आशा लाग्दो कुरा



हाम्रो परीक्षा नियन्त्रण कार्यालय पनि अबचाहिँ निकै चुस्त भएको जस्तो धरहरालाई पनि लागेको छ। कुरा हिजोको एसर्ईई परीक्षाको नतिजाको सन्दर्भको हो। नत्र विगतमा एसएलसीको नतिजा थाहा पाउनका लागि हुने भाँडभैलो यो धरहराले नजिकबाट थाहा पाएकै हो।

राजधानीकाले त बिहान निस्केको बेलुकासम्ममा जेनतेन थाहा पाउँथे। गाउँतिरकालाई नतिजा हेर्न झन्डै एक हप्ता नै कुर्नुपर्दथ्यो। गोरखापत्र कहिले पुग्ला र हेर्न पाइएला भनेर विद्यार्थीलाई निकै गाह्रो हुन्थ्यो।

तर, अस्ति साँझ भोलि बिहान ९ः३० बजे नतिजा आउँछ भनेको परीक्षा नियन्त्रण कार्यालयले समयमै नतिजा सार्वजनिक गर्यो। केही मिनेटभन्दा त्यसमा खासै अन्तर परेन।

विभिन्न वेबसाइडमा समेत नतिजा राखेको र अहिले मोबाइलमै पनि नेटको सुविद्या भएकाले पछिल्लो पुस्तालाई नतिजा हेर्न खासै गाह्रो भएको देखिएन।

विगतमा राति मध्यरातमा निकाल्ने त्यो पनि हार्रहुर्रमा के के हुने हुने अवस्था अब टरेको जस्तो देखियो। आगामी दिनमा यसै गरी मुलुकका हरक्षेत्रमा चुस्त दुरुस्त काम समयमा नै गरियो भने त मुलुक अघि बढ्न धेरै समय लाग्दैन भन्ने धरहरालाई पनि लागेको छ है पाठकवृन्द। यहाँकहरुलाई कस्तो लाग्छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्