निर्वाचन अधिकृतलाई छेकेर सामग्री जलाइयो



लक्ष्मी साह, महोत्तरी
पिपरा गाउँपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुइँटेलसंँग भएको निर्वाचनसम्बन्धी पुस्तिकाहरू खोसेर जलाइएको छ। राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी आचारसंहिता, नियमावली, पर्यवेक्षण निर्देशिकालगायतका निर्वाचन पुस्तिका तथा सामग्रीहरू खोसेर जलाएका हुन्।

पिपराबाट जलेश्वरतर्फ ज९प ५९०५ नंको मोटरसाइकलमा आउँदै गर्दा जलेश्वरस्थित प्रकौलीचोकमा उनको मोटरसाइकल रोकेर निर्वाचन सामग्री खोसिएको निर्वाचन अधिकृत लुइँटेलले बताए। उनले सामग्री खोसेर आफू सवार मोटरसाइकल र चालकलाई फिर्ता पठाएको र आफूलाई पैदल नै जलेश्वर जानुस् भनेपछि पैदल नै प्रकौली ब्यारेकसम्म आएको र पछि प्रहरीले आफ्नो गाडीमा जलेश्वर पुर्याएको उनले बताए।

यता राजपा अध्यक्ष मण्डलका सदस्य सुरेश पाण्डेयले निर्वाचन अधिकृतकै सामुन्ने निर्वाचन सामग्री जलाएर उनलाई जलेश्वर पैदल पठाएको जनाए। उनले निर्वाचन बिथोल्न आन्दोलन चलिरहेको बेला निर्वाचन सामग्री बोकेर हिँड्ने जोकोहीलाई राजपा कारबाही गर्न वा दण्डित गर्न पछि नहट्ने बताए।

प्रतिक्रिया दिनुहोस्