पाकिस्तानमाथि पूर्वक्रिकेटरको आरोप



कराची, (एजेन्सी)
इंग्ल्यान्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार हुँदै छ।

ओभलमा हुने उपाधि भिडन्तमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुने भएपछि यसमा सन्देह गरिएको छ। शुक्रबार पाकिस्तानका पूर्वक्रिकेटर आमिर सोहेलले म्याच फिक्सिङ भएको टिप्पणी दिएर क्रिकेटमा सनसनी फैलाएका छन्।

पाकिस्तानको एक टिभी शोमा सोहेलले पाकिस्तान टोली फाइनलमा पुगेकामा आश्चर्य प्रकट गरे। उनले भने– ‘यसमा कुनै तेस्रो व्यक्तिको हात छ।’ सोहेलले टिभीमा यस्तो बताए– ‘कप्तान सरफराज अहमद र उनका केटाहरु फाइनलमा पुगेर धेरै खुसी मनाउन पाउँदैनन् किनभने उनीहरु आफ्नो प्रदर्शनले नभई बाहिरी कारणहरुले फाइनलमा पुगेका हुन्।’

उनले थपे– ‘सरफराजलाई यो कुरा ज्ञान हुनुपर्छ कि फाइनलमा पुग्नका लागि उनले केही महान् काम गरेका छैनन्। कसैले खेल जित्न मद्दत गरेको थियो। सरफराज तिमीसँग खुसी मनाउने कारण केही छैन। मलाई सबै थाहा छ कि पर्दापछाडि के के भएका छन्?

म यहाँहरुलाई बताउन सक्दिनँ कि कसले जिताइरहेका छन्। त्यो बाहिरी तत्वका कारण फाइनलसम्म पुगेको छ। प्रदर्शनको आधारमा फाइनल पुगेको होइन।’

पाकिस्तानले सेमीफाइनलमा आयोजक इंग्ल्यान्डलाई ८ विकेटले हराएको थियो। पाकिस्तानका लागि जितको लक्ष्य केवल २ सय १२ रन मात्रै थियो।

टोलीले ३७ दशमलव १ ओभरमा दुई विकेटको क्षतिमा २ सय १५ रन बनाएर जित हात पारेको थियो। यो जितपछि पाकिस्तानी कप्तान सरफराज अहमदले बताए– ‘मेरो टोली फाइनलसम्म पुग्ने कसैको आशा थिएन। तर हामीले यो गरेर देखायौं।’

प्रतिक्रिया दिनुहोस्