चोकचोकमा “हर्न निषेध”



नेपाल समाचारपत्र,हेटौंडा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सर्वसाधारणको हित र दुर्घटना न्यूनीकरण गर्ने भन्दै हेटौंडा उपमहानगरभित्रका केही मुख्य तथा सवारी र पैदलयात्रीको चाप बढी हुने सडकमा ‘हर्न बजाउन निषेध’ गरेको छ।

हेटौंडाको बुद्धचोक, मानसचोक र सीमाचोकलगायत ठाउँमा ट्राफिक प्रहरीले ब्यानर राखेको हो। सवारीसाधनको हर्न बजाउन निषेध गरिएपछि धेरै ध्वनि प्रदूषण न्यून हुँदै जाने भएको प्रहरी दाबी छ।

उपमहानगरमा सवारी व्यवस्थित बनाउन नवीन योजना ल्याइएको ट्राफिक प्रहरी सई सन्तोष पोखरेलले बताए। तर, पूर्वाधारको कमी र अपुग अध्ययन÷अनुसन्धानका कारण उक्त योजना कार्यान्वयन हुन्छ वा हुँदैन भन्नेमा यातायात व्यवसायीको शंका छ। यातायात व्यवसायीहरू यसलाई ‘काठमाडौंको हावा हेटौंडामा सरेको’ भन्छन्।

उपमहानगरमा हर्न नै बजाउनु नपर्ने गरी सडक पूर्वाधार बनाइएको छैन। जताततै भत्काइएका सडकमा पैदलयात्री हिँड्ने गरेका छन्, फुटपाथ अतिक्रमित भएको छ। सवारी गुड्ने सडकबाट पैदलयात्रीलाई हिँड्नुपर्ने बाध्यता छ।

सडकको दुरवस्थाले हर्नमुक्त क्षेत्र घोषणा गर्नु भनेको चालकलाई कारबाही गर्नु हो। हर्नमुक्त क्षेत्र आवश्यक भए पनि पूर्वाधारबिना यस योजना सफल हुन नसक्ने यातायात व्यवसायीको ठम्याइ छ। ‘पूर्वाधार र प्रणालीबिना ल्याइएको कार्यक्रम सफल हुँदैन,’ नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले बताए।

‘हर्न निषेधित बनाउन सडकमा लेन तथा जेब्राक्रस चिह्न स्पष्ट हुनुपर्छ। प्रभावकारी ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको बलियो प्रवन्ध हुनुपर्छ,’ उनले जंगलमा बाख्रा चरेजस्तो सडकबाट मानिस हिँड्नुपर्ने अवस्थामा यो लागू हुन नसक्ने बताए। सई पोखरेलले जेब्राक्रस बनाउन डिभिजन सडक र नगरपालिकालाई पत्राचार गरिएको बताए। उनका अनुसार मकवानपुरका ११ स्थानमा चेतनामूलक बोर्ड राखिएका छन्।

‘बिनातयारी ल्याइएका कार्यक्रम कार्यान्वयन गर्न धेरै मुस्किल हुन्छ। त्यसैले पूर्वाधार तयार गरेरमात्र नयाँ कार्यक्रम ल्याउनु जरुरी छ,’ उनले भने– स्वविवेकले कानुन प्रयोग हुने वातावरण सिर्जना हुनुपर्छ।

सडकमा पैदलयात्रुका लागि पर्याप्त पेटी नभएकाले सवारी गुड्ने ठाउँबाटै हिँड्नुपर्ने बाध्यता छ। उनले भने–पैदलयात्री हिँड्ने व्यवस्थित सडक बनाएरमात्र हर्न निषेध पूर्णकार्यान्वयन गर्नुपर्छ।
हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको संख्या कमी आउने ट्राफिकको दाबी छ।

हर्न निषेध उल्लंघन गर्ने सवारीसाधनका चालकबाट प्रतिचालक ट्राफिकले काठमाडौंमा ५ सय रुपियाँ राजस्व संकलन गर्दै आएको छ। तर, हेटौंडामा शुक्रबारसम्म जरिवाना नकाटिएको महासचिव खनालले बताए।

कतिपय सवारीचालक भने यो व्यवस्थाप्रति सन्तुष्ट छैनन्। त्यसमध्येको एक हुन् सुरेश श्रेष्ठ। हर्नको विकल्प बिना हर्न निषेध गर्नु उचित नभएको उनको तर्क छ। कतिपय यात्रुहरू हर्न निषेध गरिँदा दुर्घटनाको जोखिम बढ्ने हो कि भन्ने लागेको बताउँछन्।

हर्न निषेधभन्दा पनि यसको उचित प्रयोगमा ध्यान दिनुपर्ने तथा पैदलयात्रु र बाटोको अवस्था ठीक राख्नुपर्ने यात्रु राधिका सिंहको भनाइ छ। दुर्घटना हुनसक्ने स्थिति हेरेर हर्न बजाउन मिल्ने प्रहरी बताउँछ। बजाउनै नमिल्ने भन्ने होइन। सार्पटर्निङ या ठूला मोड र घुम्तीमा भने हर्न बजाउन मिल्छ।

कतिपय अवस्थामा अनावश्यक हर्न बजाउँदै ओभरटेक गर्ने प्रवृत्ति रोक्न पनि हर्न निषेध गरिएको हो।

प्रतिक्रिया दिनुहोस्