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले शीर्ष स्थान ओगटेको छ। यस अवधिमा कम्पनीका दुई लाख १५ हजार कित्ता शेयर कारोबार भए।

त्यसैगरी कारोबार संख्याको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ। बैंकको कूल २ हजार ८ सय २ वटा बारोबार भएका थिए। गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।

साताभरि ७ कम्पनीका ३ करोड ११ लाखभन्दा बढी सेयर नेप्सेमा सूचीकृत भएका छन्। सूचीकृत हुने हकप्रद शेयरतर्फ सगरमाथा फाइनान्स लिमिटेडको मात्र रहेको छ। कम्पनीको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भए। त्यस्तै सूचीकृत हुने बोनस शेयर डिप्रोक्स लघुवित्त विकास बैंक, कृषि विकास बैंक, सगरमाथा फाइनान्स, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सेञ्चुरी कमर्सियल बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक र ग्लोबल आईएमई बैंक रहेका छन्।

 

साताभर सबैभन्दा बढी कृषि विकास बैंकको १ करोड १८ लाख १२ हजार ८ सय दशमलब ४५ कित्ता बोनस शेयर सुचीकृत भए। त्यस्तै ग्लोबल आईएमई बैंकका ९८ लाख ६२ हजार ८ सय २८ कित्ता, सेञ्चुरी कमर्सियल बैंकका ३६ लाख ८९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भए। सूचीकृत हुने अन्य बोनस शेयरमा सगरमाथा फाइनान्सका १२ लाख १६ हजार ४ सय ६९ दशमलब ५, डिप्रोक्स लघुवित्त विकास बैंकका ९ लाख २ हजार ७ सय ३३ दशमलब २, इन्नोभेटिभ डेभलपमेन्ट बैंकका ६ लाख ३१ हजार ८ सय ३७ र माउन्ट मकालु डेभलपमेन्ट बैंकका ४१ हजार ६ सय दशमलब ६ कित्ता बोनस शेयर रहेका छन्।

 

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्जमा १ खर्ब १० अर्ब २४ करोड रुपियाँ बराबरको धितोपत्र शेयर सूचीकृत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा ३ अर्ब २३ करोड रुपियाँ बराबरको साधारण शेयर सूचीकृत भएका छन् भने २७ अर्ब १२ करोड रुपियाँको बराबरको बोनस शेयर र १६ अर्ब ६४ करोड रुपियाँको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

 

नेपाल राट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा नेप्सेमा साधारण, बोनस र हकप्रद शेयर गरी ४६ अर्ब ९९ करोड रुपैयाँको शेयर सूचिकृत भएका छन्। सो अवधिमा ६२ अर्ब रुपियाँ बराबरको सरकारी ऋणपत्र तथा १ अर्ब २५ करोड रुपियाँ बराबरको म्युच्युअल फन्डको धितोपत्र पनि नेप्सेमा सूचीकृत भएका प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चार गुणाले पुँजी बढाउन निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्था हकप्रद, बोनस र थप नयाँ शेयरबाट पुँजी वृद्धि गर्न लाग्दा ठूलो परिमाणमा शेयर बजारमा आएको राष्ट्र बैंकको भनाइ छ।

त्यस्तै यस अवधिमा स्टक एक्स्चेन्जमा सूचीकृत हुने कम्पनीको संख्यामा पनि गिरावट आएको छ। केन्द्रीय बैंकको अनुसार गत आवको वैशाखम सान्तसम्म २३२ वटा कम्पनी सूचीकृत भएकोमा अहिले उक्त संख्या घटेर २१० मा सीमित भएका छन्। बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज तथा एक्विजिसनमा गएका कारण सूचीकृत कम्पनीको संख्या घट्न गएको हो।

 

सूचीकृत कम्पनीमध्ये १७० वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनीसमेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १२ वटा जलविद्युत् कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र २ वटा अन्य समूहका रहेका छन। त्यस्तै नेप्सेमामा सूचीकृत कम्पनीहरूको चुक्ता पुँजी वार्षिक विन्दुगत आधारमा ४४ दशमलब ३ प्रतिशतले वृद्धि भई २०७४ वैशाख मसान्तमा २ खर्ब ७५ अर्ब ६६ करोड रुपियाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्