निर्वाचनको सबै तयारी पूरा



 

डोटी, (नेस)
डोटीमा यही असार १४ गते हुने स्थानीय निकायको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ। यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणितलगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिनुभयो।

त्यस्तै निर्वाचनको समयमा आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायत अन्य सामग्रीहरू पनि जिल्ला निर्वाचन कार्यालय डोटीमा पुगिसकेकाले यहाँका निर्वाचन केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन अधिकारी ओझाले बताउनुभयो। जिल्लामा कुल १ सय ५५ वटा मतदान केन्द्रका लागि आवश्यक पर्ने मतपेटिकालगायत अन्य सामग्री आइसकेको उहाँले जानकारी दिनुभयो।

निर्वाचन कार्यालयसँग १ सयवटा मतपेटिका मौज्दात नै रहेको र ५५ वटा मतपेटिका केन्द्रबाट प्राप्त भएकाले वितरण कार्यका सहज भएको उहाँले बताउनुभयो। डोटीमा २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन।

प्रतिक्रिया दिनुहोस्